• २०८१ बैशाख ८ शनिबार

कामपाका संस्थागत विद्यालयको शुल्क निर्धारण   

kharibot

काठमाडौँ । आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ ।    
महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

विद्यालय सञ्चालनको अवस्था र व्यवस्थालाई आधार बनाएर तोकिएका सूचकका आधारमा विद्यालय वर्गीकरण तथा शुल्क तोकिएको महानगरका शिक्षा अधिकारी निर्मला केसीले जानकारी दिइन् ।    

समितिले शैक्षिकसत्र २०७६ को आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ वर्गमा पर्ने विद्यालयको अधिकतम शुल्क रु एक हजार ६३० कायम गरेको छ । त्यस्तै ‘ग’ वर्गका विद्यालयको रु दुई हजार २४, ‘ख’ वर्गका विद्यालयको रु दुई हजार ४१८ र ‘क’ वर्गका विद्यालयको रु दुई हजार ८१२ निर्धारणको छ ।    

आधारभूत तहकै कक्षा ६ देखि ८ सम्म ‘घ’ वर्गका विद्यालयको अधिकतम शुल्क रु एक हजार ९०१, ‘ग’ वर्गका विद्यालयको रु दुई हजार ३५१, ‘ख’ वर्गका विद्यालयको रु दुई हजार ८०१ र ‘क’ वर्गका विद्यालयको रु तीन हजार २५१ कायम गरिएको छ ।    

माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ वर्गमा पर्ने विद्यालयले रु एक हजार ५३७ अधिकतम शुल्क लिन पाउनेछन् । यसअघि त्यस वर्गका लागि अधिकतम शुल्क रु ८३८ थियो । त्यस्तै ‘ग’ वर्गका लागि तीन हजार ४९, ‘ख’ वर्गका लागि तीन हजार ७६२ र ‘क’ वर्गका लागि रु चार ३७३ अधिकतम शुल्क तोकिएको विभागका प्रमुख केसीको भनाइ छ ।    

काठमाडौँ महानगरमा ९१ सामुदायिक र ६४५ संस्थागत गरी ७३६ विद्यालय छन् । यी विद्यालयमा दुई लाख तीन हजार ९७१ विद्यार्थी अध्ययनरत छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।    

विद्यालयको वर्गीकरणका लागि ५४ बुँदा र अन्य उपबुँदामा सूचक तोकिएका छन् । तीमध्ये विद्यालयको आफ्नै जग्गा, भवन, हातामा घेराबार, खेलमैदानजस्ता भौतिक पूर्वाधार; पुस्तकालय, शौचालय, खेलका सामग्रीजस्ता सुविधा; विद्यार्थी सङ्ख्या, शिक्षक, छात्रवृत्ति, विद्यालय व्यवस्थापन समितिको बैठक, शैक्षिक उपलब्धि, महिला शिक्षक अनुपात, छात्राबास, बालमैत्री कक्षा, शिक्षक बैठक, कर्मचारी सङ्ख्यालगायत छन् ।    

यी सूचकका आधारमा ‘विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समिति’ ले विद्यालय वर्गीकरण गर्छ । महानगर शिक्षा नियमावलीअनुसार समितिमा शिक्षा अधिकारीको संयोजकत्वमा विषयगत प्रतिनिधित्व रहने व्यवस्था छ । यस समितिको फागुन २६ गते बसेको बैठकले चालू शैक्षिकसत्रको शुल्क निर्धारण गरेको हो ।

कक्षागत शुल्कको दर तोक्नका लागि शिक्षा नियमावलीको दफा ५९ को अनुसूची २२ क मा व्यवस्था गरिएको छ । त्यस्तै कामपाले विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि आगामी वैशाख २ गतेदेखि १४ गतेसम्म भर्ना अभियान शुरु गर्ने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै