• २०८१ बैशाख १४ शुक्रबार

वैदेशिक रोजगारीमा जाने युवाहरु ठगिने क्रम रोकिएन

kharibot

काठमाडौं । वैदेशिक रोजगारीका लागि भन्दै विभिन्न मुलुक जाने नेपाली युवाहरु ठगिने क्रम रोकिएको छैन । यसै क्रममा उदयपु , गाईघाटका दिलबहादुर राई र गुल्मी मुसीकोटका देव दलर्मी मगर ठगिन पुगेका छन् । 

म्यानपावरको मिठो प्रलोभनमा परेर केहि समय अघि विदेश गएका उनीहरुले विदेशी भूमिमा पुगे पछि मात्र आफूहरु ठगिएको थाहा पाएको बताए । राई लिंक स्टार र मगर टिएमएस म्यानपावरबाट कतारमा काम गर्नका लागि गएका थिए । 

म्यानपावर व्यवसायीहरुले आफूहरुलाई कतारमा रहेको एक प्रतिष्ठित होटेलमा काम लगाई दिने भन्दै विदेश पठाएको उनीहरुले बताए ।

कतार पुगेको राईले आफूले भने जस्तो काम नपाएको बताए । उनले म्यानपावरलाई करिब २ लाख रुपैयाँ बुझाएर वेटरका काम गर्ने भनि सम्झौता गरेको भए पनि सो अनुरुप काम नपाएको बताए । ‘वेटरको काम गर्न गएको धोवी तथा खाजा पसलमा काम गर्नु पर्यो,’ उनले भने । 

म्यानपावरले विदेश पठाउने बेलामा ८ घण्टा काम र हप्तामा एक दिन बिदा दिन्छ भने पनि सो अनुरुप नभएको राईको भनाई छ ।  ‘होटेलमा नभई खाजा पसलमा दैनिक १२ देखि १४ घण्टा काम गनुपर्ने रहेछ बिदा पनि भने अनुरुप नपाइने,’ उनले भने । 

म्यानपावरले मासिक ४० हजार रुपैयाँ पारिश्रमिक दिने बताए पनि काम र पारिश्रमिक दुवै नपाएको राईको भनाई छ । ‘४० हजार पारिश्रमिक भनेर गएको दुई महिनामा काम गर्दा जम्मा ३६ हजारमात्र पाए त्यो पनि कम्पनीले घर फर्किनको लागि मात्र दिएको हो,’ उनले भने । 

नेपालबाट गएको एकहप्ता धोवीको काम गरेको त्यसपछि होटेल नभई सामान्य पसलमा भाडा सफा गर्नु परेको उनले बताए ।  भाडाहरु धेरै हुने र लामो समय काम गर्नुपर्दा अत्यन्त दुख पाएको राईको भनाई छ । उनले विदेशमा सम्झौता अनुरुपको काम र पारिश्रमिक नपाएको गुनासो म्यानपावरलाई गर्दा उल्टो आफूलाई धम्काएको समेत बताए । ‘म्यानपावरलाई सम्झौता अनुरुप काम पाइन गाह्रो भयो भन्दा जे काम गरी रहेको त्यही गर्नु हामीलाई थाहा छैन भन्ने जवाफ दिने गर्थे,’ उनले भने ।

यस्तै मगर पनि टिएमएस नामक म्यानपावरबाट कतारको एक होटेलमा कुक काम गर्नका लागि विदेश गएका थिए । उनले एकहप्तासम्म काम नपाउनुको साटो अलपत्र परेका नेपालीहरु भेटिए पछि आफू ठगिएको बताए । ‘एक हप्तासम्म काम पाइन धेरै नेपालीहरु काम नपाएर बसेको देख्दा आफू ठगिएको थाहा पाए,’ उनले भने । उनलाई मासिक २५ देखि ३० हजार रुपैयाँ कमाइ हुन्छ भन्दै म्यानपावरले विदेश पठाएको थियो । ‘काम पनि पाइन पैसा त कहाँबाट पाउनु,’ उनले भने । 

उनीहरुले स्वदेशमा काम नपाएर विदेश जान बाध्य नेपालीहरुको समस्या सरकारले सुल्झाउनु पर्ने बताए । उनीहरुले म्यानपावर सञ्चालन गर्नु अघि सरकारले राम्रो सँग अध्ययन गर्नु पर्ने समेत बताए । नेपाली श्रमिकहरु विदेशमा काम गर्न जाँदा भिसाको बारेमा समेत सम्वन्धित निकायले जानकारी लिनुपर्ने बताए । 

आफू ठगिएको र अलपत्र परे पछि मगरले विभिन्न मानिसको सहयोग लिदैं हेलो सरकार मार्फत् आफनो अवस्थाको जानकारी गराएको बताए । हाल दुवै जना नेपाल फर्किसकेका छन् भने राईले पीडित भएको भन्दै वैदेशिक रोजगार विभागमा निवेदन दिएका छन् । यस्तै मगरलाई भने म्यानपावरले रकम फिर्ता गरिसकेको बताए । 

उनीहरुका अनुसार आफूहरुसहित कतारमा १२ जना नेपाली अलपत्र परेका बताए । त्यसमध्ये १० जना भने नेपाल फर्किएको र २ जना भने नेपाल फर्किन नमानेको उनीहरुले बताए । सायद आर्थिक कारणले गर्दा होला दुईजना फर्किन मानेन् उनीहरुले भने । 

विभागमा चैत महिनमा मात्र व्यक्तिगत र संस्थागत ठगी भएको भन्दै १६५ वटा उजुरी दर्ता भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै