• २०८१ बैशाख ८ शनिबार

विकेन्डमा ‘ए मेरो हजुर-३’ र ‘यात्रा’ को सुखद कलेक्सन 

kharibot

काठमाडौँ । नयाँ वर्ष २०७६ को अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएका दुई फिल्मले राम्रो विकेन्ड कलेक्सन गर्न सफल भएका छन् ।

अनमोल स्टारार ‘ए मेरो हजुर-३’ र सलिनमान बानियाँ स्टारार ‘यात्रा’ ले पहिलो विकेन्डमा दर्शकले राम्रो साथ दिएका छन् ।

फिल्म यात्राले रिलिजको सुरुको तीन दिनमा डेढ करोडमाथि व्यापार गरेको निर्माता तथा वितरक शुशील पोखरेलले जानकारी दिएका छन् । 

यात्राले प्रदर्शनको पहिलो दिन शुक्रबार राजधानीमा २५ लाख र मोफसल २० लाख व्यापार गरेको थियो भने दोस्रो दिन शनिबार राजधानीमा ३० लाख र मोफसलमा २५ कमाउन सफल भएको छ । यस्तै, तेस्रो दिन आइतबार यस फिल्मले राजधानीमा ४० लाख कलेक्सन गर्दा मोफसलमा ३५ लाखको कलेक्सन गरेको निर्माता पोखरेलको भनाई छ । यसरी हेर्दा यात्रा फिल्मले तीन दिनमा ग्रस १ करोड ७५ लाख कलेक्सन गरेको छ । 

त्यस्तै ए मेरो हजुरले रिलिजको चार दिनमा ४ करोड एक लाख ग्रस कलेक्सन गरेको छ । फिल्मले रिलिजको पहिलो दिन शुक्रवार ७५ लाख कलेक्सन गरेको थियो भने शनिवार १ करोड १४ लाख कलेक्सन गरेको थियो । वितरक मनोज राठीका अनुसार रिलिजको तेस्रो दिन आइतवार फिल्मले १ करोड ५० लाख कलेक्सन गरेको छ । विकेन्डको कलेक्सन हेर्दा यस फिल्मले ३ करोड ३९ लाख ग्रस कलेक्सन गरेको छ । त्यसैगरी सोमबारको कलेक्सनलाई जोड्ने हो भने फिल्मले रिलिजको चार दिनमा ४ करोड एक लाखको ग्रस कलेक्सन गरेको हो

दुवै फिल्मको सुरुवाती कलेक्सन हेर्दा यात्रालाई अनमोलको ए मेरो हजुर-३ ले पछाडी पारेको छ । यस फिल्ममा अभिनेता अनमोल केसीको साथमा अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले देभ्यु गरेकी छन् ।

ए मेरो हजुर-३ को यो कलेक्सन व्यापार गत वर्ष प्रदर्शनमा आएको फिल्म 'छक्का पञ्जा ३' पछिकै धेरै हो । दर्शक प्रतिक्रिया राम्रो भएका कारण फिल्म लामो समयसम्म हलमा टिक्ने सक्ने वितरक तथा निर्माताहरुको विश्वास रहेको छ ।

त्यस्तै विकेन्ड कलेक्सनमा पछाडी परेको यात्रा करिब तीन करोडको लगानीमा निर्माण भएको फिल्म हो । त्यसैले पनि यस फिल्मले लगानी उठाउन अझै धेरै कलेक्सन गर्नुपर्ने देखिन्छ । फिल्मले डिजिटल अधिकार र विदेशमा गरिने प्रदर्शनबाट आउने पैसामा लगानी उठाउन भरपर्नुपर्ने देखिएको छ ।

सम्राट शाक्य निर्देशित यात्रामा मलिका महत, सलोन बस्नेत, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा, राजाराम पौडेल, धिरेन शाक्य, नानीकाजी डंगोल, विन्दा खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै