• २०८१ बैशाख ७ शुक्रबार

एचआइभीले दिएको पीडा

kharibot

डोटी /  दीपायल सिलगढी नगरपालिकाका १८ वर्षीय रामबहादुर (नाम परिर्वतन) काम खोज्न साथीभाइसँगै छिमेकी मुलुक भारतको मुम्बै शहर पुगे। यो २०५१ सालतिरको कुरो हो । विपन्न परिवारका उनी केही वर्ष काम गरेर घर फर्किए र यहीँ घरजम गर्न थाले । केही समयपछि फेरि मुम्बैतिरै हानिए । बेलामौकामा घर फर्किदै गरेका उनी केही वर्ष मुम्बैमै बसे । भर्खरै बिहेवारी भएका उहाँ घरको याद भुलाउने बहानामा अपरिचित नारीसँग पटक पटक असुरक्षित यौन सम्पर्क गर्न थाले । कुनबेला एचआइभीले गाँजिसक्यो पत्तै भएन ।

मुम्बैमा सङ्क्रमित भएर घर फर्किनुभएका रामबहादुरले पत्नी सबिना (नाम परिवर्तन) लाई पनि यो महारोग सार्याे। गाउँमा हिँड्दै डुल्दै गरेकी सबिनाले आफूमा एचआइभी सङ्क्रमण हुनसक्छ भन्ने कल्पना समेत गरेकी थिएनन । दुई वर्ष पहिला घर्किदो उमेर र बिग्रँदो स्वास्थ्य लिएर उपचार गराउन जिल्ला अस्पताल डोटीमा पुग्नु भएकी सबिना आफू यो रोगले गाँजिसकेको थाहा पाएपछि छाँगाबाट खसेजस्तै भइन ।

सबिनाले रामबहादुरलाई पनि जिल्ला अस्पताल डोटीमै एचआइभी जाँच गर्न सल्लाह दिए पनि उनी कैलालीको सेती अञ्चल अस्पताल गए । जाँचबाट रामबहादुर मात्र होइन २२ वर्षीय छोरा शुभम, आठ वर्षीया छोरी रन्तीतामा पनि एचआइभी पोजेटिभ देखियो । रामबहादुरका पाँच सदस्यीय परिवारमा चार जना सङ्क्रमित रहेपछि परिवारमा निराशा छायो । बाँकी घरमा रहेकी बुहारी लालीलाई जिल्ला अस्पतालमा जाँच गर्न पठायो । उहाँ पनि सङ्क्रमित भएको रहेछ । जिल्लामा एचआइभी सङ्क्रमण विशेष गरी कामको सिलसिलामा भारत जानेहरुमा बढी पाइएको र उनीहरु मार्फत बच्चा र श्रीमतीलाई समेत सर्ने गरेको स्वास्थ्यकर्मीहरुको दाबी छ ।

रामबहादुरको सिङ्गै परिवार एचआइभी सङ्क्रमित भएको भए पनि एआरटी परामर्श केन्द्रको सम्पर्कमा हाल नरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका एआरटी काउन्सिलर केपी रेग्मीले बताए । उनले भलभ – “डोटी जिल्लामा सङ्क्रमित हुनेमा विवाहित जोडीहरु नै बढी छन् तर, तिनीहरु सम्पर्कमै आउँदैनन् ।” जिल्ला अस्पताल डोटीको पछिल्लो तथ्याङ्क अनुसार जिल्लाभरिमा कुल ९८० जना एचआइभी÷एड्सबाट प्रभावित रहेका छन् । उक्त रोगबाट कम्तीमा पनि १०० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

कुल सङ्क्रमितमध्ये पुरुष ५७० र महिला ३६० महिला रहेका छन् । बाँकी चौध वर्षमुनिका बालबालिका छन् । डोटीमा एचआइभी÷एड्सबाट बढी प्रभावित हुने साबिकका १३ गाविस र एक नगरपालिका रहेको एचआइभी÷एड्सको क्षेत्रमा काम गर्ने संस्थाहरुले जनाएका छन् । अहिलेसम्म एचआइभी÷एड्सका कारण मृत्यु हुने १०१ जनामा ६६ जना पुरुष र ३५ जना महिला छन् । सङ्क्रमित भइसके पछि उपचारमा लापर्वाही गर्ने गरेकाले पुरुषहरुको मृत्यु दर बढेको एआरटी काउन्सिलर रेग्मीले बताए । उनले भलभ  – “महिलाहरु समय मै उपचार गर्छन् । त्यसैले मृत्युदर पनि कम छ तर, पुरुषहरु खास वास्ता गर्दैनन् । मृत्यु हुनेमा पनि पुरुषको सङ्ख्या नै धेरै छ ।” रोग प्रतिरक्षा प्रणाली अत्यन्त न्यून भइसकेको अवस्थामा अधिकाँश पुरुषहरु अस्पताल आउने गरेको काउन्सिलर रेग्मीको अनुभव छ ।

एचआइभी प्रभावित व्यक्तिहरुमध्ये हाल जिल्ला अस्पतालको एआरटी शाखाबाट ५१८ जनाले एआरटी प्रयोग गरिरहेका छन् । एचआइभी÷ एड्स सङ्क्रमित (प्रभावित) सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमध्ये डोटी तेस्रो स्थानमा आउँछ । सुदूरपश्चिमको सबैभन्दा प्रभावित भई एआरटी औषधि प्रयोग गर्ने जिल्लामा कैलाली पर्दछ भने दोस्रोमा अछाम पर्दछ । एचआइभी÷एड्सबाट प्रभावित व्यक्तिहरुले अहिलेसम्म जिल्ला अस्पतालबाट मात्र एआरटी सेवा प्रयोग गरिरहेका छन् । आगामी दिन जिल्लाका अन्य गाउँपालिकाका स्वास्थ्य चौकीबाट समेत एआरटी औषधि वितरण कार्य हुने जिल्ला अस्पताल डोटीका डा भूषण मिश्रले बताए ।

उनले भलभ – “जिल्लामा मात्रै एआरटी शाखा भएकाले सङ्क्रमित आउन थालेका छैनन् । अब हामी जिल्लाका सबै स्वास्थ्य चौकीबाट नै एआरटी खाने व्यवस्था मिलाउँदै छौँ ।” एचआइभी सङ्क्रमित भई भारतबाट घर फर्केकाहरुसमेत उपचारपछि पुनः काम गर्न भारत जाने गर्न थालेका छन् । केही एचआइभी सङ्क्रमित एकल महिला विभिन्न संस्थाले आयोजना गरेको महिला लक्ष्यित कार्यक्रममा तालीम लिएर आयमूलक व्यवसायमा सक्रिय हुन थालेका छन् भने केही समाजको डरले गाउँघरमै रोग लुकाएर बसिरहेका छन् ।

समग्रमा सुदूरपश्चिम प्रदेशमा छ हजार ७२४ जनामा एचआइभी सङ्क्रमित रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायल राजपुरका जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म सुदूरपश्चिम क्षेत्रभर तीन हजार ७६ जनाले एआरटी सेवन गरिरहेका छन् । “आर्थिक वर्ष २०७४÷७५ सम्मको तथ्याङ्क हेर्दा सुदूरपश्चिम प्रदेशमा ६७६ जनाले एचआइभी÷एड्सबाट ज्यान गुमाइसकेका छन,” जनस्वास्थ्य अधिकृत मलासीले भने – “यो प्रदेशमा गएको आर्थिक वर्षमा मात्रै २४७ जना नयाँ सङ्क्रमित देखिएका छन् ।

वर्षेनी एचआइभी रोगीहरु बढिरहेका छन् ।” सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरका अनुसार एचआइभी परीक्षण तथा परामर्श केन्द्र प्रदेशका २० स्थानमा स्थापना भएका छन् । एआरटी सेवन गर्नेहरुले प्रदेशका १४ स्थानबाट सेवा प्राप्त गरिरहेका छन् । स्थानीय सरकारले सुदूरपश्चिम प्रदेशका एचआइभी सङ्क्रमितहरुलाई सहयोग गर्न नसकेको सङ्क्रमितहरुले गुनासो गरेका छन् । एचआइभी सङ्क्रमित कमला मल्लले डोटी जिल्लामा पछिल्लो समयमा खुलेर आउने एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दो भए पनि स्थानीय सरकारले कुनै ठाउँमा पनि खासै गतिलो सहयोग गरेको नदेखिएको आरोप लगाए  ।

स्थानीय सरकारसँग सहयोगको प्रस्ताव लिएर जाँदा डलरको खेती गर्न सक्ने भन्ने ओठे जवाफ पाएको उनले सुनाए । “हामी त सङ्क्रमित भईसकेका छौं अब हाम्रो लागि नभए पनि हाम्रा छोराछोरीको भविष्यका लागि भए पनि स्थानीय सरकारले सोच्नुपर्छ,” उनले भने – “सरकारले सङ्क्रमितलाई बचाउन विशेष कार्यक्रम ल्याउनु पर्छ ।” यति मात्र नभई डोटीमा कतिपय एचआइभी सङ्क्रमित एकल महिलालाई आफू र बालबच्चा कसरी हुर्काउने भन्ने ठूलो चिन्ता छ । यहाँका एचआइभी सङ्क्रमित महिलालाई साँझ बिहान हातमुख जोड्न पनि धौ धौ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै