• २०८१ बैशाख १२ बुधबार

सामसुङले ल्यायो ग्यालेक्सी ए-सिरिजका स्मार्टफोनहरू, यस्ता छन् फिचर

kharibot

काठमाडौं । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले बुधबार ग्यालेक्सी ए-सिरिजका दुई स्मार्टफोनहरू लन्च गरेको छ ।

थाइल्याण्डको ब्यांगकक, इटालीको मिलान र ब्राजीलको साओ पाउलो सहरमा आयोजना गरिएको सामसुङको ए ग्यालेक्सी इभेन्टमा ग्यालेक्सी ए-सिरिजका ग्यालेक्सी ए ७० र ग्यालेक्सी ए ८० स्मार्टफोनहरू सार्वजनिक गरिएको हो । त्यसैगरी कम्पनीले आफ्ना जे सिरिज स्मार्टफोनहरूलाई ए सिरिजमा मर्ज गरेको पनि घोषणा गरेको छ । तर सामसुङले ग्यालेक्सी ए सिरिज स्मार्टफोनका मूल्यबारे भने अहिले केही खुलाएको छैन । 

बुधबार लन्च गरिएका ग्यालेक्सी ए सिरिजका स्मार्टफोनहरू मध्य ग्यालेक्सी ए ८० पप-अप रोटेटिंग क्यामेरा भएको सामसुङको पहिलो स्मार्टफोन हो । त्यसैगरी यो स्मार्टफोन क्वालकमको नयाँ स्न्यापड्रयागन ७३० जी प्रोसेसर प्रयोग गरिने पनि पहिलो स्मार्टफोन पनि हो । ग्यालेक्सी ए ८० को पछाडि भागमा रहेका तीनवटा क्यामेरा सेन्सरहरू फ्रन्ट क्यामेरा खोलेपछि घुमेर अगाडि आउनेछन् ।

फोनको ट्रिपल क्यामेरा सेटअपले सेल्फी क्यामेराको पनि काम गर्ने छ । जसमा ४८ मेगापिक्सेल, ८ मेगापिक्सेल र टाइमअफ फ्लाइट थ्रीडी क्यामेरा लेन्स रहेका छन् । यस फोनमा पप-अप रोटेटिंग क्यामेरा लेन्सबाहेक कुनै नच नभएको सामसुङको ‘न्यु इन्फिनिटी’ डिस्प्ले पनि रहेको छ । जसमा १९८०x२४०० पिक्सेलको फुल एचडी प्लस  रिजोलुसन हुनेछ । त्यसैले फोनको एमोलेड स्क्रीन ६.७ इन्चको रहेको छ ।

फोनको र्याम क्षमता ८ जीबी र स्टोरेज क्षमता १२८ जीबी रहेको छ । यसमा स्टोरेज क्षमता बढाउनका लागि भने मेमोरी कार्डको स्लट उपलब्ध छैन । त्यसैगरी फोनमा ३७०० एमएएचको ब्याट्रीसहित सुपर फास्ट चार्जिंगको पनि सुविधा रहेको छ । ग्यालेक्सी ए ८० कालो, सेतो र सुनौलो रङ्गमा उपलब्ध हुनेछ ।

त्यसैगरी सामसुङले ए ग्यालेक्सी इभेन्टमा यसअघि मार्चमै घोषणा गरिसकिएको ग्यालेक्सी ए ७० पनि लन्च गरेको थियो । ग्यालेक्सी ए ७० मा पनि पछाडि भागमा तीनवटा क्यामेरा लेन्स भएपनि यी लेन्स ग्यालेक्सी ए ८० जस्तै घुमेर अगाडि आउने छैनन् । फोनको पछाडि रहेको ट्रिपल क्यामेरा सेटअपमा ३२ मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा लेन्स र ५ मेगापिक्सेलको डेप्थ सेन्सर भएका क्यामेरा लेन्स रहेका छन् ।

त्यसैगरी फोनको सेल्फी क्यामेरा भने ३२ मेगापिक्सेलको रहेको छ । ६ जीबी र ८ जीबी र्याममा उपलब्ध हुने यस फोनको स्टोरेज क्षमता १२८ जीबी रहेको छ । जसलाई माइक्रो एसडी कार्डद्वारा ५१२ जीबीसम्म बढाउन मिल्ने छ । यसका साथै फोनमा ४५०० एमएएचको ब्याट्री रहेको छ जसले २५ वाटको सुपर फास्ट चार्जिंग पनि सपोर्ट गर्नेछ । ग्यालेक्सी ए ७० को ६.७ इन्चको स्क्रिनमा इन्फिनिटी-यु नच डिस्प्ले, अन-स्क्रिन फिङ्गरप्रिन्ट सेन्सर र फेसियल रेकगनिसनको सुविधा उपलब्ध छन् । यो फोन कालो, निलो, सेतो र कोरल रङ्गमा उपलब्ध हुनेछ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै