• २०८१ बैशाख १३ बिहीबार

कर्णालीका कारागारमा किताब अभियान

kharibot

सुर्खेत । कर्णाली प्रदेशका जिल्लामा रहेका कारागारमा प्रदेश सरकारले ‘कारागारमा किताब अभियान’ शुरु गरेको छ । उक्त अभियानको आज  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गरेका छन् ।

सो अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले सुरक्षित समाज निर्माणका लागि सामाजिक रुपान्तरण जरुरी रहेको बताए । उनले बन्दुक देखाएर एवं लाठी प्रहार गरेरमात्र समाज शान्त नहुने भएकाले यसका लागि सामाजिक रुपान्तरणको खाँचो औंल्याए ।

उनले यस अभियानले कर्णालीमा सामाजिक रुपान्तरणको नयाँ आयाम शुरु भएको बताए । “सकारात्मक सोचको भावना विकास गर्न पुस्तक पढ्न जरुरी छ, जेलमा बस्दैमा निराश हुनुपर्दैन”, मुख्यमन्त्री शाहीले भने, “तपाईंहरुको ज्ञान, सीप, रुची के छ प्रस्ताव पठाउनुस् सरकार सहयोग गर्न तयार छ ।” उनले कैदीबन्दीलाई गुरुकूल सम्झेर कारागारमा पुस्तक पढ्न आग्रह गरे । उनले यस अभियानलाई गाउँ/गाउँमा पुर्याउनुपर्ने बताए ।

सामाजिक विकासमन्त्री दल रावलले फुर्सदमा पुस्तक पढेर सिर्जनशील बन्न कैदीबन्दीलाई सुझाव दिए । जेल बसाइँलाई सदुपयोग गर्न सके राष्ट्रकै प्रतिष्ठित व्यक्ति बन्न सकिने उनको भनाइ थियो । प्रदेश प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले आफू जुम्ला कारागारको निरीक्षणमा जाँदा त्यहाँका एक कैदीले ‘पुस्तक भए पढ्न चाहन्थें’ भनेपछि त्यही कुराले मन छोएर पुस्तक सङ्कलन अभियान शुरु गरेको बताए ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेशका आठ जिल्ला कारागारमा एकैसाथ शनिबारदेखि अभियानको शुरुवात गरिएको हो । सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, जुम्ला, डोल्पा, कालीकोट जिल्लामा कारागारभित्र पुस्तकालय स्थापना गरिएका छन् ।

हुम्ला र मुगुमा कारागार भवन सञ्चालनमा नआएकाले हुम्लाको जिल्ला प्रशासन र मुगुको जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको छ । अभियानका प्रदेश सदस्य यज्ञ खत्रीले फाइन प्रिन्ट, बुलबुल, बुकहिल, साङ्ग्रिला, नई प्रकाशन, अक्षर क्रियशन, एजुकेशनल बुक नेपाल, पुस्तक व्यवसायी सङ्घलगायतका प्रकाशन गृह तथा सङ्घ–संस्था र व्यक्तिगत सहयोगमा पुस्तक सङ्कलन गरिएको जानकारी दिए ।

उनका अनुसार विभिन्न विधाका आठ हजार ३८८ थान पुस्तक सङ्कलित छन् । त्यस्तै, सामाजिक विकास मन्त्रालयले पुस्तक खरिदका लागि रु पाँच लाख बजेट उपलब्ध गराएको थियो ।

लेखकसँग कैदीबन्दी

कारागारमा पुस्तकालय स्थापनालगत्तै लेखक एवं साहित्यकार र कैदीबन्दीबीच अन्तक्र्रिया सम्पन्न भएको छ । मुलुकका प्रतिष्ठित १५ जना साहित्यकार यतिबेला कर्णालीमा छन् । प्रदेश प्रहरीको संयोजनमा उहाँहरुले आज पहिलो पटक कैदीबन्दीसँग अन्तक्र्रिया गरे ।

सुर्खेत कारागारमा वरिष्ठ साहित्यकार सनत रेग्मी, उपन्यासकार एवं कथाकार नयनराज पाण्डे र कवि नवराज पराजुली, दैलेखमा निबन्धकार÷स्तम्भ लेखक शेखर खरेल, उपन्यासकार तथा कथाकार कुमार नगरकोटी, सल्यानमा उपन्यासकार उमा सुवेदी, रामलाल जोशी, रुकुम (पश्चिम) मा कथाकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामा, जाजरकोटमा उपन्यासकार अर्चना थापा र सुविन भट्टराई, कालीकोटमा उपन्यासकार युग पाठक, जुम्लामा उपन्यासकार शिवानीसिंह थारु र डोल्पामा उपन्यासकार तथा कथाकार अमर न्यौपानेले कैदीबन्दीसँग अन्तक्र्रिया गरेका छन् ।

बुक क्लब गठन 

कैदीबन्दीमा पुस्तक अध्ययन गर्ने बानीको विकास गर्न कर्णालीका प्रत्येक जिल्ला तथा प्रदेश कारागारमा बुक क्लब गठन गरिएको छ । क्लबमा हरेक शनिबार पुस्तक अध्ययन प्रतियोगिताका साथै समीक्षा हुनेछ । हप्ताभरी अध्ययन गरेका पुस्तकमाथि विचार विमर्श हुनेछ । उत्कृष्ट अध्ययनकर्तालाई पुरस्कृत गरिने योजना रहेको बताइएको छ । महीनामा उत्कृष्ट हुने कैदीबन्दीलाई पुस्तक पढेवापत कारागारको चिनोका रुपमा उक्त पुस्तक नै उपहार प्रदान गरिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै