• २०८१ बैशाख १३ बिहीबार

बेयरसीट दुर्घटनाग्रस्त, टुट्यो इजरायलको चन्द्रमामा पुग्ने सपना !

kharibot

इजरायलले पहिलोपटक चन्द्रमाको लागि पठाएको अन्तरिक्षयान दुर्घटनाग्रस्त भएपछि चन्द्रमाको सतहमा सफल अवतरण गर्नबाट चुकेको छ ।

निजी लगानीबाट चन्द्रमाको लागि निर्माण गरिएको पहिलो अन्तरिक्ष यान बेयरसीट नेपाली समयअनुसार शुक्रबार बिहान १ बजेर १० मिनेट जाँदा चन्द्रमाको सतहमा दुर्घटनाग्रस्त हुन पुगेको थियो । चन्द्रमाको सतहबाट १४९ मिटर माथि हुँदा नै बेयरसीटसँगको सम्पर्क टुटेको थियो । चन्द्रमामा हलुकासँग अवतरण गर्ने योजना रहेको सो यान त्यसपछि धुलोले भरिएको चन्द्रमाको सतहमा खसेको थियो ।

इजरायली सहर यहुदमा रहेको स्पेसआइएलको कन्ट्रोल सेन्टरबाट बेयरसीटको अवलोकन गरिरहेका इजरायलका प्रधानमन्त्री बेन्जामीन नेतान्याहूले पहिलोपटकमा सफलता नमिले फेरि प्रयास गर्नुपर्ने प्रतिक्रिया दिएका थिए ।

त्यसैगरी इजरायलको अन्तरिक्ष संस्था इजरायल एरोस्पेस एण्ड इन्डस्ट्रिजका जेनेरल म्यानेजर ओफेर डोरोनले मिसन कन्ट्रोलबाट गरिएको प्रतक्ष्यप्रसारणको क्रममा बेयरसीटको स्थितिबारे जानकारी दिँदै अन्तरिक्षयानमा समस्या आएका कारण सफलतापूर्वक अवतरण गर्न नसकिएको तर अहिलेसम्मको उपलब्धि भने उल्लेखीय रहेको बताए ।

बेयरसीट दुर्घटनाग्रस्त भएपछि इजरायल विश्वका महाशक्ति राष्ट्रहरू रुस, अमेरिका र चीनपछि चन्द्रमामा सफल अवतरण गर्ने चौथो राष्ट्र बन्नबाट चुकेको छ ।

बेयरसीटलाई इजरायली संस्था स्पेस आइएलले निर्माण गरेको हो । यो यान निजी क्षेत्रको लगानीबाट बनेर चन्द्रमामा पठाइएको पहिलो अन्तरिक्ष यान पनि हो । सन् २०११मा स्थापित गरिएको स्पेस आइएलले चन्द्रमामा यान पठाउन आयोजना गरिएको गुगल लुनर एक्स प्राइजमा सहभागी भएपछि बेयरसीटको निर्माण गरेको थियो । यो प्रतिस्पर्धामा कसैले पनि तोकिएको समयमा आफ्नो प्रोजेक्ट पूरा नगरे पनि स्पेस आइएलले भने आफ्नो प्रोजेक्टलाइ निरन्तरता दिंदै बेयरसिटको सफल निर्माण गरेको थियो ।

बेयरसिटलाई स्पेस आइएलले इजरायल एरोस्पेस इन्डसट्रिजसंगको साझेदारीमा करिब दश करोड डलरमा निर्माण गरेको थियो । जुन यसअघि चन्द्रमामा पठाइएका यानहरू भन्दा निकै कम लागत हो । ५८५ किलो वजन रहेको बेयरसिटल एउटा सामान्य वासिंग मेसिनको आकारको रहेको छ ।

अमेरिकाको फ्लोरिडा राज्यमा रहेको केनेडी स्पेस सेन्टरबाट यही वर्षको फेब्रुअरी २१ मा बेयरसीटलाई स्पेस एक्स कम्पनीको फाल्कन नाइन रकेटमा राखेर प्रक्षेपण गरिएको थियो । त्यसपछि ६ हप्तासम्म पृथ्वी वरिपरि घुमेको बेयरसीटको घुम्ने कक्ष विस्तारै चन्द्रमातर्फ सर्दै गएको थियो । यसक्रममा बेयरसीटले करीब ६५ लाख किलोमिटरको यात्रा गरेको थियो, जुन कुनै पनि अन्तरिक्षयानले चन्द्रमाको लागि लिएको सबैभन्दा लामो बाटो हो । सुस्तरी यात्रा गरिरहेको बेयरसीट अप्रिल ४ गते चन्द्रमाको गुरुत्वबलको कब्जामा परेपछि चन्द्रमातर्फ उक्लन थालेको थियो । चन्द्रमाको सतहमा अवतरण गर्ने अन्तिम प्रयासका क्रममा बेयरसीट दुर्घटनास्थलबाट १७ किलोमिटरदेखि २०० किलोमिटरको चन्द्रमाको अन्डाकार कक्षमा सरेको थियो । चन्द्रमाको सतहमा अवतरण गर्ने प्रयासका क्रममा बेयरसीटले सतहभन्दा करीब २२ किलोमिटर  माथिबाट एउटा सेल्फी समेत खिच्न सफल भएको थियो ।

बेयरसीटको चन्द्रमाको उत्तरी ध्रुवमा रहेको मारे सरनीटाटिस क्षेत्रमा अवतरण गरिने योजना रहेको थियो । बेयरसिटले आफू अवतरण गरेको चन्द्रमाको सतहको फोटो खिचेर पठाउने तथा त्यहाँको चुम्बकीय क्षेत्रहरूको मापन गर्ने योजना रहेको थियो । वैज्ञानिकहरूका अनुसार यस क्षेत्रमा चुम्बकीय शक्तिले केही असाधारण व्यवहार गर्ने गर्छ । चन्द्रमा आफैंले चुम्बकीय क्षेत्र उत्पन्न नगरे पनि यसका सतहमा रहेका केही चट्टानहरूमा चुम्बकीय शक्ति रहेको छ । दुई वा तीन दिनसम्म संचालनमा आउने भनिएको बेयरसीटले आफूले अवतरण गरेको ठाउँ वरिपरीको गुरुत्वक्षेत्रको पनि मापन गर्ने जनाइएको थियो ।

तर अहिलेका लागि बेयरसीटको प्रमुख उद्देश्य भनेको कुनै विशेष वैज्ञानिक अनुसन्धान एवम् अन्वेषण गर्नुभन्दा पनि इजरायलको अन्तरिक्ष कार्यक्रमको विकासमा सहयोग गर्नु र नयाँ पिंढीलाई अन्तरिक्ष अध्ययनको क्षेत्रमा आकर्षित गर्नु रहेको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै