• २०८१ बैशाख ८ शनिबार

लेखनमा आफूले के दिन सकिन्छ भन्ने महत्वपूर्ण हुन्छ : दिनमान गुर्मछान

kharibot

सर्लाहीका लेखक दिनमान गुर्मछान कथा, निबन्ध र बालसाहित्यमा कलम चलाउँछन् । २०७५ सालमा शाब्दिक बुक्सले बजारमा ल्याएको उनको कथासङ्ग्रह ‘दंश’ले अहिले पाठक र समीक्षकहरूमाझ चर्चा पाएको छ । यसका अलावा उनका पुस्तकहरू ‘भो गजल लेख्दिनँ म’ र ‘मिस्टर चुलबुले’ पनि प्रकाशित छन् । हाल बनेपामा बस्दै आएका उनी पेशाले स्वास्थ्यकर्मी हुन् । प्रस्तुत छ उनको पछिल्लो कृति र साहित्यिक यात्रामा केन्द्रित रहेर खरीबोटका लागि अनुप जोशीले गरेको कुराकानीको सम्पादित अंश:


पछिल्लो समय के-मा व्यस्त हुनुहुन्छ ? पाठकहरूले तपाईंको नयाँ पुस्तक कहिले पढ्न पाउने ?

 पछिल्लो समय साहित्य लेखन भन्दा पनि साहित्य अध्यनमा व्यस्त भइयो । अझ साहित्यिक गतिविधिमा समय व्यतित गरियो भन्दा हुन्छ । लेखनमा लागेपछि पाठकका लागि नयाँ पुस्तक लिएर आउनु लेखकको धर्म हो । तर, पाठकका निम्ति के नयाँ दिने ?  भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । त्यसैले नयाँ पुस्तक नयाँ विषयवस्तु वा प्रस्तुतिमा होस् भन्ने मेरो चाहना हो । जसको लागि अहिल्यै यति समयमा मेरा पाठकले मेरो नयाँ पुस्तक पढ्न पाउनुहुनेछ भनेर भन्न सकिने अवस्था चाहिँ छैन ।


दंश’बाट कस्ता प्रतिक्रिया पाउनुभयो ? कतिको सन्तुष्ट हुनुहुन्छ प्राप्त प्रतिक्रियाहरूबाट ?

‘दंश’ कथासङ्ग्रहले राम्रो प्रतिक्रिया पायो । पछिल्लो समयको समाज, राजनीति र परिवर्तित समयको आवाज ‘दंश’ कथासङ्ग्रहमा भएकाले पाठकहरूले रुचाइदिनु भयो । सबैले रुचाइदिनु भएकोले यो सुखद नै हो । सबैले राम्रा पक्षको बारेमा बोलिदिनु भएको छ, लेखिदिनु भएको छ जसले एकखाले उर्जा थपेको छ । तर, मीठा कुराले मात्रै लेखक मात्तिन्छन् भन्ने मैले राम्ररी बुझेको छु । त्यसैले यी पक्षहरू नराम्रा वा सुधार गर्नुपर्नेछ भन्ने प्रतिकृयाको आश चाहिँ गरेको छु ।


दंश’को विमोचन समारोहमा बोल्दै प्रा.डा. अभि सुवेदीले संग्रहभित्र वास्तविक नेपाली समाजको अनुहार भएको टिप्पणी गर्नुभएको थियो तपाईंको अनुभवमा सामाजिक यथार्थवादी लेखनमा सीमान्तकृत समुदायहरूको ‘अथेन्टिक भ्वाइस्’ कसरी ल्याउने ?मिसरिप्रिजेन्टेशन’ हुनबाट कसरी जोगिने ?

 आख्यानले समाज बोक्ने हो । समाजमा जे छ, त्यही देखाउने हो । ‘दंश’ कथासङ्ग्रह वास्तवमै नेपाली समाजको आजको अवस्थाको कथा हो । त्यसैले ‘दंश’को विमोचनमा प्रा.डा. अभि सुवेदीले ‘दंश’ आजको वास्तविक नेपाली समाजको अनुहार भएको बताउनु भयो । साहित्यकार एवम् साहित्य विश्लेषकबाट यति राम्रो टिप्पणी आउनु मेरा लागि खुसीको कुरा हो । लेखनमा जहिले समाजलाई उतार्नु आवश्यक छ । समाजमा रहेकाहरू जो आफ्ना आवाजलाई बाहिर ल्याउन सक्दैनन् उनीहरूका कथा हामीले लेख्नु जरुरी छ । समाजको आवश्यक्ताको पहिचानलाई औल्याउन जरुरी छ । अबको समाज कस्तो हुनुपर्छ भन्ने परिकल्पना पनि गर्न सके राम्रो हुन्छ । तर, त्यही समाजलाई हेपेर लेखिदिनु चाहिँ हुँदैन । जसका  लागि हामी लेखक सचेत हुनु जरुरी छ ।


तपाईं बालसाहित्य लेखनमा पनि आबद्ध हुनुहुन्छ बालसाहित्यका पुस्तकहरू आएका छन् वयस्क साहित्य र बालसाहित्य लेख्दा लेखकले ध्यान पुर्याउनुपर्ने विशेष कुराहरू केके रहेछन् ?

लेखनमा आफूले के दिन सकिन्छ भन्ने महत्वपूर्ण हुन्छ । बालसाहित्यमा बालबालिकाका लागि केही खुराक दिन सक्छु कि भन्ने लागेर लेखियो । जसमा केही हदसम्म सफल पनि भइयो । प्रायःजसो बाल पत्रिकामा कथाहरू पनि छापिए । छापिएका कथाले प्रसंशा पनि बटुले । बाल कथासंग्रह पनि आए ।  बालकथासँगै वयस्क कथा पनि लेखी नै रहेँ ।

लेखनमा लेखकले ध्यान पुर्याउनु पर्ने विशेष कुरा साधना नै हो । साधनामा निरन्तरता आवश्यक छ । पठन र लेखन मुख्य कुरा हुन् ।

लेखनमा लेखकले ध्यान पुर्याउनु पर्ने विशेष कुरा साधना नै हो । साधनामा निरन्तरता आवश्यक छ । पठन र लेखन मुख्य कुरा हुन् । वयस्क साहित्य र बालसाहित्यमा एकसाथ लाग्नु भनेका आफूलाई एकै समयमा बालक र वयस्क बनाउनु हो । बाल साहित्य लेख्दा जहिल्यै बालक भएर सोच्नुपर्छ । बालमनोविज्ञानलाई विशेष ध्यानमा राख्न जरुरी हुन्छ । वयस्क साहित्यमा खुल्ला समाजलाई नियाल्नु जरुरी छ ।


तपाईंको कथा लेखन प्रक्रिया कस्तो हुन्छ ? नवकथाकारहरूलाई कथा लेख्ने टिप्स दिनुपर्दा के भन्नुहुन्छ ?

कथा लेख्दा कहिल्यै हतार गर्दिनँ । कुनै घटनाले छोयो भने त्यसबारे निक्कै समय सोच्छु र कथानकताको वरिपरि घुमिरहन्छु । अन्त्यमा कथाको मिठासताले छोयो भने कथा उतार्न थाल्छु । कथामा नयाँपन आवश्यक हुन्छ । कथाको विषयवस्तु र प्रस्तुतिलाई विशेष ध्यान दिन जरुरी हुन्छ । यथार्थ वा काल्पनिक कथा नै किन नहोस्, समाजको चित्रण आवश्यक हुन्छ । जसको वरिपरि आफ्नो मन, मस्तिष्कलाई घुमाइरहनु पर्यो । जसले लेखनका लागि उर्जा थपोस् । नव कथाकारहरूलाई यति भन्न चाहन्छु, लेखनका लागि जुन विधा रोजिन्छ त्यो विधाको अध्यन धेरै गर्न आवश्यक छ । लेखनलाई प्रेम गर्नुस् ।


आफ्ना कथाहरूमा आफैंलाई कतिको पात्र बनाउनुहुन्छ ?

कथामा पात्र जरुरी हुन्छ । पात्रको परिवेश र चरित्र आवश्यक हुन्छ । जसले कथालाई पूर्णता दिन मद्दत गर्दछ । समाजको वरिपरिको कथा लेख्दा पात्रहरूको बीच लेखकले कुनबेला आफूलाई पात्र बनाइसक्छ पत्तो हुँदैन । मेरा केही कथामा पनि आफूलाई पात्र बनाएको छु । जसलाई आवश्यक ठानिएकोले मात्र पात्र बनाएको हुँ ।


बिक्रीका हिसाबले नेपाली आख्यानमा कथाको भन्दा उपन्यासको बिक्री बढी हुन्छ । आख्यानको विधा भएर पनि किन कथा कम रुचाइएका होलान् ? समकालीन नेपाली साहित्यमा कथाहरूको उपस्थिति कस्तो पाउनुहुन्छ ?

आख्यानमा कथा भन्दा उपन्यास बिक्री बढी हुनु भनेको बजार हो, व्यवसाय हो । साहित्यका कृति बिक्री हुनु भनेको राम्रो कुरा हो । कथा कम रुचाइएको चाहिँ होइन । कथा पढ्नेको कमी छैन । कथाले पनि बजार पाएको छ । बजारमा कथा भन्दा उपन्यासको हल्ला बढी भएको चाहिँ अवश्य हो ।

समकालीन नेपाली साहित्यमा कथाको राम्रो उपस्थिति छ । कथा लेखनको ट्रेन्ड परिवर्तन भएको छ । उही पुरानो ढर्रामा लेखिएका कथाहरू पढ्दा पढ्दा पाठकहरू आत्तिसकेकोबेला आजका केही नवीन शैलीका कथाहरूले पाठकहरूलाई केही हदसम्म भएपनि राहत मिलेको छ ।


अधिकांश कवि गजलकारहरू नै उपन्यास लेखनमा आकर्षित भइरहेको अवस्थामा कथाकारको छवि बनाउनुभएको तपाईंलाई उपन्यास लेखूँ लेखूँ जस्तो लाग्दैन ?

मान्छे चेतनशील प्राणी हो भनिन्छ । त्यतिमात्र होइन । लोभी पनि हो । लेखनमा आफूले कुन विधामा के दिन सकिन्छ त्यसको हेक्का आफैंले राख्ने हो । केही दिन नसक्नेले रहर मात्र गरेर हुँदैन । तपाईंले भन्नुभएजस्तै केही कवि, गजलकार उपन्यास लेखनमा हत्तारिएर आकर्षित भएका छन् । हत्तारिएर हामफाले भन्दा पनि हुन्छ । जसको परिणाम उपन्यास विधाले भोग्नु परेको छ । बजारमा राम्रा उपन्यास छैन भन्न थालिएको छ । त्यसैले कथा लेखिरहेको यसबेला मलाई उपन्यास लेखूँ लेखूँ चाहिँ नलागेको होइन । तर, हतार किन गर्ने भन्ने मेरो भनाई हो । समय आएपछि लेखिन्छ । 

केही कवि, गजलकार उपन्यास लेखनमा हत्तारिएर आकर्षित भएका छन् । हत्तारिएर हामफाले भन्दा पनि हुन्छ । जसको परिणाम उपन्यास विधाले भोग्नु परेको छ ।


पेशाले तपाईं स्वास्थ्यकर्मी हुनुहुन्छ । साहित्य लेखनमा कसरी आकर्षित हुनुभयो । लेखनका सुरुवाती दिनहरूलाई फर्केर हेर्दा कस्तो पाउनुहुन्छ ?

पेशा भन्ने कुरा जीवन बाँच्नका लागि हो । दुई छाक टार्नका लागि स्वास्थ्यकर्मी भइयो । जागिरको सिलसिलामा २०५६ सालतिर खोटाङ पुगियो । जहाँ ममा साहित्य पठनको सुरुवात भयो । साहित्यका विविध विधाहरू पढ्दा पढ्दै लेखनको भुतले कतिबेला समात्यो पत्तो भएन । बिस्तारै लेख्न थालिएछ । २०५७ देखि पत्रपत्रिकाहरूमा रचना छापिन थालेपछि लेखनले बाटो लियो । अहिले सम्झिदा रमाइलो लाग्छ ।


तपाईंलाई कस्ताखाले पुस्तक पढ्न मन लाग्छ ? तपाईंलाई सबैभन्दा बढी मन परेका १० पुस्तक ?

मलाई साहित्यका सबै विधाका पुस्तक पढ्न मन पर्छ । ईतिहास र गैर आख्यानका पुस्तक झनै मन पर्छन् । मलाई मन परेका पुस्तक धेरै छन् । १० पुस्तकको मात्रै नाम लिनुपर्दा ‘नासो’, ‘ दोषी चस्मा’, ‘हिटलर र यहुदी’, ‘परेवा र कैदी’, ‘तान्या’, ‘इन्द्रकमल र अन्धकार’, ‘मान्ठा डराएको जुग’, ‘अनावरण’, ‘उलार’, ‘तिम्री स्वास्नी र म’ जस्ता पुस्तकहरूको नाम लिन चाहन्छु ।


तपाईंलाई जीवनमा सबैभन्दा बढी खुसी के-मा मिल्छ ? जीवनमा आफूलाई गर्न मन लागेका तर अहिलेसम्म पूरा हुन नसकेका ३ कुराहरू के-के छन् ?

सबैभन्दा बढी खुसी कोही मसामू आइ मुसुक्क हाँसिदिंदा मिल्छ । अझ बालबालिकाको जीवन सुखमय भएको देख्न पाउँदा, उनीहरू रमाएको देख्न पाउँदा खुसी लाग्छ । जीवनमा आफूलाई मन लागेका तर अहिलेसम्म पूरा हुन नसकेका ३ कुरा यी हुन् :

१) सिनेमा बनाउने

२) इन्सपेक्टर हुने

३) सगरमाथा चढ्ने

जीवनमा यी तीन कुराको ठूलो रहर थियो । जसलाई पूरा गर्न सकिएको छैन ।


आगामी दिनलाई लिएर तपाईंका के-कस्ता योजनाहरू छन् ? कसरी अगाडि बढ्नुहुन्छ ?

लेखनमा आख्यानलाई निरन्तरता दिनेछु । विशेषगरी पठनलाई प्राथमिकता दिने योजना छ । लेख्नु अघि त्यसबारे अध्यन, अनुसन्धान हुनु जरुरी छ । त्यसैले ठाउँहरू घुम्ने योजनामा छु । लेखनमा सधैं एउटै ढर्राले अघि बढ्नु भनेको पछाडि पर्नु हो अनि पाठकलाई ठग्नु हो । त्यसैले नवीन शैलीमा आख्यान लिएर ढिलो चाडो आउने नै छु ।


अन्त्यमा, आफ्ना पाठकहरूलाई के भन्न चाहनुहुन्छ ?

पाठक हाम्रा लागि आवश्यक छ । त्यसैले पठन संस्कृतिको विकास गरौं भन्न चाहन्छु । राम्रा पुस्तक पढिदिन अनुरोध गर्दछु ।  


पढ्नै पर्ने

लोकप्रिय

भर्खरै