काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग वार्ता गर्न तीन सदस्यीय समिति बनाएको छ ।
आइतबार सरकारले वार्ताका लागि बोलाएपछि राप्रपाले वरिष्ठ नेता दिपक बोहोराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोलि बनाएको राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले खरीबोटलाई जानकारी दिएका छन् ।
वार्ता समितिमा वरिष्ठ नेता बोहोरासहित महामन्त्री राजेन्द्र लिङदेन र वरिष्ठ केन्द्रीय सदस्य निरन्जन थापा रहेका छन् ।
यस अघि आइतबार कानुनमन्त्री भानुभक्त ढकालले हस्ताक्षर गरेको पत्र राप्रपाले पाएको थियो ।
सरकारले राप्रपासँग बैशाख १० गते अपराह्न १ बजे सिँहदरवारमा वार्ताका लागि उपस्थित हुन आग्रह गरेको छ ।
राप्रपाले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर देशमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्नेलगायतका माग राखी प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको थियो ।
पछिल्लो समय राप्रपाले हिन्दू राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्नेलगायतका माग राखी विभिन्न आन्दोलन गर्दै आएको छ ।