• २०८१ बैशाख ११ मंगलबार

पानीको अभावले गाउँ छाड्दै उदयपुरवासी

kharibot

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१४ लेखानीका विभिन्न ठाउँमा केही वर्षयतादेखि पानीको स्रोत नै सुकेर खानेपानीको अभाव हुन थालेपछि अहिले त्यहाँका बासिन्दा धमाधम गाउँ छाड्न थालेका छन् ।

गाउँमा वितरण गरेको खोपानीको धाराको मुहानसहित कुवा तथा धाराका स्रोतसमेत केही वर्षयतादेखि सुक्दै जान थालेपछि अहिले यस क्षेत्रका सयौं मानिसले गाउँ छाडिसकेका छन् भने केही छाड्ने क्रममा रहेका स्थानीय शिक्षक विष्णु मगरले बताए ।

लेखानीका चनौटे, रमाइलाडाँडा, विन्दुडाँडासहित भदौरेमा पानीको स्रोत सुक्दै जान थालेपछि पानीको अभाव हुनपुगेको बताइएको छ । चनौटेका स्थानीय रमेश विश्कर्माले गाउँको पानीका धाराको मुहान नै सुकेपछि अहिले आफूहरु सात किलोमिटर तल सुनकोशीबाट ट्रयाक्टरमा ड्रममा पानी भरेर ल्याई खान बाध्य भएका बताए ।

केही स्थानीयवासी पानीको साह्रै दुःख हुन थालेपछि गाउँछाडेर कटारी बजारतर्फ गइसकेका विश्वकर्माले जानकारी दिए । रमाइलोडाँडामा यसवर्ष कुवा, धारा, नालाको पानीको स्रोत नै पूर्ण रुपमा सुकेपछि अहिले पुरै गाउँ पानीको अभावमा रहेको स्थानीय गोविन्द मगरले बताए ।

रमाइलोडाँडाका १५० घरमध्ये पानीको दुःखका कारण दुई वर्षभित्र पचास परिवार गाउँ छाडेर कटारी बजार तथा जिल्ला सदरमुकाम गाईघाटतर्फ बस्न थालेका स्थानीयवासी रुद्र मगरले बताए ।

लेखानीमा खानेपानीको दुःख हुन थालेपछि त्यहाँका बासिन्दाले गाउँ छाड्न थालेका कटारी–१४वडाध्यक्ष तेजबहादुर आलेमगरले जानकारी दिए । उनले भने, “खानेपानीको मुहानै सुक्यो, खानेपानी वितरण गरेको धाराको मुहानै सुकेपछि अर्को पानी वितरण गर्ने विकल्प पनि छैन, यसै कारण गाउँमा खानेपानीको कष्टका कारण यहाँका बासिन्दा गाउँ छाड्न बाध्य भएका छन् ।”

नगर प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले लेखानी क्षेत्रमा खानोपानीका स्रोत नै सुकिसकेका बताए । उनले भने, “विगतमा वितरण गरिएका धाराको पानीको स्रोत नै सुक्यो, अन्य विकल्पमा पानीको धारा वितरण गर्ने, निर्माण गर्ने पानीको स्रोत र स्थान पनि नहुादा समस्या देखिएको छ ।”उनले सुनकोशीबाट लिफ्ङि गरेर लेखानीमा ठूलो खानेपानी योजना सञ्चालन गरेर अथवा ट्याङ्करमा बोकेर वितरण गर्नुको विकल्प नभएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै