• २०८१ बैशाख ४ मंगलबार

भानुभक्तको गाउँमा गुञ्जियो कविता

kharibot

दमौली । ‘पर्यटनको लागि साहित्य, साहित्यको लागि पर्यटन’ मूल नाराका साथ गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले भानु नगरपालिका–४ चुँदीरम्घामा अन्तर्राष्ट्रिय कवि सम्मेलनको आयोजना गरेको छ । 

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँलाई विश्वमाझ परिचित गराउने उद्देश्यले आयोजना गरिएको सो कवि सम्मेलनमा विभिन्न देशबाट आएका कविले आआफ्नो कविता सुनाएका छन् ।

सम्मेलनमा चीनबाट आएका लि वाङ, म्यान्माबाट आउनुभएका अमित घिमिरे, भारतको सिलगुडीबाट आएका सुकराज दियाले, भारतको जयगाउँबाट आएका दुर्गा चाम्लिङ राई, अमेरिकाबाट आउनुभएका गोविन्द गिरी प्रेरणालगायतले आआफ्नो कविता सुनाएका थिए ।

कवि सम्मेलनमा नेपालका विभिन्न जिल्लाबाट भानुभक्तको जन्मगाउँ आइपुग्नुभएका राधेश्याम अधिकारी, हीरण्यकुमारी पाठक, सुभद्रा भट्टराई, बाला बस्नेतलगायतले आआफ्ना रचना सुनाए । 

पाँचौँ क्षेत्रप्रताप अधिकारी स्मृति दिवसको अवसर पारेर मञ्चले देश तथा विदेशका कविलाई एकै थलोमा सहभागी गराएर कविता वाचन  गर्ने अवसर जुराएको हो । मञ्चका अध्यक्ष आकाश अधिकारीका अनुसार कवि सम्मेलनमा देश तथा विदेशबाट गरी ६० जनाभन्दा बढी साहित्यकार सहभागी भएका छन् । 

उनले भने, “भानुभक्त आचार्यको व्यक्तित्व विश्वसामु परिचित गराउने, चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र भाषिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले कवि सम्मेलन आयोजना गरेका हौँ ।” 

तीन स्रष्टा सम्मानित

सोही अवसरमा क्षेत्रप्रताप स्मृति पुरस्कार काभ्रेका मोहन दुवाल, गीतल प्रभात युवा पुरस्कार पुरु लम्साल र गीतल प्रभात प्रतिभा पुरस्कार दुर्गा किरण तिवारीलाई प्रदान गरिएको छ । क्षेत्रप्रसाद स्मृति पुरस्कारको राशि रु १० हजार, गीतल प्रभात युवा पुरस्कारको राशि रु आठ हजार र गीत प्रभात प्रतिभा पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।

उनीहरुलाई सांसद कृष्णकुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, वरिष्ठ साहित्यकार तुलसी दिवसलगायतले सम्मान गरेका थिए । सोही अवसरमा श्रेष्ठले तनहुँका साहित्यकारका लेख रचना समेटिएको ‘गीतल गुञ्जन’ पुस्तकको विमोचन गरेका थिए ।  

पाहुनालाई भानुभूमिको माटो उपहार 

यसैबीच आयोजकले कार्यक्रममा सहभागी पाहुनालाई भानु भूमिको माटो उपहार प्रदान गरेको छ । भानुभक्त आचार्यको योगदान स्मरण गराउने उद्देश्यले भानुभक्तकालीन बिर्खे टोपी र भानुभक्तको जन्मघरको माटो उपहारका रुपमा प्रदान गरिएको मञ्चका अध्यक्ष अधिकारीले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुन आउनुभएका १५० भन्दा बढी पाहुनालाई भानुभूमिको माटो उपहारका रुपमा प्रदान गरिएको थियो । पाहुनालाई शुक्रबार भानुको जन्मस्थल नजिकैको रानागाउँ भालडाँडा घरबासमा बास बसाइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै