• २०८१ बैशाख ७ शुक्रबार

स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्ने गुरुयोजना सार्वजनिक

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दुई सम्पदा स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्न गुरुयोजना सार्वजनिक गरेको छ । विश्वसम्पदा दिवस २०७६ का अवसरमा पारेर आज कामपाले उक्त गुरुयोजना सार्वजनिक गरेको हो । 

गुरुयोजनामा हनुमानढोकादेखि स्वयम्भू जोड्ने पदयात्राले हिन्दूशैली र परम्परालाई बुझ्नका लागि पदयात्राको प्रवद्र्धन गरिएको कामपाले जनाएको छ । 

यी दुई सम्पदाबीचको दूरी २ दशमलव २ किलोमिटरको दुरीमा रहेपनि अवलोक स्थान गुम्बा, मन्दिर, ढुङ्गेधारा, पाटी प्रशस्तै रहेकाले यस स्थानलाई तय गरिएको हो । सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ शहरलाई निरन्तररुपमा सम्पदाको शहरका रुपमा जीवन्त राख्नका लागि गुरुयोजनाले ठूलो सहयोग पुग्ने बताए । 

“स्वयम्भू  र हनुमानढोका दरबार क्षेत्र आफैँमा महत्वपूर्ण स्थान हुन् । यहाँ आन्तरिक र बाह्य पर्यटकको आकर्षणस्थल बनाउन पनि आवश्यक छ”, शाक्यले भने । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार गुरुयोजना कार्यान्वयनबाट स्थानीय नेवारी परम्परा संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै पर्यटन प्रवद्र्धनबाट सामाजिक, आर्थिक विकासका अवसर सिर्जना हुने अपेक्षा महानगरको रहेको छ । उक्त पदयात्रामा कामपाको १५, १८, १९, २०, २३ र २४ वडा पर्दछन् । 

गुरुयोजनामा संस्कृति तथा रीतिलाई पर्यटकीय व्यवस्थापनसँग जोडेर स्थानीय जीविकोपार्जन सुधार गर्ने र मूर्त तथा अमूर्त सांस्कृतिक पक्षको पुस्तान्तरण गर्ने कार्यलाई लक्ष्य बनाइएको जानकारी गराइएको छ । गुरुयोजनाले संस्कृतिको पहिचान, अभिलेखीकरण र संरक्षण गर्नु प्राथमिकरुपमा अघि सारेको छ । समितिका संयोजक एवं वडा नं १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले स्वयम्भू र हनुमानढोका बीचमा अवलोकनयोग्य प्रशस्त संरचना रहेको र पैदल हिँडेर पनि सम्पदाको अवलोकन गर्न सकिने भएकाले यी स्थान तय गरिएको जानकारी दिए ।  

अवलोकन गरिने सम्पदा 

सम्पदा पदयात्रा दूरीभित्र रहेका करीब २० महत्वपूर्ण सम्पदा स्थलको अवलोकन गर्न सकिने छ । काठमाडौँको हनुमानढोका दरबार क्षेत्रबाट विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूसम्म पुग्दा इतिहासको विभिन्न कालखण्डमा निर्माण भएका मन्दिर, बहाःबही, ढुङ्गेधारा, पाटी, सत्तल आदिजस्ता सम्पदा अवलोकन गर्न सकिनेछ । आगामी कामपाले यस दूरीबीच रहेको सम्पदा पहिचान गर्न विभिन्न सङ्केत चिह्न राख्ने, स्थानीय घरलाई परम्परागत स्वरुपमा ल्याउने, ठाउँठाउँमा स्थानीयता झल्किने चित्रकला, भित्तेचित्रको प्रदर्शन गर्ने, मार्गमा भएका पाटी, पौवा तथा सत्तलको मर्मतसम्भार तथा संरक्षण गर्ने कार्य गर्नेछ । दुई सम्पदालाई जोड्ने पदमार्गमा अवस्थित मूर्त एवं अमूर्त सम्पदा तथा सांस्कृतिक परम्पराको अभिलेखीकरण, प्रवद्र्धन र सङ्ग्रह गरिनेछ । यसका लागि आर्ट ग्यालरी, पुस्तकालय र पर्यटन सूचना केन्द्र स्थापना गरिने छ । चार विश्व सम्पदा कामपाभित्र पर्दछ । 

त्यसका लागि कामपाले हनुमानढोका, काष्ठमण्डप, मरु गणेश, मरुहिटी, सन्तानेश्वर महादेव, मरुबही, मिच्याः गल्ली, बन्जाः हिटी, चस्वांद्वँ, दमाईं टोल, सुन्ता गल्ली, पाछै गल्ली, नरदेवी द्यःछेँ, आयुर्वेदिक अस्पताल, सामुदायिक (लोकेश्वर) गल्ली, बुरांखेल, म्येछ्यों हिटी, तप्यँताँ, रञ्जित मल्ल सतः घाट, भेलु महादेव, डल्लु चौतारा, निपु हिटी, धिमे ल्वहं, चारा हिटी, भुइखेल हुँदै स्वयम्भूसम्म पुग्ने पदमार्ग तय गरेको छ । यी दुई सम्पदा र यस बीचमा रहेको अन्य जीवनशैली वास्तुस्थितका बारेमा जानकारी दिनका लागि कामपाले आज ‘मास्टर पलान अफ हनुमान ढोका दरबार स्क्वायर टु स्वयम्भू वल्ड हेरिटेज’ नामक पुस्तक पनि सार्वजनिक गरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै