खार्तुम । तत्कालीन राष्ट्रपतिलाई पदच्यूत गरी सत्ता हातमा लिएका सुडानको अन्तरिम सैन्य परिषद्का कार्यवाहक अध्यक्ष र अमेरिकी प्रतिनिधिबीच छलफल भएको छ ।
सैन्य परिषद्का कार्यवाहक अध्यक्ष मोहमद हम्दान डाक्लुले आइतबार खार्तुमका लागि अमेरिकी प्रतिनिधि स्टेभन कौट्सीससँग राजधानी खार्तुममै भेटगरेका छन् ।
उनीहरूबीच सुडानमा उत्पन्न राजनीतिक सङ्कट, चर्कँदै गएको नागरिक आन्दोलन र अन्तर्राष्ट्रिय चासोलगायतका विषयमा छलफल भएको अधिकारीहरूले जनाएका छन् ।
“अन्तरिम सैन्य परिषद्का कार्यवाहक अध्यक्षले अमेरिकी कूटनीतिज्ञहरूसँग विकसित पछिल्लो देशको अवस्थाका बारेमा छलफल गरेका छन् । कार्यवाहक अध्यक्षले अन्तरिम सैन्य परिषद् गठन गर्नु पर्नाको कारण र भाबी योजनाका बारेमा पनि अमेरिकी प्रतिनिधिहरूलाई जानकारी गराएका छन्,” राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
उनले देशलाई स्थायीत्वमा लैजान र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनका लागि आफूहरूले अन्तरिम सैन्य परिषद् गठन गर्नुपरेको पनि जानकारी दिएका थिए ।
भेटका क्रममा अमेरिकी प्रतिनिधि कौट्सीसले सुडानी सैनिकले चालेको पछिल्लो कदम स्वागतयोग्य भएको भन्दै अमेरिकासँगको दुईपक्षीय सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएको वक्तव्यमा जनाइएको छ ।
सुडानमा ३० वर्षदेखि शासन गर्नुभएका तत्कालीन राष्ट्रपति ओमार अल बशिरलाई हटाएर सैन्य परिषद् गठन गरिएपछि नागरिक सरकार गठनको माग गर्दै प्रदर्शनहरू भइरहेका छन् ।
सुडानको विपक्षी गठबन्धनले अन्तरिम सैन्य परिषद्लाई अन्तरिम नागरिक सरकारमा रूपान्तरण गर्न माग गरेको छ ।
त्यसअघि ओमारलाई हटाउन माग गर्दै सैन्य मुख्यालय अगाडि लामो समयदेखि प्रदर्शन भइरहेको थियो ।
सन् १९८९ कु गरेर शासन गर्दै आउनु भएका ओमारलाई विगत चार महिनादेखि भएको रक्तपातपूर्ण आन्दोलनपछि सैन्य उच्चअधिकारीहरूले पदमुक्त गरिदिएका हुन् ।
सैन्य उच्च अधिकारीहरूले सैन्य परिषद् दुई वर्षका लागि परिषद् गठन गरिएको र त्यसपछि लोकतान्त्रिक प्रक्रियामार्फत नागरिक सरकार बनाइ सत्ता हस्तान्तरण गर्ने दाबी गरेका छन् ।