लेखक बजारमुखी हुनुहुँदैन : उमा सुवेदी

खरीबोट

'तोदा' र 'इति' जस्ता सफल उपन्यासबाट समीक्षक र पाठकमाझ निकै लोकप्रियता कमाएकी लेखिका उमा सुवेदीको पहिलो कथासंग्रह 'सयौं पुतली' २०७६, वैशाख ७ गते राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक हुँदै छ । आफ्नो साहित्यिक करियर गीत र गजलबाट सुरु गरेकी उनका ‘तप्किएर अञ्जुलीमा’ (गजलसंग्रह) र ‘तिर्सनाका छालहरू’ (गीतसंग्रह) प्रकाशित छन् । प्रस्तुत छ उनको प्रकाशोन्मुख कथासङ्ग्रहमा केन्द्रित रहेर खरीबोटका लागि अनुप जोशीले गरेको कुराकानीको सम्पादित अंश:


झट्ट तपाईंको प्रकाशोन्मुख कथासङ्ग्रहको शीर्षक सुन्दा पुस्तक महिलाअधिकारका लागि केन्द्रित भएजस्तो प्रतीत हुन्छ । कस्ता विषयवस्तुका कथाहरू समेट्नुभएको छ ?

महिला भएकाले मेरो लेखनमा महिलाका मुद्दाहरू आउनु अचम्मको कुरै होइन  । तर सबै कथा महिला अधिकारकै बारेमा लेखिएका छन् भन्ने चाहिँ होइन । मैले ब्यक्ति, समाज र राजनीतिका विविध चरित्र र पाटाहरू उधिन्ने क्रममा आम मान्छेका सरोकारसित जोडिएका थुप्रै फरक विषयमा पनि कथाहरू लेखेकी छु । ती कथाहरू पनि यसमा संग्रहित छन् ।


तपाईंको पछिल्ला उपन्यास ‘इति’ र 'तोदा'बाट कस्ता प्रतिक्रियाहरू आए?

मैले मेरो पहिलो उपन्यास 'तोदा' र दोस्रो उपन्यास 'इति' दुवैबाट पाठकहरूको विश्वास जितेकी छु । त्यसले मलाई चुनौती पनि थपेको छ । 'सयौं पुतली' कथासंग्रह मार्फत मैले आफूलाई ती चुनौतीहरूसित लड्नका लागि कसरी तयार पारेकी छु भन्ने पाठकहरूले पक्कै महसुस गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ।



गीत-गजलमा रमाउने मान्छे उपन्यासमा पनि सफलता हाँसिल गर्नुभयो । गीत, गजल, उपन्यास र कथा लेखनमा के-कस्ता फरक हुँदा रहेछन् ?

सबै विधाका आआफ्नै विशिष्टता छन् । गीत गजलले मलाई विषयलाई विम्बमा अभिव्यक्त गर्ने कला सिकायो । आख्यान लेखनले मलाई ठूलो क्यानभासमा आफूलाई कसरी अभिव्यक्त गर्न सकिन्छ भन्ने सिप सिकायो । त्यसैले मैले छोएका हरेक विधाले मलाई यहाँसम्म आइपुग्न सहयोग गरेका छन् ।


कसरी तयार हुन्छन् तपाईंका कथा ?

म प्राय एकान्तमा बसेर लेख्छु । शान्त वातावरण छ भने दिउँसो पनि लेख्नसक्छु । कथा प्राय: एक सिटिंगमै लेखिसक्छु । तर विषय आउने बित्तिकै लेख्न बसिहाल्दिनँ । केही दिन दिमागमै त्यो विषयलाई बोकेर हिँडिरहन्छु । जब त्यो विषयमा न्याय दिनसक्छु जस्तो लाग्छ अनि लेख्न बस्छु । लेखिसकेपछि तुरुन्त छाप्न दिन्नँ । केही समय सम्पादन र पुनर्लेखनमा ध्यान दिन्छु ।


कस्ता कुराहरूले तपाईंलाई लेख्न प्रेरित गर्छन् ? तपाईंको लेखनको उदेश्य के हुने गर्छ?

समाजमा देखिने असमानता र विभेदहरूले मलाई सबैभन्दा बढी आहत गर्छन् । त्यो असमानता महिला र पुरुषबीच, धनी र गरिबबीच, जनता र नेताबीच अनि पति र पत्नीबीचमा छ । मलाई त्यो असमानताको भित्री तहमा पुगेर त्यसको कारण खोतल्न मन लाग्छ । त्यही नै मेरो लेखनको अभिष्ठ र उद्धेश्य हो । व्यक्ति र समाजबीचको न्यायपूर्ण स्वतन्त्रता नै मेरो लेखनको वैचारिक धरातल हो ।


पछिल्लोसमय कुनै विशेष भूगोल र समुदायमा केन्द्रित भएर लेखिएका आख्यानहरू विवादमा मुछिएका छन् । लेख्दा कसरी पूर्वाग्रहबाट मुक्त हुने?

मुख्य कुरा त लेखकले कुन मनसायले आफ्नो विषयको उठान गर्यो भन्ने नै हो । कतिपय स्थितिमा लेखकलाई दोष दिएर उम्किन पनि मिल्दैन । सामाजिक चेतनाको स्तर पनि हामीकहाँ कमजोर छ । त्यसैले कहिलेकाहीँ समाजले आफ्नै पीडा र शोषणका कथा पढ्दा पनि आफ्नो घाउलाई कोट्याइदिएर अझ अन्याय गरेको सोच्न पुग्छ । कसैको दु:ख पीडा अभिव्यक्त गर्दा लेखकले पनि सहानुभूति भन्दा बढी समानुभूति राख्नु पर्छ । म यस अर्थमा सचेत हुन प्रयासरत छु ।

समाजमा देखिने असमानता र विभेदहरूले मलाई सबैभन्दा बढी आहत गर्छन् । त्यो असमानता महिला र पुरुषबीच, धनी र गरिबबीच, जनता र नेताबीच अनि पति र पत्नीबीचमा छ । मलाई त्यो असमानताको भित्री तहमा पुगेर त्यसको कारण खोतल्न मन लाग्छ ।


कसरी साहित्यमा लाग्नुभयो? नेपालमा महिला लेखकलाई अफ्ट्यारो छ रे, हो?

जब पारिवारिक,समाजिक, आर्थिक र राजनीतिक सबै खालका विभेदबाट महिलालाई जेलिएको देखेँ, मेरो साहित्यिक चेत त्यतिबेला नै उघारिएको हो । आम महिला लेखकभन्दा मेरो संघर्ष विशिष्ट र फरक छैन । यस विषयमा धेरै चर्चाहरू भए । हामी सबै महिला लेखकहरू संघर्षका अनेकथरिका पहाड उक्लिएर सिर्जनाको राजमार्गमा हिँडिरहेका छौँ ।


उपन्यासकारहरू लेखेरै राम्रो कमाउँछन् भन्ने चर्चा छ । नेपाली आख्यान व्यवसायिक बनेकै हो त?

यो अचेल जताततै सोधिने प्रश्न हो । यासको जवाफ दिनका लागि म त्यति उपयुक्त पात्र हुँ जस्तो लाग्दैन । आफ्नो धरातलमा उभिएर आफूले बुझेका मुद्दामा कलम चलाइरहेकी सामान्य स्रष्टा हुँ । तर, आख्यानतिर धेरैको ध्यान आकृष्ट भएको भने पक्कै हो । पठन संस्कृतिको विकास पहिला भन्दा धेरै भएको पक्कै हो । केही पूर्णकालीन लेखकहरूले राम्रै कमाइरहेको पनि सुन्छु र यो कुरालाई सकारात्मक मान्नु पर्छ । यसले साहित्यमा आउन चाहने नयाँ पुस्तालाई पक्कै प्रेरित गर्छ तर साहित्यको बजार बढेको छ भन्दैमा लेखक बजारमुखी चाहिँ हुनुहुँदैन ।


आफूले पढेका पुस्तकले तपाईंलाई कत्तिको प्रभाव पार्छन् ?

अरुले कस्तो लेखिरहेछन् भन्नेकुरा बुझेपछि मात्र आफूले कस्तो लेख्ने भन्ने थाहा हुन्छ । त्यसैले अरु लेखकलाई पढ्नु जरुरी छ । सबै लेखकलाई कुनै न कुनै किसिमले आफूले पढेका पुस्तकहरूको प्रभाव परिरहेकै हुन्छ । तर, त्यो प्रभाव संवेदनाको तहमा हुनु पर्छ । कुनै किताबबाट प्रभावित हुनुको अर्थ त्यही शैली, शिल्पमा त्यस्तै खालका विषयहरू उठाउन थाले भने त्यो नक्कल हुन्छ । नाम धेरैको लिनु पर्ने हुन्छ । त्यसैले समाजका मुद्दाहरूलाई विश्वासिलो किसिमले उठाउने लेखकहरू नै मेरा प्रिय लेखकहरू हुन् ।


अबको योजना?

यो कथासंग्रहको प्रकाशनपछि केही समय अरुका किताबहरू पढ्ने योजनामा छु । एउटा उपन्यास लेख्दा लेख्दै रोकेकी छु । अलिक उपयुक्त समयमा त्यसलाई फेरि शुरु गर्छु ।


अन्त्यमा, आफ्ना पाठकहरूलाई के भन्न चाहनुहुन्छ?

पाठकहरूलाई यतिमात्र भन्छु, मेरो कथासंग्रह पढेर मौन नबसिदिनुस् । प्रतिक्रिया दिनुस् । त्यसले मलाई थप प्रेरणा दिनेछ ।


 


z