• २०८१ बैशाख ८ शनिबार

अन्तर्राष्ट्रिय क्रिकेटका तोड्न असम्भव देखिने सात रेकर्ड  !

kharibot

काठमाडौँ । भनिन्छ क्रिकेटमा हरेक खेलमा रेकर्ड बन्ने गर्दछन् । विश्व क्रिकेटमा अहिले इण्डियन प्रिमियर लिग (आइपिएल) चलिरहेको छ भने आइपिएल पछि अब एकदिवसीय क्रिकेटको विश्वकप ३० मे देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा आयोजना हुदै छ ।

यसै प्रसंगमा हामीले क्रिकेटमा अहिलेसम्म बनेका ७ उत्कृष्ट रेकर्डको बारेमा चर्चा गर्न खोजेका छन्, जुन रेकर्डलाई तुरुन्तै तोड्न मुश्किल देखिन्छ । क्रिकेट इतिहासका उत्कृष्ट खेलाडीले बनाएका यी रेकर्ड तोड्नलाई धेरै समय लाग्ने समेत देखिन्छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका सचिन तेन्दुलकरको नाम उच्च सुचीमा रहेको छ । सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट क्रिकेटमा ५१ र एकदिवसीय क्रिकेटमा ४९ शतक बनाएका छन् । त्यस्तै सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा ३४३४७ रन बनाएका छन् । सचिनको यो रेकर्ड तोड्न निकै समय लाग्ने देखिन्छ । अहिलेसम्म यो रेकर्डको नजिक कुनै खेलाडी देखिएको छैन ।

त्यस्तै अस्ट्रेलियाका महान ब्याट्सम्यान डन ब्रेडम्यानले ५२ टेस्ट खेलमा ९९.९४ को औसतले ६९९६ रन बनाएका थिए । यस क्रममा उनले २९ शतक र १३ अर्धशतक बनाएका थिए । टेस्ट क्रिकेटमा ब्रेडम्यानको औसतको नजिक अहिले कुनै खेलाडी रहेका छैनन् । उनको रेकर्ड तोड्न निकै समय लाग्ने देखिन्छ । उनी पछि उच्च औसतमा टेस्ट क्रिकेटमा रन बनाउने खेलाडी अस्ट्रेलियाका स्टिभ स्मिथ हुन् । जसले ६१.३८ को औसतले रन बनाएका छन् भने भारतका विराट कोहलीको औसत ५३.७६ रहेको छ ।

त्यस्तै इङल्याण्डका स्पिन बलर जिम लेकरले एक टेस्ट खेलमा १९ लिएको रेकर्ड पनि अहिलेसम्म कसैले तोडेका छैनन् । सन् १९५६ मा अस्ट्रेलियासँग भएको एसेज टेस्ट सिरिजको चौथो खेलमा लेकरले पहिलो पारीमा ९ विकेट लिएका थिए भने दोस्रो पारीमा १० विकेट लिएर एक खेलमा कुल १९ विकेट लिने रेकर्ड बनाएका थिए । यो रेकर्ड पछिल्लो ६३ बर्षमा यो रेकर्ड कसैले तोड्न सकेका छैनन् ।

त्यस्तै २००१ मा श्रीलंकाका तिब्रगतिका बलर चामिन्डा भासले जिम्बाबेविरुद्धको एकदिवसीय खेलमा ८ विकेट लिएका थिए । भासले ८ ओभरमा १९ रन दिएर ८ विकेट लिएको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । भासले ३२२ एकदिवसीय खेलमा ४०० विकेट लिएका थिए ।

सन् १९९८-९९ मा वेस्टइन्डिजविरुद्ध भएको एक टेस्ट खेलमा दक्षिण अफ्रीकाको पुरै टिमलाई म्यान अफ द म्याचको अवार्ड दिइएको थियो । क्रिकेटको इतिहासमा यसलाई पनि अनौठो रेकर्डको रुपमा लिइन्छ । यस खेलमा दक्षिण अफ्रीकाले वेस्टइन्डिजलाई ३५१ रनले पराजित गरेको थियो । यस खेलमा दक्षिण अफ्रिकाका सबै खेलाडीले रन बनाएका थिए भने विकेट समेत लिएका थिए ।

श्रीलंकाका स्पिन बलर मुथैया मुरलिधरनले अन्तर्राष्ट्रिय क्रिकेटमा लिएको १३३४ विकेटको रेकर्ड तोड्न निकै समय लाग्ने देखिन्छ । मुरलीधरनले आफ्नो १९ बर्षे क्रिकेट क्यारियरमा १३३ टेस्ट र ३५० एकदिवसीय खेल खेलेका थिए । मुरलीधरनले १३३ टेस्टमा ८ सय विकेट लिएका छन् भने ३५० एकदिवसीय खेलमा ५३४ विकेट लिएका छन् ।

त्यस्तै वेस्टइन्डिजका महान ब्याट्सम्यान ब्रायन लाराले टेस्ट क्रिकेटको एक पारीमा बनाएको ४ सय रनको रेकर्ड पनि अहिलेसम्म कसैले तोड्न सकेको छन् । लाराले सन् २००४ मा इङल्याण्डविरुद्ध खेलेको टेस्ट खेलमा ४ सय रन बनाएका थिए । लाराले सो खेलमा १२ घण्टासम्म ब्याटिंग गरेका थिए । लारालाई पछ्याउदै अस्ट्रेलियाका म्याथ्यु हेडेनले टेस्ट खेलमा ३८० रन बनाएका थिए ।

यसरी हेर्दा अन्तर्राष्ट्रिय क्रिकेटमा रहेका यी सात रेकर्ड कहिले र कसरी टुटलान यो आगामी दिनमा देख्न सकिने छ ।              

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै