• २०८१ बैशाख ६ बिहीबार

इजिप्टका राष्ट्रपतिको शासन लम्ब्याउन संसदमा मतदान

kharibot

इजिप्ट । इजिप्टको संसदले राष्ट्रपति अब्देल फताह अल–सिसीको शासनकाल सन् २०३० सम्म लम्ब्याउन सक्ने गरी संविधान संशोधन प्रस्ताव पारित गरेको छ ।

राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार, संसदले देशको सेनालाई मुलुकको राजनीतिक मामिलामा प्रवेश गराउने तथा न्यायपालिकामाथि राष्ट्रपतिले बढी नियन्त्रण गर्न पाउने प्रावधान समेत पारित गरेको छ । राष्ट्रपति सिसी देशको सैनिक नेतृत्वबाट राजनीतिमा प्रवेश गरेका हुन् ।

संसदले पारित गरेको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई जनमतसङ्ग्रह मार्फत अनुमोदन गरिनेछ । तर जनमतसङ्ग्रहको मिति भने घोषणा गरिएको छैन ।

वर्तमान संवैधानिक व्यवस्था अनुसार सन् २०१८ मा निर्वाचित भएका राष्ट्रपति अल–सिसीको कार्यकाल निर्वाचित भएको मितिबाट छ वर्षमा सकिनेछ । संविधान संशोधन भएपछि उनी अर्को छ वर्षे कार्यकालका लागि पुनः निर्वाचित हुन सक्नेछन् ।

सभामुख अलि अब्देल आलले संविधान संशोधनको पक्षमा ५३१ तथा विपक्षमा २२ मत परेको जानकारी दिए ।

राष्ट्रपति सिसीले सन् २०१३ मा जननिर्वाचित राष्ट्रपति मोहमद मोर्सीलाई सैनिक बलमा पदच्यूत गरी राष्ट्रपति बनेका थिए ।

सिसी सन् २०१४ को राष्ट्रपति निर्वाचनमा विजयी भएका थिए भने सन् २०१८ को मार्चमा सम्पन्न निर्वाचनमा पनि ९७ प्रतिशतभन्दा बढी मत पाएर विजयी भएका थिए । विपक्षी राजनीतिक व्यक्तिहरुमाथि दमन गरेको आरोप राष्ट्रपति सिसीमाथि लाग्ने गरेको छ ।

सांसदहरुले राष्ट्रपति सिसीले जतिसक्दो चाँडो राजनीतिक, आर्थिक तथा सुरक्षाका विषयमा महत्वपूर्ण सुधारका कार्यहरु गर्ने अपेक्षा राखेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै