• २०८१ बैशाख ७ शुक्रबार

सशस्त्र प्रहरी मुलुकको शान्तिसुरक्षामा प्रतिबद्ध : महानिरीक्षक खनाल

kharibot

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न शान्तिसुरक्षाको क्षेत्रमा प्रतिबद्ध भएर लागेको बताएको छ । सशस्त्र प्रहरी बलले आज पत्रकार सम्मेलन गरी मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य गरेर काम गरिरहेको बताएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मुलुक र जनताका लागि सीमा सुरक्षालाई सुदृढ बनाउँदै लगिएको बताए । “‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न सशस्त्र प्रहरीले खेल्नुपर्ने भूमिका खेलिरहेको छ,” महानिरीक्षक खनालले भने ।

महानिरीक्षक खनालले सशस्त्र प्रहरीले आफ्ना सबै युनिटमा मदिरा तथा सुर्तीजन्य पदार्थ किनबेचमा निषेध गरेको बताए । उनले सशस्त्र प्रहरीको सङ्गठनलाई चुस्त तथा दुरुस्त बनाउन ३० वटा कार्यविधि बनाएर काम गरिरहेको बताउँदै ऐन र कानूनअनुसार नियुक्ति तथा पदोन्नति गरिएको उल्लेख गरे । 

विपद् व्यवस्थापन र सीमा सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरीले कटिबद्ध भएर काम गरेको उहाँको भनाइ छ । सशस्त्र प्रहरी ऐन, २०५५ लाई समयअनुसार संशोधन तथा परिमार्जन गर्दै अगाडि बढिरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बलले देशभरका जुनसुकै भूभागमा हुने सुरक्षा चुनौतीलाई सामना गर्न सबै जिल्लामा आफ्नो सङ्गठनसमेत विस्तार गर्दै लगेको छ । “५६ जिल्लामा स्थायी कार्यालय रहनेगरी ७७ वटै जिल्लामा सङ्गठन विस्तार गरिसकेका छौँ,” महानिरीक्षक खनालले भने ।

सशस्त्र प्रहरीले आफ्नो सङ्गठनलाई व्यापकता दिन ११ शिक्षालय स्थापना, ३६ गण निर्माण र १५ हजार जनशक्ति तराईका विभिन्न जिल्लामा खटाएको जनाएको छ । यस्तै सशस्त्रमा भर्ना हुने जवानलाई आवश्यक पाठ्यक्रमसमेत परिमार्जन गर्दै लगिएको महानिरीक्षक खनालको भनाइ छ ।

गृह प्रशासन सुधार कार्ययोजनाअनुसार काम गर्दै आएको सशस्त्र प्रहरी बलले हरेक वर्षको भदौ ६ लाई महानिरीक्षक रक्तदान कार्यक्रमका रुपमा समेत मनाउँदै आएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ खटिएका  प्रहरी कर्मचारीबाट कटौती हुँदै आएको १५० डलरलाई कटौती नगर्ने निर्णय गरेको महानिरीक्षक खनालले बताए । सशस्त्र प्रहरीले २०७५ सालमा मात्र ५४८ प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिएको समेत जनाएको छ ।

सशस्त्र प्रहरीले विसं २०७५ मा मात्र विभिन्न खेलबाट २३६ पदक प्राप्त गरेको छ । यस्तै बिनाधितो २५० प्रहरी कर्मचारीलाई ऋण उपलब्ध गराउँदै आएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

विसं २०७५ देखि सशस्त्र प्रहरी अस्पतालमा आइसियु कक्ष स्थापना गरेर बिरामी प्रहरी कर्मचारीलाई सेवा दिन शुरु गरेको सशस्त्र प्रहरीले आगामी दिनमा सातै प्रदेशमा अस्पताल लैजाने बताएको छ । सप्तरीमा भने तत्काल अस्पताल निर्माण गर्न प्रक्रिया अगाडि बढिसकेको छ ।

सशस्त्र प्रहरीले आर्थिक पारदर्शितालाई समेत मध्यनजर गरी शून्य सहनशीलताको नीतिलाई अगाडि बढाएको छ । सशस्त्रले चालू आवमा ४३.७७ प्रतिशत बेरुजु फछ्र्याैट गरिसकेको छ । सशस्त्रले २०७२ साल वैैशाख १२ गते गएको भूकम्पले क्षति पुगेका २८ युनिटमध्ये रु ४२ करोड ७२ लाखमा २५ युनिट पुनर्निर्माण गरिसकेको छ ।

सशस्त्रले उत्तरी तथा दक्षिणी सीमा सुरक्षाका लागि नेपाल–भारत सीमा बैठक ६० पटक र नेपाल–चीन सीमा बैठक १२ पटक बसिसकेको जनाएको छ । विस २०७५ मा मात्र मानव बेचबिखनमा ३० व्यक्तिलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले विभिन्न क्षेत्रमा हुने चोरी–पैठारीबाट रु ३३ करोड ७० लाख राजश्व उठाएको छ । यस्तै सीमा नाका सुरक्षाका लागि सीमा नाकामा १६९ हेल्प डेस्क स्थापना गरी सेवा प्रदान गरिएको महानिरीक्षक खनालले बताए ।

सशस्त्र प्रहरीले आफ्नो सङ्गठनका बारेमा आम जनतालाई जानकारी दिन ‘मोबाइल एप्स’समेत सञ्चालनमा ल्याएको र उक्त एप्स आजैबाट सञ्चालनमा आउने महानिरीक्षक खनालले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै