• २०८१ बैशाख ८ शनिबार

वैज्ञानिकहरूले ब्ल्याक होलको पहिलो तस्बिर सार्वजनिक गर्दै !

kharibot

काठमाडौं । खगोलीय अनुसन्धानको एक कोशेढुंगाका रुपमा वैज्ञानिकहरूले आगामी बुधबार ब्ल्याक होलको अहिलेसम्म खिचिएको पहिलो तस्बिर सार्वजनिक गर्ने भएका छन् ।

अमेरिकाको नेसनल साइन्स फाउन्डेसनको वेबसाइटमा दिइएको जानकारी अनुसार इभेन्ट होराइजन टेलिस्कोप (इएचटी) प्रोजेक्टको अन्तिम नतिजा अप्रिल १० गतेका दिन नेपाली समयअनुसार साँझ पौने सात बजे एक पत्रकार सम्मेलनद्वारा जानकारी गराइने छ ।

इभेन्ट होराइजन टेलिस्कोप(इएचटी) प्रोजेक्ट पृथ्वीभरिका विभिन्न रेडियो टेलिस्कोपको एक विश्वव्यापी सञ्जाल हो, जसले अन्तराष्ट्रिय साझेदारीद्वारा आकाशगङ्गा तारापुन्जको बीचमा रहेको स्याजीटेरियस ए* ब्ल्याक होल र मेसियर ८७ नामको अर्को ब्ल्याक होलको अवलोकन गर्ने गरेको छ । यसमा पृथ्वीको विभिन्न भागमा रहेका रेडियो टेलिस्कोपहरूलाई एकैसाथ पृथ्वीको आकार जत्रो ठूलो भर्च्युअल टेलिस्कोपका रुपमा प्रयोग गरेर डाटा सङ्कलन गर्ने गरिन्छ ।

वैज्ञानिकहरूका अनुसार स्याजीटेरियस ए* सौर्यमण्डल रहेको आकाशपुन्जको मध्य भागमा रहेको छ । सूर्य भन्दा ४० लाख गुणा ठूलो पिण्ड भएको यस ब्ल्याक होल पृथ्वी भन्दा २६००० प्रकाशवर्ष टाढा रहेको छ ।

त्यसैगरी मेसियर ८७ ब्ल्याक होल हाम्रो छिमेकी तारापुन्ज भर्गो एको मध्य भागमा अवस्थित छ । मेसियर ८७ को पिण्ड सूर्य भन्दा साढे ३ अर्ब ठूलो रहेको छ र यो ब्ल्याक होल पृथ्वी भन्दा ५ करोड ४० लाख प्रकाशवर्ष टाढाको दूरीमा रहेको छ ।

इएचटी प्रोजेक्टले २०१७ को अप्रिलमै ब्ल्याक होलको पहिलो तस्बिर निकाल्ने बताइए पनि दक्षिण ध्रुवमा रहेको टेलिस्कोप चिसो मौसमका कारण बन्द गर्नु परेकाले त्यतिखेर ब्ल्याक होलको तस्बिर सार्वजनिक गर्ने योजना पछाडि धकेलिएको थियो ।

त्यसैगरी इएचटी प्रोजेक्टमा संलग्न रहेका एक वैज्ञानिकका अनुसार यस प्रोजेक्टको नयाँ खोजले अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षतावादको सिद्धान्तको पनि परिक्षण गर्ने छ । आइन्स्टाइनले सन् १९१५ मा प्रतिपादन गरेको सामान्य सापेक्षतावादको सिद्धान्तले गुर्त्वाकर्षण बलको बारे नयाँ तरिकाले व्याख्या गर्नुका साथै गुरुत्वाकर्षण बल र प्रकृतिमा हुने अन्य बलहरूको सम्बन्ध पनि स्थापित गरेको थियो ।

त्यसैगरी इएचटीको नयाँ खोजले ब्ल्याक होलको किनारामा र यसको छायाँमा हुने गतिविधिका बारेमा पनि प्रमाण प्रस्तुत गर्ने छ । अनुसन्धानमा संलग्न वैज्ञानिकहरूका अनुसार आइन्स्टाइनले आफ्नो सिद्धान्तहरूद्वारा गरेका अनुमान सही भए वैज्ञानिकहरूले ब्ल्याक होलको वजन र आकारको सही मापन गर्न सफल हुनेछन् । आइन्स्टाइनको सिद्धान्त अनुसार ब्ल्याक होलको छायाँ एक ‘पर्फेक्ट सर्कल’ हुनु पर्नेछ । तर इएचटीको खोजले अन्यथा देखाएमा भने वैज्ञानिकहरूले आफ्नो अनुसन्धानलाई पुनरावलोकन गर्ने स्थिति आउने छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै