• २०८१ बैशाख ८ शनिबार

राष्ट्रपति भण्डारीबाट विभिन्न विभूषण प्रदान

kharibot

राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी) सम्मान ग्रहण गर्दै साहित्यकार झमककुमारी घिमिरे । तस्वीर : रत्न श्रेष्ठ, रासस

काठमाडौँ । सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा विभूषित गरेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा सुशोभित गरेकी हुन् । उक्त विभूषण पुष्पलालका छोरा उमेशलाल श्रेष्ठले ग्रहण गरेका थिए ।    

त्यस्तै राष्ट्रपतिले सङ्गीतज्ञ अम्बर गुरुङ (मरणोपरान्त) र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) मानपदवीद्वारा विभूषित गरेकी हुन् । 

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम श्रेणी) एवं साहित्यकार दिनेशहरि अधिकारी, गायक तथा अभिनेता हरिप्रसाद रिमाल (मरणोपरान्त) र इतिहासकार प्रा दिनेशराज पन्तलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय श्रेणी) पदकद्वारा विभूषित गरियो । 

विभिन्न क्षेत्रका ९६ जनालाई सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी), साहित्यकार झमककुमारी घिमिरेलाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी), विभिन्न क्षेत्रका १६२ लाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) र ७४ जनालाई जनसेवाश्री (पञ्चम श्रेणी) मानपदवीद्वारा विभूषित गरिएको थियो । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेबापत सरकारद्वारा गत वर्ष संविधान दिवसका दिन घोषणा गरिएका उहाँहरुलाई राष्ट्रपतिले आज सुशोभित गरेकी हुन् ।  

सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै