• २०८१ बैशाख १३ बिहीबार

एकदिवसीय क्रिकेट वरियतामा नेपालको सुधार, युएईलाई उछिन्यो  

kharibot

काठमाडौँ । आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल माथि उक्लेको छ ।

गत जनवरीमा युएईसँग खेलेको एकदिवसीय सिरिज २-१ ले जितेपछि नेपाली क्रिकेट टिम आईसीसी वरियतामा १५ औं स्थानमा रहेको थियो । आईसीसीले जारि गरेको ताजा वरियतामा नेपाली क्रिकेट टिम एकदिवसीयतर्फ एक स्थान सुधार गर्दै १४औं स्थानमा रहेको छ ।

युएई सिरिज पछि कुनै खेल नखेलेको नेपालको वरियता बढ्नुमा हालै युएईको एकदिवसीय खेलमा खराब प्रदर्शनका कारण नेपाललाई फाइदा भएको हो । मंगलबार जिम्बाबेसँग सम्पन्न ४ एकदिवसीयको सिरिजमा युएई ४-० ले पराजित भएपछि नेपालको वरियतामा एक स्थानको सुधार भएको हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको छ जसमध्ये ३ मा खेलमा जित र ३ वटामा हार बेहोरेको छ । नेपालले अहिलेसम्म नेदरल्याण्डसँग २ खेलमा १ जित १ हार बेहोरेको छ भने युएईसँग कुल ४ खेलमा २ जित र २ हार बेहोरेको छ ।

नेपालले गत जनवरीमा युएईसँग खेलेको एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय सिरिजमा जित हासिल गरेको थियो ।

वरियतामा १४औं स्थानमा रहेको नेपालको १५२ अंक रहेको छ भने १५ रेटिंग अंक प्राप्त गरेको छ । त्यस्तै १५औं स्थानमा रहेको युएईको २६७ अंक रहेको छ भने १४ रेटिंग अंक रहेको छ । १६औं स्थानमा रहेको नेदरल्याण्डको ५० अंक र ८ रेटिंग रहेको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा शिर्ष स्थानमा इङल्याण्ड रहेको छ भने दोश्रो भारत, तेश्रो न्युजिल्याण्ड, चौथो दक्षिण अफ्रीका, पाँचौमा अस्ट्रेलिया रहेको छ। यस्तै पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्टइन्डिज, अफगानिस्तान, जिम्बाबे, आयरल्याण्ड, स्कटल्याण्ड क्रमश छैठौं देखि १३ औं स्थानमा रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै