• २०८१ बैशाख ११ मंगलबार

होटेल क्षेत्रमा ३ अर्बको लगानी प्रतिवद्धता, खुल्दै छन् दर्जनभन्दा बढी नयाँ होटल  

kharibot

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा होटेल तथा रिर्सोट क्षेत्रमा मात्रै नेपाली व्यवसायीहरुले ३ अर्ब ८९ करोड ५१ लाख बराबरको लगानी प्रतिवद्धता जनाएका छन् । सरकारले अघि सारेको आर्थिक समृद्धिको नारा पूरा गर्न र ५६५ जनालाई रोजगारी दिने लक्ष्यका साथ नेपाली व्यवसायीहरुले होटेल तथा रिर्सोट स्थापनाको प्रतिवद्धता आएको हो । 

उद्योग विभागको विवरण अनुसार होटेल तथा रिर्सोटमा लगानी गर्नेमा सिजीको शिला चौधरी, तुलसी देवी अर्याल, सुरेन्द्र सिंह , मञ्जिल श्रेष्ठ तथा व्यवसायी राजेन्द्र बजगाँई समेत रहेका छन् ।

होटेल तथा रिर्सोट सामान्यतया पर्यटकका लागि हो । मुलुकमा स्थिर सरकार बनेसँगै स्वदेशी तथा विदेशी पर्यटकको घुम्ने तथा नेपाल हेर्न गतिविधि बढेका छन् । यो सँगै होटेल तथा रिर्सोटको आवश्यकता देखिन्छ । 

विभागको विवरण अनुसार काठमाडौं महानगरपालिका वडा नं ११ मा सिजी होटेल एण्ड स्वीट्स नामक होटेल स्थापना गर्ने भन्दै शिला चौधरीले आवेदन दिएकी छिन् । कूल पूँजी ७२ करोड ५१ लाख बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ । सो होटेलमा होटेलमा ९५ बेड तथा ५० जना क्षमता सहितको रेष्टुरेन्ट हुनेछ भने १ सय जनाले रोजगारी पाउने छन् ।

यस्तै काठमाडौं महानगरपालिका वडा नं ४ मा होटेल स्थापना गर्ने गरी व्यवसायी राजेन्द्र बजगाँईले वर्णब्यास म्युजियम होटेल प्रालि विभागमा दर्ता गराएका छन् । कूल पूँजी  ८८ करोड बराबरको लगानी गर्ने लक्ष्य रहेको छ । सो होटेलमा ९८ बेड तथा १५० जना क्षमता सहितको रेष्टुरेन्ट हुनेछ । होटेलमा ७० जनाले रोजगारी पाउने छन् । 

व्यवसायी तुलसी देवी अर्यालले बाँकेको कोहलपुर वडा नं ४ मा होेटेल सेन्ट्रल प्लजा स्थापना गर्ने भन्दै विभागमा निवेदन दिएकी छिन् । कूल पूँजी ६० करोड बराबरको लगानी गर्ने लक्ष्य रहेको छ ।  विभागमा प्रस्तुत गरिएको विवरण अनुसार होटेलमा १५० बेड र २ सय जना क्षमता सहितको रेष्टुरेन्ट हुनेछ । होटेलले ८० जनालाई रोजगारी समेत दिनेछ । 

काठमाडौं महानगरपालिका वडा नं २ मा होटेल स्थपाना गर्ने गरी व्यवसायी छिरिङ लामाले होटेल ल्हासा इन्टरनेशनल विभागमा दर्ता गराएका छन् । कूल पूँजी १ अर्ब १३ करोड ८९ लाख ५५ हजार बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ । होटेलमा ९८ बेड तथा ८० सिटको क्षमता सहितको रेष्टुरेन्ट हुनेछ भने ५५ जनाले रोजगारी पाउने छन् ।

कञ्चनपुर, भीमदत्तनगरपालिका वडा नं ५ मा होटेल स्थापना गर्ने गरी व्यवसायी सुरेन्द्र सिंहले होटेल डाएमण्ड प्यालस विभागमा दर्ता गराएका छन् । कूल पूँजी ११ करोड बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ । उक्त होटेलमा ४० बेड तथा ३५ सिट क्षमता भएको रेष्टुरेन्ट हुनेछ भने २६ जनाले रोजगारी पाउने छन् । 

काठमाडौं , बुढालिनकण्ठ वडा नं २ मा  होटेल स्थापना गर्ने भन्दै व्यवसायी मञ्जिल श्रेष्ठले रोयल स्याण्ड्स होटेल विभागमा दर्ता गराएका छन् । कूल पूँजी १५ करोड बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ । रोयल स्याण्ड्स होटेलमा ४८ बेड तथा ६५ सिट क्षमता भएको रेष्टुरेन्ट हुनेछ भने ७५ जनाले रोजगारी पाउने छन् ।

काभ्रे बनेपा नगरपालिका वडा नं ६ मा रिर्सोट स्थापना गर्ने भन्दै अर्का व्यवसायी हरिप्रसाद नेपालले आगन्तुक रिर्सोट विभागमा दर्ता गराएका छन् ।  कूल पूँजी ४० करोड बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ । आगन्तुक रिर्सोटमा ६६ बेड तथा एकसय सिट क्षमता भएको रेष्टुरेन्ट हुनेछ भने ५५ जनाले रोजगारी पाउने छन् ।

काठमाडौं महानगरपालिका वडा नं ८ मा हस्पिटालिटी स्थापना गर्ने भन्दै आँ छिरिङ शेर्पाले यति हस्पिटालिटी विभागमा दर्ता गराएका छन् । कूल पूँजी ६० करोड बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ । ४८ बेड तथा ६० सिट क्षमता भएको रेष्टुरेन्ट हुनेछ भने ५५ जनाले रोजगारी पाउने छन् ।

सोलुखुम्ब, खुम्बु गाँउपालिका वडा नं ४ मा रिर्सोट स्थापना गर्ने भन्दै व्यवसायी दाबा स्टिभेन शेर्पाले हिमालयन चेन रिर्सोट विभागमा दर्ता गराएका छन् ।  कूल पूँजी १७ करोड बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ । ४५ बेड तथा ३५ सिट क्षमता भएको रेष्टुरे्रन्ट हुनेछ भने २३ जनाले रोजगारी पाउने छन् । 

यस्तै व्यवसायी दाबा स्टिभेन शेर्पाले नै सोलुखुम्बु ,पासाङ ल्हामु गाँउपालिका वडा नं ४ मा  हिमालय चेन रिर्सोट स्थापना गर्ने भन्दै विभागमा दर्ता गराएका छन् । कूल पूँजी १३ करोड बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ । ४० बेड तथा ३५ सिट क्षमता भएको रेष्टुरेन्ट हुनेछ भने २६ जनाले रोजगारी पाउने छन् । 

स्वदेशी मात्र नभएर विदेशी लगानीकर्ताहरु समेत नेपालको होटेल क्षेत्रमा लगानी गर्न चाहान्छन् । विभागका अनुसार पछिल्लो समय विदेशी लगानीकर्ताहरु होटेल स्थापनाको लागि पाइपलाइनमा बसेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै