• २०८१ बैशाख १२ बुधबार

श्रीलंकाको विष्फोटमा मृत्यु हुनेको संख्या ३१० पुग्यो 

kharibot

कोलम्बो । श्रीलंकाको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च) मा आइतबार भएका शृङ्खलाबद्धबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या बढेर ३१० जना पुगेको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३८ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । 

प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा अहिलेसम्म ३८ जनालाई पक्राउ गरेको छ । 

शोकमा डुबेको श्रीलङ्कामा एक दशकपछि भएको यस्तो शक्तिशाली बिस्फोटमा संलग्न रहेकाहरुको बारेमा जानकारी सार्वजनिक गरेको छैन । र कुनै पनि समूहले घटनाको जिम्मेवारी लिएका छैनन् ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए ।

मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली बिस्फोट भएको थियो । बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट जनधनको ठूलो क्षति भएको बताएका छन् । 

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए । 

दश दिन अगाबै चेतावनी दिइएको थियो

श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महत्वपूर्ण चर्चहरुमा आत्मघाती आक्रमण हुनसक्ने भन्दै चेतावनी (अलर्ट) जारी गरेका थिए ।

एएफपीका अनुसार प्रहरी प्रमुख पुजुथले अप्रिल ११ का दिन प्रहरीका वरिष्ट अधिकारीहरुलाई गोप्य सूचना पठाएका थिए ।

“एउटा विदेशी गुप्तचर निकायले राष्ट्रिय थोवित जमाथ (एनटीजे) नामको समूहले प्रमुख चर्चहरु र कोलम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयमा आत्मघाती आक्रमण गर्ने योजना बनाएको खबर प्राप्त भएको छ,” प्रहरी प्रमुखको चेतावनीमा उल्लेख छ ।

एनटीजे श्रीलङ्कामा सक्रिय अतिवादी मुस्लिम सङ्गठन हो र यो सङ्गठनका बारेमा गत वर्षमात्र जानकारी आएको थियो । यस सङ्गठनले गत वर्ष बौद्धमूर्तिहरुको तोडफोड गरेको पाइएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै