काठमाडौँ । टी-२० क्रिकेटमा २५ बलमा शतक बनेको छ ।
आइतबार स्कटल्याण्डका ब्याट्सम्यान जर्ज मुन्सेले इंग्ल्याण्डमा भएको एक टी-२० खेलमा २५ बलमा शतक बनाएका छन् । मुन्सेको शतकसँगै उनको टिमले २० ओभरमा ३२६ रनको योगफल तयार पारेको थियो ।
ग्लोस्टरसायर सेकेन्ड-११ र बाथ सेकेन्ड-११ बिचको सो टी-२० खेलमा मुन्सेले अपत्यारिलो खेल खेले पनि सो खेललाई आइसीसीको टी-२० मान्यता भने पाएको थिएन।
खेलमा पहिले ब्याटिंग गर्ने निर्णय गरेको ग्लोस्टरसायर सेकेन्ड-११ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३२६ रन बनायो । ओपनरका रुपमा आएका जर्ज मुन्से र जर्ज विल्लोजले पहिलो विकेटको लागि मात्र ११.२ ओभरमा २२१ रनको साझेदारी गरे ।
पहिलो विकेटको रुपमा आउट हुनुपुर्व २५ बलमा शतक पुरा गरेका मुन्सेले १४७ रन बनाए । ४९ मिनेट खेलेका मुन्सेले ३९ बलको सामना गर्दै ५ चौका र २० छक्का प्रहार गर्दै १४७ रन बनाए ।
त्यस्तै अर्का ओपनर विल्लोजले ५९ बलमा ११५ रन बनाएका थिए । त्यस्तै टम प्रिन्सले २३ बलमा ५० रनको पारि खेलेका थिए ।
जवाफमा ३२७ रनको बिशाल लक्ष्य पछ्याएको बाथ सेकेन्ड-११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २१४ रन बनाएको थियो ।
टी -२० क्रिकेटमा केहि समय अघि अन अफिसियल खेलमा सर्रेका विल ज्याकले पनि २५ बलमा शतक प्रहार गरेका थिए ।