• २०८१ बैशाख १३ बिहीबार

दिवंगत महिलाको रहस्यमयी कथा (गाई दी मोपासां)

kharibot

सन् १८५० मा जन्मेका सुप्रसिद्ध फान्सेली लेखक गाई दी मोपासांलाई विश्व साहित्यमा १९औं शताब्दीको एक महान् कथाकारको रुपमा लिने गरिन्छ । कम उमेरमै 'सिफलिस' रोगबाट संक्रमित बनेका उनी यही रोगका कारण पछि एकान्त मन पराउने र डराउने खालका भएका थिए । सन् १८९२ मा उनले आफ्नै घाँटी काटेर आत्महत्याको प्रयास गरेपछि उनलाई पागलखानामा लगिएको थियो । त्यसको एक वर्षपछि उनी ४३ वर्षको उमेरमा बितेका थिए । कम उमेरमै संसार छोडे पनि उनले आफ्नो जीवनकालमा ६ वटा उपन्यास र ३०० भन्दा बढी कथाहरू लेखेका थिए । उनको बारेमा रोचक कुरा यो छ कि उनी सन् १८८७ मा पेरिसमा निर्माण गरिएको सुन्दर आइफेल टावरलाई मन पराउँदैनथे । तर उनी त्यही टावरको तल रहेको रेस्टुराँमा गएर खाना खाने गर्थे किनभने पेरिसको सबैतिरबाट देखिने आइफेल टावर त्यहाँबाट भने देखिदैनथ्यो । प्रस्तुत छ खरीबोटका लागि अनुप जोशीले अनुवाद गरेको उनको कथा 'अ डेड वुमन्स सेक्रेट' :


ती महिलाले कुनै पीडा बिना, शान्तिपूर्ण रुपमा मृत्युवरण गरेकी थिइन् । सबैको नजरमा उनको जीवन निष्कलंक थियो । अहिले उनी ढाडको बलमा आफ्नो ओछ्यानमा पल्टिरहेकी थिइन् । उनका आँखाहरू बन्द थिए, उनी शान्त मुद्रामा देखिन्थिन् र उनको लामो कपाल निकै ध्यानपूर्वक कोरिएको थियो र यस्तो लाग्थ्यो कि उनले मर्नुभन्दा १० मिनेट अघि मात्र आफैंले कपाल कोरेकी थिइन् । दिवंगत महिलाको सम्पूर्ण आकृति हेर्दा यति शान्त र स्थिर देखिन्थ्यो कि जो कसैले पनि उनको शरीरमा एक सुन्दर आत्माले बास गर्ने गर्थ्यो भन्ने अनुभूति गर्थे । जसलाई पनि उनको मृत्यु सहज र पवित्र ढंगले भएको आभास हुन्थ्यो ।

लास राखिएको खाटको छेउमा आडेस लाएर उनको न्यायधिश छोरो र सिस्टर युलाली नामले परिचित उनकी छोरी मार्गुराइट मुटु नै फुट्ला जस्तो गरी भक्कनिंदै रोइरहेका थिए । उनले बाल्यकालदेखि नै उनीहरूलाई धर्मबारे ज्ञान दिंदै कडा नैतिक शिक्षा सिकाएकी थिइन् र कुनै पनि अवस्थामा आफ्नो धर्म निर्वाह गर्न अर्ती दिएकी थिइन् । उनको छोरा एक न्यायधिश भएको थियो र कानूनलाई हतियारको रुपमा प्रयोग गरेर कमजोरहरू माथि कुनै दया विना नै प्रहार गर्थ्यो । र पुरषहरूलाई घृणा गर्ने उनकी छोरी भने चर्चकी दुलही बनेर बसेकी थिई ।

उनीहरूले आफ्नो पितालाई मुश्किलले चिनेका थिए र उनीहरूलाई यति मात्र थाहा थियो कि उनले आमालाई निकै दु:ख दिन्थे । तर यसबारे विस्तृतरुपमा भने उनीहरूलाई केही ज्ञान थिएन ।

चर्चकी नन छोरीले बौलाहा जस्तो गरी दिवंगत आमाको जिजसको ठूलो क्रस जस्तै सेतो हातलाई चुम्बन गरिरहेकी थिई । अर्को तर्फको आमाको हातले भने अझै पनि तन्दालाई समातिरहेको थियो ।

ढोकामा ढकढक आवाज सुनेर विलौना गरिरहेका दुई शिरहरू उठे र भर्खरै रात्रीभोजन सकेर आएको पुजारी भित्र पस्यो । केही रात यताको थकानलाई पराजित गर्न उसले पिएको कफी र ब्रान्डीको कक्टेलले गर्दा उसको अनुहार रातो भएको थियो ।

ऊ दु:खी देखिन्थ्यो । तर कसैको मृत्युबाट नै गुजारा चलाउने उसको दु:ख बनावटी थियो । उसले आफ्नो हातको इशाराले क्रसको चिन्ह बनायो र व्यवसायिक शैलीमा भन्यो, ‘मेरा दु:खी सन्तानहरू ! म यहाँ तिमीहरूलाई यो दु:खको घडीमा साथ दिन आएको छु’ । तर सिस्टर युलाली अचानक उठी र भनी, ‘धन्यवाद फादर! तर म र मेरो दाई केहीबेर उहाँसँग एक्लै बस्न चाहन्छौं । उहाँलाई यसरी देख्न पाउने यो हाम्रो अन्तिम मौका हो र हामी बच्चामा जस्तै गरी तीनै जना सँगै हुन चाहन्छौं जतिबेला हाम्री दु:खी आमा-‘

वेदना र आँसुले उसलाई बीचमै रोक्यो । उसले अरु केही भन्न सकिन ।

फेरि एकपल्ट शान्तिपूर्ण तरिकाले पुजारीले आफ्नो ओछयान सम्झंदै झुकेर अभिवादन गर्यो । ‘तिमीहरूको जो इच्छा, मेरा सन्तानहरू’ । उसले घुँडा टेक्यो, हातले क्रसको चिन्ह बनायो, प्रार्थना गर्यो, उठ्यो र ‘उहाँ निकै सन्त हुनुहुन्थ्यो!’ भन्दै शान्तिपूर्वक बाहिर गयो ।

अब उनीहरू एक्लै भए । दिवंगत महिला र उनका दुई सन्तानहरू मात्र । छाँयामा लुकेको घडीको टिकटिक आवाज स्पष्टसँग सुन्न सकिन्थ्यो र खुला झ्यालबाट जुनको प्रकाश भित्र आइरहेको थियो । त्यहाँ कहिलेकाहीँ भ्यागुताको ट्वारट्वार र किराहरूको आवाजबाहेक अरु केही सुन्न सकिन्नथ्यो । निस्सीम शान्ति, इश्वरीय वेदना र आवाजविहीन चकमन्नताले ती दिवंगत महिलालाई घेरेको थियो ।

त्यसपछि घुँडा टेकीरहेको न्यायधिशले विदनायुक्त आवाजमा चिच्यायो, ‘आमा ! आमा ! आमा!’ र उसकी बहिनी भित्ताको काठमा टाउको ठोक्काउँदै र थर्थर्ती काँप्दै बर्बराई, ‘जिजस, जिजस, आमा, जिजस!’ र पीडाको आँधीले हल्लाएका दुवैजनाले निसास्सिदै स्वास्वा गरे ।  

संकट विस्तारै कम हुँदै गयो र उनीहरू अलि शान्त भएर रुन थाले ।

धेरै समय वितेपछि उनीहरू उठे र दिवंगत आमाको शरीरमा हेरे । र त्यसपछि उनीहरूको दिमागमा अतितका यादहरू सल्बलाउन थाले । हिजोसम्म प्रिय ती यादहरू अहिले कति पीडादायक भएका थिए ।

केही समय वितेपछि उनीहरू उठे र दिवंगत आमाको शरीरमा हेरे । र त्यसपछि उनीहरूको दिमागमा अतितका यादहरू सल्बलाउन थाले । हिजोसम्म प्रिय ती यादहरू अहिले कति पीडादायक भएका थिए । बिर्सेका यादका ससाना विवरणहरू पनि उर्लीएर आउन थाले । उनीहरूले एकअर्कालाई अहिले टाढा गइसकेकी आफ्नी आमाको शब्दहरू, मुस्कान, लबज र परिस्तिथिहरू स्मरण गराए । उनीहरूले उनलाई फेरि खुसी र स्थिर देखे । उनीहरूले उनले भनेका कुराहरू सम्झे र उनको सानो हात सम्झे जसलाई केही कुरालाई जोड दिएर भन्नुपर्दा उनी चलाउथिन् ।

र उनीहरूले उनलाई अहिलेसम्मकै धेरै प्रेम गरे । उनीहरूले आफ्नो वेदनाको गहिराइ नापे र पत्ता लगाए कि उनी बिना उनीहरू अब कति एक्ला हुनेवाला छन् ।

उनीहरूको सारथी, प्रेरणाको स्रोत, उनीहरूको सारा यौवन र जीवनको सबैभन्दा उत्कृष्ट भाग अब हराउँदै गइरहेको थियो । उनीहरूकी आमा उनीहरूको जीवन र बाबुबाजे बीचको सेतु थिइन् जसलाई अब उनीहरूले सधैंका लागि गुमाउँदै थिए । उनीहरू अब एक्ला थिए र अब कहिले पछाडि फर्केर हेर्न सक्दैनथे ।

बहिनीले दाइलाई भनी, ‘तपाईंलाई याद छ आमाले सधैं कसरी आफ्ना पुराना चिठीहरू पढ्नुहुन्थ्यो, ती अझै पनि त्यो दराजमा छन् । आऊनुस्, हामी पालैपालो ती सबै चिठीहरू पढौं र आज राति आमासँगै भएर उहाँको सबै जीवन पढौं ! यो हाम्रो लागि हजुरबुवा र हजुरआमालाई चिन्ने सेतुजस्तो हुनेछ जसलाई हामीले कहिले चिन्न सकेनौं, तर त्यहाँ कसका चिठीहरू छन् र उहाँ सबैभन्दा धेरै कसको बारेमा कुरा गर्नुहुन्थ्यो, तपाईंलाई याद छ?’

दराजबाट उनीहरूले लहरै सावधानीपूर्वक मिलाएर राखिएका लगभग १० वटा पहेंलो कागजको चिठी निकाले । उनीहरूले यी अवशेषहरूलाई विछ्यौनामा फाले र ‘बुवा; लेखिएको एउटा चिठीलाई रोजे । उनीहरूले त्यो खोले र पढे ।

यो आदिम खालको चिठी थियो जसलाई कसैले आफ्नो घरको दराजमा भेट्न सक्छ र जो सताब्दीऔं पुरानो जस्तो महसुस हुन्थ्यो । पहिलो चिठी यसरी सुरु हुन्थ्यो, ‘मेरी प्रिय’, अर्को चिठी, ‘मेरी राम्री सानी केटी’, अरु ‘मेरी प्यारी बच्ची’ वा ‘मेरी प्रिय’ । र अचानक छोरीले दिवंगत आमाको पूरा इतिहास र पूरा यादहरू कराउँदै पढ्न थाली । न्यायधिश छोरा खाटमा आफ्नो पाखुरा राख्दै आमातर्फ आँखा गाढ्दै सुन्न थाल्यो । अचल शरीर खुसी जस्तो देखियो   ।

सिस्टर युलालीले पढ्दा पढ्दै अचानक बीचमै रोकिंदै भनी:

‘यिनीहरूलाई आमासँगै उहाँको चिहानमा गाढ्नु पर्छ । यिनीहरूलाई कात्रोको रुपमा प्रयोग गर्नुपर्छ र उहाँलाई त्यसैमा गाढ्नु पर्छ ।' उसले चिठीको अर्को प्याकेज निकाली जसमा कुनै नाम लेखिएको थिएन । उसले शान्त आवाजमा पढी,’ मेरी प्रिय मान्छे, म तिमीलाई औधी माया गर्छु । हिजोदेखि म तिम्रो यादले छटपटीरहेको छु । म तिम्रो ओंठ आफ्नो ओंठमा, तिम्रो आँखा मेरो आँखामा, र तिम्रो छाती मेरो छातीमा महसुस गर्छु । म तिमीलाई प्रेम गर्छु, म तिमीलाई प्रेम गर्छु ! तिमीले मलाई पागल बनाएकी छ्यौ । मेरो अँगालो खुल्छ, म निसासिन्छु र तिमीलाई नै आलिंगनमा बाँध्ने उत्कट इच्छा प्रकट हुन्छ । मेरो सारा आत्मा तिमीलाई पुकार्दै विलौना गर्छ र तिमीलाई नै चाहन्छ । मैले आफ्नो मुखमा तिम्रो चुम्बनको स्वाद अझै बाँकी राखेको छु—‘

ऊ अवाक् भएर सीधा भएर उभिरह्यो र दिवंगत महिलाप्रति अनविज्ञ जस्तो देखियो । उता छोरी भने सालिक जस्तो अचल भएर उभिंदै आँखाबाट आँसुको धारा बगाउँदै दाइलाई पर्खिंदै हेरिरहेकी थिई ।

न्यायधिश छोरो सीधा भएर उठ्यो । छोरीले पढ्न बन्द गरिसकेकी थिई । उसले बहिनीबाट चिठी खोस्यो र हस्ताक्षर खोज्यो । तर त्यहाँ केही भेटिएन । तर शब्दहरू तल लेखिएको थियो, ‘तिम्रो शुभचिन्तक’, र नाम, ‘ह्यारी’ उल्लेख गरिएको थियो । उनीहरूको बुवाको नाम रेने थियो । तसर्थ यो चिठी उनीबाट थिएन । त्यसपछि छोराले चिठीका प्याकेजहरूतर्फ आक्रामक रुपमा अगाडि बढ्यो र एउटा लिएर पढ्यो,

 ‘म तिम्रो स्पर्श बिना बाँच्न सक्दिनँ... ।'

ऊ अवाक् भएर सीधा भएर उभिरह्यो र दिवंगत महिलाप्रति अनविज्ञ जस्तो देखियो । उता छोरी भने सालिक जस्तो अचल भएर उभिंदै आँखाबाट आँसुको धारा बगाउँदै दाइलाई पर्खिंदै हेरिरहेकी थिई । त्यसपछि ऊ कोठाबाट अगाडि बढ्यो र झ्यालमा गएर एकोहोरो भएर अँध्यारो रातलाई एकटकले हेरिरह्यो ।  

जब ऊ सिस्टर युलाली तर्फ फर्कियो, उसका आँखा अब सुख्खा भइसकेका थिए र ऊ अझै आफ्नो शिर निहुराउँदै खाट नजिकै उभिरहेकी थिई ।

ऊ अगाडि बढ्यो र छिटोछिटो सबै चिठीहरूलाई उठाएर दराजमा कोच्यो । त्यसपछि उसले खाटको पर्दा लगाइदियो ।

जब सूर्यको प्रकाशले टेबलमा भएका मैनबत्तीहरूको रङ्ग फुस्रो बनायो तब छोरा बिस्तारै आफ्नो कुर्सीबाट उठ्यो र आफ्नी आमा भएतर्फ पटक्कै नहेरीकन बिस्तारै भन्यो, ‘बहिनी अब हिंड, जाऊँ’

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै