• २०८१ बैशाख ६ बिहीबार

पाँच वर्ष बित्दा पनि पुल नबनेपछि यसरी ज्यान जोखिममा हाल्दै छन् सिन्धुलीका जनता

kharibot

पुल निर्माण नहुँदा ज्यान जोखिममा परेर खोला तर्दै स्थानीय । तस्बिर : खरीबोट

सिन्धुली । कमला खोलामा मोटरेबल पक्की पुलका ठूला ठूला खम्बा गाडिएका छन् तर यहाँका मानिस भने मोटरसाइकल समेत बोकेर खोला तार्न बाध्य छन् । पाँच वर्षअघि नै निर्माण थालिएको पुल अहिलेसम्म नबनेपछि सिन्धुली जिल्लाका झुँगा र गागनबजारका मानिसहरुले यस्तो दुःख बेसाउनुपरेको हो ।

विकासको नारामा भोट मागेर चुनाव लडेका नेताहरु पुनः अर्को चुनावमा भोट माग्न आउने बेला भइसक्दा समेत पुल तयार नहुनु विकासप्रति नेपाली राजनीति लक्षित छैन भन्ने नै बुझाउँछ । खोला छेवैमा पुल निर्माण अलपत्र छ भने नजिकैबाट बाइक बोकेर तारिरहेका छन् यहाँका सर्वसाधारण ।

कम्मरभन्दा माथि पानी आउने खोलाको मुल्खोमा ५०/५५ कटेका वृद्धवृद्धादेखि ससाना नानीहरुसम्मले पाँच वर्षदेखि अलपत्र पुल हेर्दै ज्यान जोखिममा हालेर खोला तरिरहेका छन् । यो त प्रतिनिधि दृश्यमात्रै हो । भन्ने हो भने समग्र नेपालको वर्तमान अवस्था यही नै हो । नेपालका कुनै पनि विकास निर्माणका कामले तोकिएको समयमा गति लिएका छैनन् । यद्यपि नेताहरु भने गाडिएको खम्बाकै जस लिन भने तँछाडमछाड गरिरहेका छन् ।

जिल्लाको दुधौली नगरपालिका २ मा पर्ने कमला खोलामा पुल नहुँदा हजारौँ सर्वसाधारणले धेरै दुःख पाएका छन् । पुल बनाउने भन्दै पाँच वर्षअघि थालनी गरिएको पुल निमार्णको कामले अझै गति लिन सकेको छैन । पुन बन्न नसकेपछि सर्बसाधारण निराश बनेका छन् । उनीहरु भन्छन्, ‘सुस्त गतिको कामको के आशा गर्नु !’

दशैँ, तिहार, तिजजस्ता पर्वहरुमा धेरै मान्छेहरु आवतजावत गर्ने भएकाले बिहानदेखि बेलुकासम्म खोला तर्नेको लर्को नै लाग्ने गरेको छ । भर्खरै दशै सकिएको छ । कमलाखोला तरेर माइतीघर आएकी एक चेली गुनासो गर्दै भनिन्, ‘जबसम्म पुल बन्दैन, तबसम्म माइतीघर आउँदिन ।’

हिउँदको समयमा खासै वर्षा नहुने भए पनि वर्षायाममा धेरै दुःख हुने गरेको छ । स्थानीय दनुवार तथा माझी समुदायका ब्यक्तिहरुले वर्षाको समयमा खोला तर्न जीवन जोखिममा पार्ने गरेका छन् । सर्वसाधारणलाई खोला तार्दै गरेका कमल अधिकारी दनुवार भन्छन्, ‘धेरै भयो खोला तार्ने काम गरेको अब त खोला तार्न सकिँदैन, कति जोखिम मोल्नु हामीले !’

वर्षौँदेखि पुल नबनेपछि गाउँका नेताले कुनै चासो नदेखाएको गुनासो गर्छन् यहाँका सर्वसाधारण भने नेताहरुचाहिँ कोसिस गरिरहेको बताउँछन् । दुधौली नगरपालिका प्रमुख घनश्याम राउतले पुल बनाउन आफूले सक्दो कोसिस गरेको प्रतिक्रिया दिए । उनले आगामी असार मसान्तभित्रै पुन बनिसक्ने पनि दाबी गरे ।

तर उता सर्वसाधारण भने नेताहरु लाचार भएको भन्दै यही गतिले काम हुने हो भने पुल सम्पन्न हुन अझै २० वर्ष लाग्ने बताउँछन् । नगर प्रमुख राउतले पुलको लागि खम्बा निर्माणको काम सम्पन्न भइसकेकाले बार निर्माण सम्पन्न गर्न छिटो हुने बताउँदै पुल असार मसान्तसम्ममा बनिसक्नेमा ढुक्क हुन आग्रह समेत गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै