• २०८१ बैशाख ७ शुक्रबार

‘बारबरा एडम्स’ पत्रकारिता पुरस्कार खड्का र ओलीलाई

kharibot

काठमाडौँ । ‘बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार–२०१८’ पत्रकारद्वय रुद्र खड्का र अर्जुन ओलीलाई प्रदान गरिएको छ ।

सिक्टा सिँचाइ आयोजनाको अनियमितता बाहिर ल्याउन खोज पत्रकारिता गरेको भन्दै नागरिक दैनिकमा कार्यरत खड्का र ओलीलाई संयुक्तरुपमा नगद रु एक लाख एक राशिको उक्त पुरस्कारले  सम्मान गरिएको हो । 

यस्तै फाउण्डेसनले पत्रकार मकर श्रेष्ठलाई रु २५ हजार एक राशिको पुरस्कारबाट प्रोत्साहन सम्मान प्रदान गरेको छ । संसद् सचिवालयमा भएको बेथिति र अनियमिततासम्बन्धी खोजका लागि श्रेष्ठलाई उक्त पुरस्कार दिइएको हो । 

फाउण्डेसनका अनुसार सम्मानका लागि परेका ५३ वटा आवेदनमध्ये निर्णायक समितिले खड्का र ओलीलाई चयन गरेको थियो । 

सम्मानका लागि पत्रकार खड्काले काठमाडौँबाट र पत्रकार ओलीले नेपालगञ्जबाट सिक्टा सिँचाइ आयोजनाको अनियमितताबारे गरेको रिपोर्टिङको ४५ वटा शृङ्खलाबद्धरुपमा प्रकाशित भएका समाचार पेश गरेका थिए ।

ती सबै पुरस्कार बारबरा फाउण्डेसनद्वारा आज यहाँ आयोजित एक कार्यक्रमबीच प्रदान गर्नुहुँदै प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले समाजमा सदाचार कायम गर्न खोजी पत्रकारितालाई अझ सशक्त बनाइनुपर्नेमा जोड दिए । उनले मुलुकमा व्याप्त भ्रष्टाचार र अनियमितताको अन्त्यका लागि सदाचारसम्बन्धी विषयलाई सामाजिक शिक्षाको पाठ्यक्रममै समाबेस गरिनुपर्ने खाँचो औँल्याए । 

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले ‘सार्वजनिक सदाचार’ विषयमा प्रस्तुति दिँदै समृद्धिको यात्रालाई सार्थक गन्तब्यमा पुर्याउन सदाचार अनिवार्य आवश्यकता भएको बताए । आफ्नो आवश्यकतालाई नियन्त्रणमा गर्नसक्नु नै सदाचारमा उक्लने पहिलो खुड्किलो हो भन्दै उनले सदाचारलाई पद्धति निर्माण गरी प्रभावकारी अभियानका रुपमा अघि बढाइनुपर्नेमा जोड दिए ।

पुरस्कृत पत्रकार खड्काले सम्मानले थप प्रेरणा र जिम्मेवारी बढेको बताउँदै आगामी दिनमा व्यावसायिक ढङ्गले निर्भिकरुपमा खोज पत्रकारितामा कलम चलाउने बताए ।

सिक्टा आयोजनाको करीब ४५ किलोमिटर नहरको स्थलगतरुपमा समाचार सम्प्रेषण गर्नु निकै चुनौतीपूर्ण रहे पनि पुरस्कारले त्यो चुनौतीको प्रतिफल दिएको उनले उल्लेख गरे ।

फाउण्डेसनका उपाध्यक्ष डा चन्द्रप्रसाद पोखरेलले खोज पत्रकारितालाई प्रोत्साहन गर्न बारबरा एडम्स पुरस्कारलाई अझ प्रभावकारी बनाउने योजना सुनाए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै