• २०८१ बैशाख १२ बुधबार

श्रीलंका ब्लाष्टमा मृतकको संख्या २०७ पुग्यो, ४५० घाइते

kharibot

कोलम्बो (एएफपी) । श्रीलंकाको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका ८ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या २०७ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ । 

मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत छन् । बिस्फोटका कारण अरु करिब ४५० व्यक्ति घाइते भएका छन् ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटलमा गरी ४५ जनाको ज्यान गएको छ भने राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च बिस्फोटमा ६७ जनाको मृत्यु भएको छ ।

सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ ।

चर्च सहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम बिस्फोटनका घटना भएको प्रहरीले जनाएको छ । राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन् । 

मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा भएको बिस्फोटमा २५ जनाको मृत्यु भएको छ ।

बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन् । 

बिस्फोट निकै शक्तिशाली भएका कारण चर्चभित्र व्यापक क्षति भएको देखिएको छ । चर्चको भुँइ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ । 

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ ।

प्रहरीले शंकास्पद ७ जनालाई पक्राउ गरेको जनाएको छ । 

श्रीलङ्काको राजधानी कोलम्बोमा पुनः दुईवटा बम बिस्फोटन भएपछि सरकारले आइतबार साँझदेखि सोमबार बिहानसम्मका लागि निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै