काठमाडौँ । आगामी बैशाख २० मा रिलिज हुने मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ को अफिसियल ट्रेलर रिलिज भएको छ ।
'भिजिट भिषामा' र 'दाल भात तरकारी' बोलको गीतका कारण चर्चामा रहेको फिल्मको ट्रेलर कमेडीले भरिएको छ । ट्रेलरमा विदेश जान मरिहत्ते गर्ने आम नेपालीको आम धारणालाई फिल्ममा विषय बनाइएको सजिलै बुझ्न सकिन्छ ।
फिल्ममा हरिबंश आचार्य, मदन कृष्ण श्रेष्ठ, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राईलगायतको प्रमुख भूमिका रहेओ छ ।
ट्रेलरमा अभिनेत्री प्रियंका कार्की भने एक सिनमा ठुम्का लगाउँदै देखिएकी छन् । फिल्मका सबै कलाकारलाई स्थान दिन खोज्दा ट्रेलर केही गन्जागोल जस्तो देखिन्छ ।
मह संचारको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्मको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । यो फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् ।
फिल्ममा यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ ।
मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । प्रविन सिंह र कविराज गहतराजको फिल्मका गीतमा कोरियोग्राफी छ ।