• २०८१ बैशाख ८ शनिबार

डिल्लीरमण पुस्तकालयमा सुनिए विभिन्न पुस्ताका दुई दर्जन कविहरू

kharibot

काठमाडौं ।  शुक्रबार काठमाडौंको डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयमा विभिन्न पुस्ताका २३ कविहरूको  कवितावाचन सम्पन्न भएको छ । स्रस्टा प्रतिष्ठान नेपाल(सप्रने) को आयोजनामा सम्पन्न विशेष कवि गोष्ठीमा प्रा.डा. व्रतराज आचार्यले वाचन गरिएका कविताबारे आफ्नो धारणा राखेका थिए  । 

विशेष कवि गोष्ठीमा कविहरू मञ्जु काँचुली, विष्णुविभु घिमिरे, विप्लव प्रतीक, एस.पी. कोइराला, अशेष मल्ल, विश्वविमोहन श्रेष्ठ, प्रभा भट्टराई, मातृका पोखरेल, विप्लव ढकाल, गीता त्रिपाठी, प्रल्हाद पोखरेल, अभय श्रेष्ठ, बाबु त्रिपाठी, बिना थिङ, असीम सागर, शिरिष, रसिक राज, अनुप जोशी, रिमा के.सी, नविन प्यासी, निशा रुम्बा, परिवर्तन देवकोटा र अश्विन समिपले आ-आफ्ना कविता वाचन गरेका थिए । 

कार्यक्रममा वाचित कविता माथि छाेटाे टिप्पणी राख्दै प्रा.डा. व्रतराज आचार्यले प्रत्येक पुस्ताका कवितामा आफ्नाे समय झल्केकाे र अग्रज पुस्ताले पनि आफूलाई अहिलेकाे परिवेश अनुसार ढालेकाे टिप्पणी गरे । त्यस्तै डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालयका अध्यक्ष डा.तुलसी भट्टराईले छाेटाे शुभकामना मन्तव्य राख्दै स्रष्टा प्रतिष्ठान नेपालले विभिन्न पुस्तालाई सम्मिश्रण गरेर गर्व गर्न लायक़ नेपाली कविताकाे क्षेत्रमा ऐतिहासिक कार्यक्रम गरेकाे बताए । उनले महत्वपूर्ण र आवश्यक कार्य गरेकाेमा सप्रनेलाई निरन्तरताकाे कामना सहित धन्यवाद दिए ।

आफ्नो कविता वाचन गर्नु अघि वरिष्ठ कवि मंजु काँचुलीले सधैं बाउ पुस्ता, काका पुस्तासँग कविता वाचन गरिरहेको आफूले अहिले भाइ पुस्ता, छोरा पुस्ता र नाति पुस्तासँग कविता वाचन गर्न पाउँदा खुसी लागेको बताइन्  । उनले भनिन्, 'नाति पुस्ता त झन् धेरै संवेदनशील र प्रयोगशील लाग्यो ।' 

खरीबोटसँग कुरा गर्दै कार्यक्रमकी सभापति तथा सप्रनेकी अध्यक्ष अमृता स्मृतिले भनिन्, 'अनुज र अग्रज पुस्ताका कविहरूलाई यसरी एकै ठाउँमा राखेर कविता सुन्दा अनुज कविहरूलाई लामो समयदेखि कविता लेख्दै आएका कविहरूबाट सिक्ने मौका मिल्छ र अग्रज कविहहरूलाई नयाँ पुस्ताका कविले कस्तो कविता लेख्दैछन् भन्ने ज्ञान हुन्छ ।' यसरी फरक फरक पुस्ताका कविहरूले एकै ठाउँमा कविता वाचन गर्दा समकालीन कविताको अनुहार पनि पाठकले एकै कार्यक्रमबाट थाहा पाउने उनले बताइन् । 

२०७० साल बैशाखमा स्थापना भएकाे स्रष्टा प्रतिष्ठान नेपालले नेपाली कला,साहित्य र भाषाकाे क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएकाे छ । ठूलो संख्यामा साहित्यप्रेमीहरूको उपस्थिति रहेको कार्यक्रमको संचालन सुस्मिता जिज्ञासुले गरेकी थिइन्  ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै