अर्बपति (म्याक्सिम गोर्की)

खरीबोट

आफ्नो साहित्यिक नाम 'म्याक्सिम गोर्की'ले परिचित अलेक्सी म्याक्सिमोवीच पेश्चकोव(१८६८-१९३६) एक रुसी लेखक, नाटककार र राजनैतिक अभियन्ता थिए । उनलाई सामाजिक यथार्थवादी अभियानको महत्वपूर्ण व्यक्तित्वका रुपमा लिइन्छ । ११ वर्षको उमेरमा अनाथ बनेका उनी १२ वर्ष हुँदा भागेका थिए र १९ वर्षको उमेरमा आत्महत्याको प्रयास गरेका थिए । त्यसपछि भने उनले पाँच वर्षसम्म पैदल रुपमा रुसी साम्राज्यको भ्रमण गरे । यो समयमा उनले धेरै जागिरहरू परिवर्तन गरेका थिए र त्यसबेलाका आफ्ना अनुभवहरूलाई समेटेर पछि साहित्य सिर्जना गर्न थाले । उनी ५ पल्टसम्म साहित्यतर्फको नोबेल पुरस्कारका लागि मनोनयनमा समेत परेका थिए । उनी त्यसबेलाको रुसी सारहरूको सत्ताको खुला रुपमा विरोध गर्थे र मार्क्सवादी आन्दोलनमा सक्रिय थिए । उनी अर्का दुई चर्चित रुसी लेखकहरू लियो टोल्स्टोय र आन्तोन चेखवसँग पनि निकट थिए, जसलाई उनले आफ्नो संस्मरणमा उल्लेख गरेका छन् । सुरुमा भ्ल्यादिमिर लेनीनसँग निकट रहेका उनी पछि लेनीनको आलोचक बनेका थिए । रुस र सोभियत संघबाट निकालिएका उनले आफ्नो जीवनको महत्वपूर्ण भाग निर्वासनमा बिताउनुपर्यो । पछि उनलाई जोसेफ स्टालिनले व्यक्तिगत रुपमा रुसमा बोलाए र उनले रुसमै मृत्युवरण गरे । उनका चर्चित कृतिहरूमा 'मदर', 'माई चाइल्डहुड', चिल्ड्रेन अफ द सन' आदि पर्छन् । प्रस्तुत छ अनुप जोशीले उनको कथा 'द बिलिनेयर'लाई अंग्रेजीबाट नेपालीमा गरेको अनुवाद:


संयुक्त राज्य अमेरिकाका स्टीलका राजा, पेट्रोलका राजा र अन्य राजाहरूले सधैं मेरो कल्पनाशक्तिलाई उच्चतम् विन्दुमा पुर्याएर रोमान्चक बनाउने गरेका छन् । मलाई यस्तो लाग्छ कि यी निश्चित व्यक्तिहरू जोसँग अनगिन्ती पैसा छ, ती अरु सामान्य मान्छेजस्ता नाशवान हुन सक्दैनन् ।

मैले आफैंलाई भनें कि उनीहरूमध्ये प्रत्येकसँग कम्तिमा पनि ३ वटा पेट र १५० वटा दाँत हुनुपर्छ । मलाई कुनै शंका थिएन कि करोडपतिहरू बिहान छ बजेबाट मध्यरातसम्म कुनै मध्यान्तर बिना नै लगातार खाइरहन्छन् । र त्यो पनि संसारकै शानदार भोजन ! दिनभरि चपाउँदा-चपाउँदा उनीहरूलाई पट्यार लाग्दो हो र मैले कल्पना गरेको छु कि साँझतिर उनीहरू आफ्नो नोकरहरूलाई आफूले निलेको भोजन सन्तुष्टिपूर्वक पचाइदिन आदेश दिन्छन् । पूर्ण रुपमा लल्याकलुलुक भएर छटपटी र पसिनाले लत्पतिएको उसलाई नोकरहरूले विछ्यौनामा लगेर निकै सावधानीपूर्वक सुताउँदा हुन्, ताकि भोलिपल्ट उठ्नेबित्तिकै बिहानै छ बजेबाट उसले आफ्नो भोजन कार्य आरम्भ गर्न सकोस् ।

यद्यपि त्यस्ता मान्छेले जतिसुकै कष्ट सहेर खाए पनि आफ्नो अथाह सम्पत्तिबाट आउने ब्याजको आधामात्रै पनि खाएर सक्न असम्भव हुँदो हो ।

निश्चित रुपमा त्यस्तो जीवन नारकीय छ, तर कसले के नै गर्न सक्छ र? केका लागि कोही करोडपति बन्छ? उफ्, म के भनिरहेछु ! केका लागि कोही अर्बपति बन्छ जब ऊ एक सामान्य नश्वर मानिसले भन्दा धेरै खान सक्दैन भने? मैले आफैंमा कल्पना गरें कि अर्बपतिहरूले सुनका बुट्टा भएका लुगा लगाउँदा हुन्, सुनका जुत्ता लगाउँदा हुन् र ह्याटको सट्टा टाउकोमा हिरा र मणिजडित मुकुट लगाउँदा हुन् । संसारको सबैभन्दा महँगो मखमलले बनेको उसका सुनका टाँक भएका लुगाहरूको लम्बाइ कम्तिमा पनि ५० फिट हुँदो हो र विदाको दिनमा ऊ आवश्यताले गर्दा अर्को ६ जोर महंगा ट्राउजरहरू लगाउन बाध्य हुँदो हो । पक्कै पनि त्यस्तो लुगा लगाउँदा अप्ठ्यारो महसुस हुँदो हो, तर त्यतिविधि धनी भएपछि त अरु मान्छेहरूले लगाए जस्तो पहिरन त लगाउन मिलेन नि !

केका लागि कोही अर्बपति बन्छ जब ऊ एक सामान्य नश्वर मानिसले भन्दा धेरै खान सक्दैन भने?

मैले कल्पना गरें कि अर्बपतिहरूको खल्ती यतिविघ्न ठूलो हुन्छ होला कि त्यहाँ सजिलैसँग चर्च र पूरै संसद अटाउन सक्छ । त्यस्ता महान् व्यक्तिहरूको पेट त यति ठूलो हुन्छ होला कि त्यहाँ समुद्र नै अटाउन सक्ला, कति लम्बाइ र चौडाइ होला भनेर त खै ! मैले कल्पना नै पो गर्न सकिनँ । उसको कोठाको बारेमा सोच्न खोज्दा पनि मेरो दिमागमा कुनै स्पष्ट चित्र नै आउन सकेन, तर मलाई लाग्छ कि त्यो कम्तिमा पनि दुई हजार वर्ग यार्ड त हुन्छ होला । र यदि ऊ सुर्ती खान्छ भने नि:सन्देह उसले सर्वोत्कृष्ट गुणस्तरको खाँदो हो र एकपल्टमा कम्तिमा पनि एक किलो सुर्ती मुखमा हाल्दो हो । नशा तान्ने बेलामा पनि उसले कम्तिमा एकपल्टमा आधा किलो त सुंघ्दो हो । यसो गर्दा अलिअलि भएपनि पैसा खर्च हुन्छ नि !

उसका हातहरूमा आफूले चाहे अनुसार तन्किने जादूमय इच्छाधारी शक्ति हुँदो हो । मैले कल्पनामा न्यूयोर्कको एक अर्बपतिले आफ्नो हात तन्काएर कतै साइबेरियातिर गुँडेको एक डलरको सिक्कालाई आफू एक इन्च पनि नहल्लिकन तानेको देखेको छु ।

उत्सुकतापूर्वक सोच्दै गर्दा मैले यो विशाल जीवको टाउको कत्रो होला भनेर स्पष्ट आकृति कल्पना गर्न सकिनँ । संसारका हरेक कुराबाट पैसा सोस्नका लागि निर्मित भएका राक्षसका जस्ता जब्बर मांशपेशी र हड्डीयुक्त यो जीवको टाउको त पक्कै पनि बडेमानको हुँदो हो ।


कसले नै त्योबेलाको मेरो आश्चर्यलाई बुझ्न सक्ला र ? जतिबेला म यस्तै एउटा धनी मान्छेको अगाडि हुँदा यो निष्कर्षमा आएँ कि एउटा अर्बपति पनि अरु मानवहरूजस्तै पो हुँदो रहेछ ।

मैले त्यहाँ एउटा अग्लो बूढो मान्छे आर्मचेयरमा बसिरहेको देखें । उनले आफ्ना खैरा हातहरू बाँधेर बसेका थिए र उनको शरिर सामान्य आयतनको थियो । उनले अनुहारको नरम छाला सावधानीपूर्वक खौरिएका थिए  । उनका आँखाहरू रंगहीन थिए र आँखीभौं पनि थिएन । तालु खुइलिएको थियो । उनको कोमल छाला हेर्दा नवजात शिशुको जस्तै लाग्थ्यो । उनी आफ्नो जीवनको सुरुवातमा थिए कि अन्त्यमा आइपुगिसकेका थिए भनेर मलाई छुट्याउनै मुस्किल पर्यो ।

उनको पहिरनमा यस्तो केही पनि थिएन जसले उनलाई एउटा सामान्य मानिस भन्दा भिन्न देखाओस् । उनको शरिरमा भएको सुनमा एउटा औंठी, घडी र उनका दाँतहरू मात्र थिए । सबै जोडेर मुस्किलले एक पाउ जति पनि थिएन होला । वास्तवमा भन्नुपर्दा ती मान्छेको हुलिया हेर्दा त उनी युरोपको कुनै सम्भ्रान्त परिवारमा काम गर्ने बूढो नोकर जस्तो देखिन्थे ।

उनले मलाई भेट दिएको कोठाको साजसज्जा पनि उस्तो केही विशेष थिएन । फर्निचरहरू निकै गरुङ्गा खालका थिए, त्यति मात्र भन्न सकिन्छ । ती फर्निचरहरू देखेर मलाई सायद यस घरमा हात्तीहरू आउने गर्छन् होला जस्तो लाग्यो ।

‘के तपाईं अर्बपति हुनुहुन्छ?’, मैले उनलाई सोधें किनभने मैले आफ्ना आँखाहरूलाई विश्वास गर्न सकिरहेको थिइनँ ।

‘अवश्य पनि!’, टाउको हल्लाउँदै उनले उत्तर दिए ।

‘तपाईं नास्तामा कति मासु खान सक्नुहुन्छ?’

‘म बिहान कहिले पनि मासु खाँदिन’, उनले भने । ‘एक चौथाइ सुन्तला, एउटा अण्डा र एक कप चिया मात्र खान्छु...’

बच्चाका जस्ता उनका निर्दोष आँखाहरू दुई थोपा हिलाम्य पानी जस्तै गरी उत्साहरहित तबरले झिम्किरहेका थिए ।

उनको पहिरनमा यस्तो केही पनि थिएन जसले उनलाई एउटा सामान्य मानिस भन्दा भिन्न देखाओस् । उनको शरिरमा भएको सुनमा एउटा औंठी, घडी र उनका दाँतहरू मात्र थिए । सबै जोडेर मुस्किलले एक पाउ जति पनि थिएन होला ।

‘उत्तम’, म फेरि सुरु भएँ, ‘तर मसँग इमान्दार भएर कुरा गर्नुस् । मलाई सबै सत्य बताउनुहोस् । दिनमा कतिपल्ट खानुहुन्छ?’

‘दुईपल्ट’, शान्तिपूर्वक उनले जवाफ दिए, ‘नास्ता र रात्रीभोजन भए मलाई पर्याप्त हुन्छ । दिउँसो भने म अलिकति सुप, थोरै सेतो मासु, तरकारी, फलफुल, एक कप चिया र सिंगार पिउँछु ।

म आश्चर्यचकित भएँ । लामो सास लिएँ र फेरि सोधें:

‘तर यदि यो सत्य हो भने तपाईं आफ्नो पैसाले के गर्नुहुन्छ?’

‘त्यो लगानी गरेर अझै अरु पैसा कमाउँछु’

‘के-का लागि?’

‘त्यसबाट अझै धेरै पैसा कमाउनका लागि !’

‘के-का लागि त?’, मैले दोहोर्याएँ ।

उनी आफ्ना हातहरू कुर्सीको बिटमा राख्दै म भएतर्फ झुके र उत्सुकता व्यक्ति गर्दै भने:

‘पक्कै पनि तिम्रो दिमाग खुस्केको जस्तो छ?’

‘र तपाईंको नि?’, मैले प्रतिप्रश्न गरें ।

बूढाले आफ्नो सुनका दाँतहरूबाट सुस्केरा हाल्दै आफ्नो टाउको हल्का झुकाए ।

‘कस्तो हाँसोलाग्दो होला...तपाईं तपाईंको वर्गको पहिलो व्यक्ति हो जसलाई मैले भेटें’

त्यसपछि उनले आफ्नो टाउको उठाए र केहीबेर चुपचाप मलाई हेरे ।

‘तपाईं के गर्नुहुन्छ?’, मैले फेरि सुरु गरें ।

‘पैसा कमाउँछु’, उनले छोटो उत्तर दिए ।

‘ए, त्यसोभए तपाईं नक्कली नोट छाप्नुहुन्छ?’, रहस्यको पींधसम्म पुगेकाले म हर्षोल्लासका साथ चिच्याएँ । तर ती अर्बपति भने डराए । उनको सारा शरिर काँप्यो र आँखाहरू यताउता घुमे ।

‘त्यस्तो होइन’, अलि शान्त भएपछि उनले भने । त्यसपछि उनले आफ्नो गाला फुलाए, तर किन भनेर मैले बुझिनँ ।

मैले यसो विचार गरें र फेरि उनलाई प्रश्न गरें:

‘त्यसो भए तपाईं कसरी पैसा कमाउनुहुन्छ त?’

‘ए, त्यो त निकै सामान्य कुरा छ । मसँग रेलमार्ग छ । किसानहरूले बिक्रीयोग्य कुराहरू उत्पादन गर्छन्, जसलाई मैले बजारसम्म ढुवानी गर्छु । मैले आफ्नो सुझबुझले हिसाब गर्छु कि मैले कति पैसा किसानहरूलाई दिनुपर्छ ताकि उनीहरू भोकै नरहून् र निरन्तर रुपमा अन्न फलाइरहून् । बाँकी पैसा ढुवानी खर्चको नाममा म आफैं राख्छु । यो पक्कै पनि सामान्य कुरा छ, हैन त?’

‘र किसानहरू त्यतिमै सन्तुष्ट हुन्छन्?’

‘मलाई लाग्छ, हुँदैनन् होला’, उनले बच्पना झल्काउँदै जवाफ दिए । ‘तर भनिन्छ नि, मान्छेहरू कहिल्यै सन्तुष्ट हुन सक्दैनन् । संसारमा जहिले पनि त्यस्ता पृथक पात्रहरू हुन्छन् जसले अझै धेरै भन्दा धेरै चाहन्छन्..’


z