• २०८१ बैशाख ८ शनिबार

काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गर्न मन्त्री राईको निर्देशन 

kharibot

काठमाडौँ । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सम्भौता गरेर काम नगर्ने ठेकेदार कम्पनीको सूचि तयार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

शहरी विकास मन्त्रालय र अन्तर्गतका निकायहरुको दोस्रो चौमासिक प्रगति  समिक्षा तथा मन्त्रालय  स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई विहिवार सम्बोधन गर्दै मन्त्री राईले निर्माण कम्पनीकै कारण रुग्ण भएका आयोजनाको सूची तयार गरि १५ दिनभित्रमा सार्वजनिक सूचना जारी गर्न निर्देशन दिएका हुन् । उनले रुग्ण आयोजना पहिचान गरेर सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीलाई तत्काल कारवाही प्रक्रिया अघि बढाउने चेतावनी दिए । 

मन्त्री राईले भने, ‘काम नगरेको भनेर पप्पु कन्ट्रक्सनलाई कारवाही भयो, तर झोलामा सयौ त्यस्ता काम नगर्ने कम्पनी छन् ती सवैको सूची तयार गर्नुहोस, एकै पटक सवैसँग सम्झौता रद्द गरेर कारवाही गर्नुपर्छ ।’

काम नगर्ने ठेकेदार कम्पनीलाई कानुनको दायरामा ल्याउन अन्य मन्त्रालयसँग समेत समन्वय गर्ने मन्त्री राईको भनाई छ ।

मन्त्रालय अन्र्तगतका हरेक आयोजना र कार्यक्रमको पाक्षिक रुपमा कार्यप्रगति पेश गर्न समेत उनले कर्मचारीलाई निर्देशन गरेका छन् ।

महिनाको दुई पटक मन्त्रालय अन्र्तगतका निकायले गरिरहेका काम र उपलव्धीको समिक्षा गरी कर्मचारीको कार्यसम्पादन मुल्याङकन गरिने मन्त्री राईले दावी गरे । ‘प्रधानमन्त्रीज्यूले मन्त्रालयगत कार्यप्रगतिको मुल्याङकन गरिरहनुभएको छ’  मन्त्री राईले थपे, ‘अव मैले मन्त्रालय अन्तर्गतका सवै निकायको कार्य प्रगतिवारे पाक्षिक रुपमा मुल्याङकन गरी कर्मचारीको कार्यसम्पादन हेर्नेछु । त्यसैले नतिजामुखी भएर काम गर्नुहोस ।’

मन्त्रालयको कार्यप्रगति अपेक्षाकृत रुपमा हुन नसकेकाले तिव्र गतिमा काम गर्नुको विकल्प छैन, उनले भने,  ‘अव कर्मचारी संयन्त्र प्रक्रियामूखी होइन नतिजामुखी हुनुपर्यो ।’ 

शहरी बिकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंहले खर्च गर्ने क्षमता बढाउनुपर्नेमा जोड दिए । त्यसका लागि मातहतका निकायसँग सहजीकरण गरिने उनले बताए ।

बैठकमा मन्त्रालय अन्र्तगतका निकायहरु शहरी बिकास तथा भवन निर्माण विभाग, काठमाण्डौ उपत्यका विकास प्राधिकरण, धोविखोला करिडोर आयोजना, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नगर विकास कोष, राष्ट्रिय आवास कम्पनी लिमिटेड लगायतले दोस्रो चौमासिक प्रगतिवारे प्रस्तुती दिएका थिए ।बैठकमा योजना आयोग, अर्थमन्त्रालय लगायतका प्रतिनिधी पनि सहभागी थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै