• २०८१ बैशाख १२ बुधबार

उदयपुरमा हावाहुरी र चट्याङका कारण एकको मृत्यु

kharibot

उदयपुर । गएराति रातभरि आएको भीषण हावाहुरी र चट्याङको कारण उदयपुर जिल्लाको कटारी नगरपालिका–८ बबलामा एकजनाको मृत्यु भएको छ, भने विभिन्न स्थानमा फल लाग्दै गरेको लिची र आँपमा करोडौँको क्षति भएको छ ।

रातको १० बजेदेखि १२ बजेसम्म दुई घण्टा आएको भीषण हावाहुरी र चट्याङका कारण कटारी नगरपालिका–८ बबलमा ३५ वर्षीया कालीमाया आले मगरको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

मगरको घरमा नै बसिरहेको अवस्थामा हावाहुरीसँगै आएको चट्याङका कारण मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख(एसपी)  चन्द्रदेव राईले बताए ।

घटनास्थलतर्फ अहिले प्रहरी जाँदै छन् । मगरको शव परीक्षणको लागि कटारी अस्पताल लगिने पनि प्रहरी प्रमुख राईले बताए । हावाहुरीका कारण जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डी तथा बेलकाका विभिन्न स्थानमा फल लाग्दै गरेको लिची र आँपमा  करोडौँको क्षति भएको स्थानीयवासीले बताएका छन् ।

हावाहुरीका कारण चौदण्डी नगरपालिकाको हँडिया, सुन्दरपुर तथा बेलका नगरपालिकाको तपेश्वरी भागलपुर क्षेत्रमा लिची तथा आँपका फल खसालेको चौदण्डी नगरपालिका–३ हँडियाका सुरेश चौधरीले बताएका छन् ।

यता त्रियुगा नगरपालिका–१ को जोगिदह तथा खैजनपुर क्षेत्रमा पनि फल लाग्दै गरेको लिची र आँपमा ठूलो क्षति पुगेको स्थानीयवासी पुलकित चौधरीले बताउनुभयो । हावाहुरीका कारण झण्डै ४० प्रतिशत आँप र लिचीमा क्षति पुगेको चौधरीले बताए ।

कटारी नगरपालिकाको रिस्कु क्षेत्रमा पनि हावाहुरीले आँपमा क्षति पुगेको रिस्कुका मानबहादुर दनुवारले बताए । हावाहुरीले गएराति उदयपुरको त्रियुगा नगरपालिका गाईघाटको बसपार्क मोतिगडा क्षेत्र खैजनपुर क्षेत्रमा खरका छाना भएका घरको छानो समेत उडाइदिएको छ भने कतिपय स्थानीयवासीको टिनको छानोसमेत उडाएर क्षति पुर्याएको प्रहरी तथा स्थानीयवासीले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै