• २०८१ बैशाख ८ शनिबार

सैनिक मुख्यालय भवन तयार, राष्ट्रपतिबाट उद्घाटन हुने

kharibot

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ ।

गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण सम्पन्न भएको यो नै सबैभन्दा ठूलो आयोजना हो । विसं २०७३ जेठ २४ गते निर्माण शुरु भएको उक्त भवन दुई वर्ष १० महीनाको अवधिमा तयार गरेको हो । उक्त भवन निर्माणका लागि दैनिक ४०० को सङ्ख्यामा जनशक्ति अहोरात्र खटिएका थिए ।

नयाँ भवनबाट दैनिकरूपमा एक हजार सैनिक जनशक्तिले कार्यसम्पादन गर्न सक्ने आयोजना प्रमुख उपरथी योगन्द्रबहादुर खाँणले जानकारी दिए । सैनिक मुख्यालयको नयाँ भवन निर्माण गर्न प्राधिकरणमार्फत सरकारले रु तीन अर्ब ४४ करोड रकम विनियोजन गरेको थियो ।

भूकम्पप्रतिरोधात्मक उक्त भवनमा क्यूविकलसहित ४३० कोठा रहेको उनले जानकारी दिए । उक्त भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ वटा कार्यालय सञ्चालन हुनेछ । अलग-अलग सातवटा भवन जोडेर तयार गरिएको नयाँ सैनिक मुख्यालय भवन सात तला अग्लो छ । सैनिक मुख्यालयको सङ्गठन संरचना अनुसारको सुविधा उपलब्ध गराउने हेतुले सरकारले आधुनिक र प्रविधियुक्त भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले नवनिर्मित जङ्गी अड्डा भवनको (भोलि) मङगलबार सैनिक मुख्यालयमा आयोजना हुने विशेष समारोहकाबीच उद्घाटन गर्नेछिन् ।

आवश्यकता अनुसार, छाना (छत)मा हेलिकप्टर अवतरण गराउन मिल्ने गरी निर्माण गरिएको उक्त भवनमा विभिन्न बैठक कक्षसहित ५०० व्यक्ति अटाउने क्षमताको सम्मेलन कक्षसमेत छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनबाट जङगी अड्डासहित नेपाली सेनाका एक हजार १०९ भौतिक संरचना क्षति भएका थिए ।

भूकम्पपछि खुम्चेर काम गर्नु परेपनि छोटो समयमै उच्च गुणस्तरीय ढङ्गबाट मुख्यालय भवन निर्माण भएपछि जङ्गी अड्डामा रहने नेपाली सेनाको जनशक्तिलाई काममा सहज हुनेछ ।

नेपाली सेना मुलुकको प्रमुख सुरक्षा अङ्ग हो । नेपालको संविधानको धारा २६७ मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रियहितको रक्षाका लागि संविधान प्रतिबद्ध समावेशी नेपाली सेनाको व्यवस्था गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै