• २०८१ बैशाख ६ बिहीबार

सरकारद्वारा पब्जी खेलमा प्रतिबन्ध, के हो पब्जी खेल ? 

kharibot

काठमाडौँ । सरकारले नेपालमा इन्टरनेटबाट खेलिने अहिलेको चर्चित खेल पब्जी खेलमाथि प्रतिबन्ध लगाएको छ ।

नेपाल दूरञ्चार प्राधिकरणका सूचना अधिकारी तथा उपनिर्देशक सन्दिप अधिकारीले खरीबोटसँग कुरा गर्दै पब्जी बन्द गर्न सर्कुलर जारी गरिएको जानकारी दिएका छन् । 

अधिकारीले इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई पब्जी गेम तुरुन्त देखि नखुल्ने बनाउन सर्कुलर जारी गरेको बताए ।

जिल्ला अदालत काठमाडौंमा पब्जी खेलविरुद्ध मुद्दा दायर भएपछि अदालतले आवश्यक कदम चाल्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई निर्देशन दिए बमोजिम ब्युरोको अनुरोधमा प्राधिकरणले यस्तो कदम चालेको उनले जानकारी दिएका छन् । 

के हो पब्जी खेल ?

प्लेयर अन्नोनस ब्याटल ग्राउण्डस अर्थात् पब्जी अनलाईनमा खेलिने मल्टीप्लेयर भिडियो गेम हो । यसलाई दक्षिण कोरियाको भिडियो गेम कम्पनी ब्लुहोलको स्वामित्व रहेको पब्जी कर्पोरेसनले निर्माण गरेको हो । भिडियो गेमअन्तर्गतको ‘ब्याटल रोयल गेम’ विधामा पर्ने यस खेलमा प्रतिस्पर्धीहरू बीच हुने युद्धबाट हारजितको निर्णय गरिन्छ ।

यस खेलमा एकपल्टमा एक सय खेलाडीहरूलाई प्यारासुटका माध्यमद्वारा एक आइल्याण्डमा पुर्याएपछि उनीहरूले त्यस ठाउँमा हातहतियार खोज्दै खेलको अन्तिमसम्म जीवित रहन एक अर्कासँग युद्ध गर्नुपर्ने हुन्छ । खेलमा बिस्तारै सहभागी खेलाडीलाई उपलब्ध हुने सुरक्षित स्थान घट्दै जान्छ र एक अर्कालाई मारेर अन्तिमसम्म जीवित रहने खेलाडी वा टिम विजयी बन्छ ।

पब्जीलाई पहिलोपटक मार्च २०१७ मा माइक्रोसफ्ट विन्डोजका लागि रिलिज गरिएको थियो । त्यतिबेला बेटा भर्जन मात्र निकालिएको यस खेलको पूरा भर्जन २०१७ डिसेम्बरमा सार्वजनिक गरिएको थियो । यो खेल माइक्रोसफ्टको विन्डोज र एक्सबक्स वान, गुगलको एण्ड्रोइड, एप्पलको आईओएस र सोनीको प्लेस्टेसन ४ मा उपलब्ध रहेको छ । पब्जी खेलका लागि डिभाइसमा धेरै मेमोरी आवश्यक पर्ने भएकाले कम मेमोरी खपत गर्ने पब्जी लाईटको बेटा भर्जन यही वर्षको जनवरीमा थाइल्याण्डमा रिलिज गरिएको थियो ।

पब्जी खेल निकै हिंस्रक भएको र यसले माननिक स्वास्थ्यमा असर गर्ने भन्दै यसलाई छिमेकी मुलुक चीन र भारतको केही सहरमा प्रतिबन्ध लगाइसकिएको छ । चीनमा त पब्जीको पूरा भर्जन आउनुअघि नै २०१७ अक्टोबरमा रोक लगाइएको थियो ।

त्यसैगरी यस खेललाई अघिल्लो महिना गुजरातका केही सहरमा प्रतिबन्ध लगाइएको थियो र अहिले भारतभरि नै प्रतिबन्ध लगाउनुपर्ने विषयमा बहस चलिरहेको छ । विशेषगरी पब्जी खेलका कारण भारतका विभिन्न ठाउँमा आत्महत्या गर्ने र मृत्यु भएको खबर आउने गरेका छन् । अघिल्लो हप्ता हैदराबादमा एक १६ बर्षिय युवकले उनका पिताले पब्जी खेल्नमा रोक लगाएपछि झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै