• २०८१ बैशाख १२ बुधबार

समीट एयर दुर्घटना छनबिन गर्न आयोग गठन 

kharibot

काठमाडौं । आइतबार बिहान लुक्लामा भएको समीट एयर दुर्घटनाको छानबिन गर्न सरकारले दुर्घटना जाँच आयोग गठन गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षमा चार सदस्यीय आयोग गठन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार छानबिन आयोगका सदस्यमा नेपाल वायुसेवा निगमका इन्जिनियर राजेश श्रेष्ठ, तारा एयरका क्याप्टेन रवीन्द्र डंगोल र सदस्य सचिवमा पर्यटन मन्त्रालयकै सहसचिव बुद्धिसागर लामिछाने रहेको छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिका–२ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको जहाज उड्ने क्रममा चिप्लिएर दुर्घटना हुँदा को–पाइलटसहित ३ जनाको मृत्यु भएको थियो ।

समिटको ९ एन एएमएच कलसाइनको १९ सिट क्षमताको एल ४१० नामक ट्विन इन्जिन जहाज आइतबार बिहान दुर्घटनामा परेको हो । जहाज दुर्घटनाबाट मनाङ एयरको हेलिकप्टरमा समेत क्षति पुगेको छ ।

दुर्घटनामा जहाजका को–पाइलट सुजित ढुंगाना लामा, पर्यटक प्रहरी निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको निधन भएको छ। 

कोपाइलट ढुंगाना र पर्यटन प्रहरी खड्काको घटनास्थलमै ज्यान गएको हो भने श्रेष्ठको काठमाडौंस्थित बीएन्डबी हस्पिटलमा उपचार क्रममा ज्यान गएको हो ।

दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते हुनेमा समिट एयरका पाइलट रविनाथ रोकाय, मनाङ एयरका पाइलट चेतबहादुर गुरुङ, मनाङ एयरका लुक्ला इन्चार्ज लाक्पाछिरी शेर्पा र कामदार स्याङबुचे कार्की रहेका छन् ।

रामेछाप विमानस्थलबाट यात्रु लिएर लुक्ला पुगेको उक्त जहाज यात्रु ओरालेर फर्कने क्रममा थियो । लुक्लाबाट पुनः यात्रु लिन रामेछाप फर्कने क्रममा जहाज धावनमार्गबाट दाहिनेतर्फ मोडिएर पार्किङ गरिराखेको हेलिकप्टरमा ठोक्किँदा दुर्घटना भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै