• २०८१ बैशाख १२ बुधबार

ओमान ७९ रनमा अलआउट, नेपालको फराकिलो जित 

kharibot

काठमाडौँ । यू-१९ विश्वकप क्रिकेटको एशिया स्तरको छनौट अन्तर्गत आज नेपाली युवा टिमले ओमानलाई पराजित गरेको छ ।

नेपालले दिएको २३० रनको लक्ष्य पछाएको ओमान ४४.१ ओभरमा ७९ रन बनाएर अलआउट भएपछि नेपालले खेल १५० रनले जितेको हो । 

ओमानका लागि जील तन्ना र अम्रप्रित सिराहले सर्वाधिक १३-१३ रन बनाए बहने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

ओमानलाई अलआउट गर्नेक्रममा पवन सराफले ३ विकेट लिएका थिए । त्यस्तै सुर्य तामाङ र प्रतिस जिसीले २-२ विकेट लिए भने कुशल मल्ल, कमलसिंह ऐरी र भीम सार्कीले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाली टिमले ओमानलाई २३० रनको लक्ष्य दिएको छ । नेपाल ४३.२ ओभरमा अलआउट हुदै २२९ रनमा समेटिएको थियो ।

नेपालको इनिंगमा पुछारका ब्याट्सम्यान प्रतिस जिसीले तुफानी ब्याटिंग गरेपछि नेपालले ओमानलाई सम्मानजनक लक्ष्य दिन सफल भएको हो । प्रतिसले तुफानी ब्याटिंग गर्दै २३ बलमा ४१ रन बनाएका थिए । जिसीले आफ्नो पारीमा ४ छक्का र २ चौका प्रहार गरेका थिए । १०औं विकेटका लागि प्रतिस र सुर्य तामाङले ५१ रनको साझेदारी गरेका थिए । तामाङले ७ रन बनाएर जिसीलाई साथ दिएका थिए ।  

त्यस्तै कप्तान रोहित पौडेलले सर्वाधिक ७५ रन बनाए । रोहितले ८१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाएका हुन् । त्यस्तै भीम सार्कीले ३९ रन बनाए ।

त्यसैगरी अभिषेक बस्नेतले १५, रीत गौतमले १० रन बनाए । अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन । पवन सराफ ५, सन्दीप जोरा ४, हरिबहादुर चौहान २, कुशल मल्ल २, कमलसिंह ऐरीले १ रन बनाएर आउट भए ।

ओमानका बलर संजय रविन्द्र, जील तन्ना, मुजाहिर राजा र अजाम अलीएल २-२ विकेट लिए भने यश मेहता, र प्रथमेश कुम्बले एक एक विकेट लिए ।

प्रतियोगितामा नेपालले अहिलेसम्म खेलेका ४ मध्ये ३ खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको छ । त्यस्तै ओमान ४ खेलमा एक खेलमा जित र ३ खेलमा पराजित भएको छ ।

यस प्रतियोगिताको विजयी टिम सिधै एशियाबाट सन् २०२० को जनवरी फेब्रुअरीमा दक्षिण अफ्रीकामा हुने यू-१९ विश्वकप क्रिकेटमा छनौट हुने छ ।

प्रतियोगिता अन्तर्गत नेपालले अब छनौट खेलको अन्तिम तथा पाँचौ खेल अप्रिल १८ मा कुवेतविरुद्ध खेल्ने छ ।

मलेसियामा हुने एशिया स्तरको यू-१९ विश्वकप छनौट खेलका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिम खेलिरहेको छ ।

त्यस्तै टिमको प्रमुख कोचमा बिनोद कुमार दास रहेका छन् भने बिक्रम न्यौपाने फिजियो तथा टिम म्यानेजर तथा एनालिष्ट रमन शिवाकोटी रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै