• २०८१ बैशाख ७ शुक्रबार

करको दायरा बढाएर राजस्वमा गुणात्मक वृद्धि गर्नुपर्छ : मन्त्री खतिवडा

kharibot

चितवन । अर्थमन्त्री डा युवराज खतिवडाले करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका छन् । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई आज यहाँ निर्देशन दिँदै मन्त्री खतिवडाले सङ्ख्या मात्रै भन्दा राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका हुन् ।    

करमा दर्ता मात्रै हुने तर राजश्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उनले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिए । आर्थिक ऐन २०७५ ले गरेका व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्न पनि उनले निर्देशन दिए । आर्थिक ऐनले समय सीमा तोकेर विभिन्न क्षेत्रमा छुटको व्यवस्था गरेको थियो ।    

मन्त्री खतिवडाले आगामी बजेटमा कर प्रणालीमा सुधार गर्नुपर्ने केही देखिएमा सुझाव पठाउन पनि निर्देशन दिए । यस कार्यालयले चितवन र नवलपुर जिल्लाका धेरै मदिरा एवं बियर उद्योग हेर्ने भन्दै उनले अन्तः शुल्क सङ्कलनमा चुस्त–दुरुस्त ढङ्गले काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको कार्यालय प्रमुख शुवप्रसाद रिजालले बताए ।    

सोही अवसरमा राजश्व सचिव लालशङ्कर घिमिरेले बजार अनुगमनमा कडाइ गर्दै बिल नकाट्ने, कम मूल्यको बिल काट्ने जस्ता गतिविधि भए तत्काल रोक्न निर्देशन दिएका थिए । निर्देशन पालना गर्दै लक्ष्य प्राप्तिमा भएका कमजोरीलाई हटाउँदै आगामी दिनमा बाँकी लक्ष्य प्राप्तिका लागि कार्य सम्पादनमा अझ प्रभावकारिता ल्याउने प्रतिबद्धता व्यक्त गरे ।    

आन्तरिक राजश्व कार्यालयमा ५१ हजार करदाता छन् । चालू आर्थिक वर्षको चैतसम्ममा रु २० अर्ब राजश्व सङ्कलन भइसकेको उनले बताए । यस आर्थिक वर्षमा रु ३० अर्ब राजश्व उठाउने लक्ष्य सो कार्यालयको रहेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै