कामरेड तिमीलाई पक्कै याद छ होला नि हगि?
हिजो बाले गरिबीको बाबजुद पनि
मलाई विद्यालय पठाउनु भएको थियो
तिमीले विद्यालय आएर भनेका थियौ नि
हामी बुर्जुवा शिक्षाको विरोधमा छौं
हामी पुजीवादी निरंकुशताको विरोधमा छौं
हामी बालुवाटारको तानाशाहको विरोधमा छौँ
हामी गरीबको पक्षमा छौं
हामी सर्वहारा जनताको पक्षमा छौं
हामी क्रान्तिको पक्षमा छौं
हो कामरेड, मैले त्यही दिनदेखि
बाको सपनालाई तिलान्जली दिएर
तिम्रो क्रान्तिको सपना पूरा गर्न
कलम समाउने हातले बन्दुक समाउन थालें
सेता किताब फालेर राता किताब पढ्न थालें
हो कामरेड तिमीलाई बालुवाटारसम्म पुर्याउन
मैले के के गरिनँ होला ?
बाल मस्तिष्कमै स्कुल छाडें
बाको दु:ख बालाईनै छाडें
आमाको प्यार आमालाईनै छाडें
आफन्त छाडें, साथीभाइ छाडें
घर छाडें, समाज पनि छाडें
तर तिमीलाई छाडिनँ कामरेड !
किनकी तिम्रो बालुवाटारसम्मको यात्रा
मेरै शिरमा चढाएर गर्नु थियो
गर्न हुने/नहुने सबै गरें कामरेड
जुन दिन तिम्रो बालुवाटार प्रवेश थियो नि !
हो त्यही दिनदेखि म अयोग्य भएको
कामरेड बालुवाटार बेच्दै गर्दा नबिर्सनु है
छोरालाई अरबको खाडीमा बेच्न
छोरीलाई वेश्यलयको कोठीमा बेच्न
आमालाई दलालको हातमा बेच्न
नसम्झनु है देशप्रेम र राष्ट्रियता
अनि नहेर्नु है पछाडि फर्केर
किनकि ,
फेरि पनि बन्दुक तानाशाही विरुद्ध
क्रान्ति जिन्दावाद , जिन्दावाद भन्दै
कामरेडको शिर र बालुवाटारसम्म पुग्न सक्छ