• २०८१ बैशाख ११ मंगलबार

सुडानी प्रदर्शनकारीलाई ‘अवरोध’ हटाउन सेनाको आग्रह

kharibot

सुडान । सुडानी सेनाले सैनिक मुख्यालय अघिल्तिर राखेका अबरोधहरु हटाउन सोमबार प्रदर्शनकारी समक्ष आग्रह गरेको छ । सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै सैनिक मुख्यालय बाहिर हजारौं सुडानी जनता केही दिनदेखि धर्नामा बसेका छन् ।

नागरिकलाई सत्ता हस्तान्तरण गर्नेबारेमा सत्तारुढ सैनिक परिषदसँग भएको वार्ता बिफल भएसँगै सेनाले उक्त आग्रह गरेको हो । प्रदर्शनमा सहभागी नेताहरुले सेनालाई शासनसत्ता त्यागी जनताको हातमा शासनसत्ता सुम्पन निरन्तर दबाब दिइरहेका छन् ।

गत अप्रिल ६ देखि नै सैनिक मुख्यालय बाहिर प्रदर्शनकारीको ठूलो भिड निरन्तर जम्मा भइरहेको छ । उनीहरुले सडकका ठाउँठाउँमा अबरोधहरु पनि राखेका छन् ।

सैनिक परिषदको वक्तव्यमा प्रदर्शनकारीको अबरोधका कारण रेलसेवा र यातायातका अरु साधन सहज रुपमा नचल्दा नगरमा अत्यावश्यकीय सामानको ढुवानीमा असर परेको उल्लेख छ ।

आइतबार सुडानका नयाँ सैनिक शासक जनरल अब्देल फताह अल–बुरहानले सडकमा प्रदर्शनकारीले जताततै चेकप्वाइन्ट बनाएर प्रदर्शनकारीको समेत खानतलासी गरेकामा असन्तुष्टी जनाएका थिए ।

“यसले निरन्तरता पाउनु हुँदैन किनभने सुरक्षा राज्यको प्रमुख जिम्मेवारी पनि हो,” बुरहानले भने ।

तर प्रदर्शनकारीले चेकप्वाइन्ट कुनै पनि हालतमा नहटाउने घोषणा गरेका छन् । “हामी यी अबरोधहरु अहिल्यै हटाउने अवस्थामा छैनौं,” एक जना २३ वर्षीय प्रदर्शनकारी कथर हसाबल्लाहले बताए । “कसैले पनि, सैनिक परिषदले पनि हामीलाई यो ठाउँबाट हटाउन सक्दैन ।”

महिनौंको प्रदर्शनपछि सुडानी सेनाले पूर्व राष्ट्रपति ओमार अल–बासिरलाई गत अप्रिल ११ मा सत्ताच्यूत गरेको थियो । तर बसिरको सैनिक सत्ता समाप्त भएकामा खुशी भएका जनता नयाँ सैनिक सत्ता शुरु भएकामा आक्रोशित छन् ।

हाल सुडानमा जनरल बुरहानको नेतृत्वमा १० सदस्यीय सैनिक परिषदले शासन सञ्चालन गरिरहेको छ । प्रदर्शनकारीले उक्त परिषद भङ्ग हुनुपर्ने र नागरिकको नेतृत्वमा सरकार गठन हुनुपर्ने माग गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै