• २०८१ बैशाख ६ बिहीबार

पेम्बाको हिमाल प्रेम

kharibot

काठमाडौँ । पेम्बा दोर्जी शेर्पा सगरमाथा आरोहणमा प्रख्यात नाम हो । १८औँ पटक सगरमाथा चढिसकेका पेम्बा अब फेरी यस पटक सगरमाथा चढ्ने तयारीमा रहेका छन् । 

यस पटक उनले दुई पटक चुचुरोमा पुग्ने योजना बनाएको खरीबोटसँगको कुराकानीमा बताए । यस पटकको सगरमाथा आरोहणमा पेम्बाले विशेष टिमको नेतृत्व गर्दै छन् । उनले भने, 'यस पटक दुई पटक चढेर २० पटक पुर्याउने योजनामा छु ।' 

पेम्बाले यसपटक ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्देश प्रवाह गर्दै सगरमाथाको आरोहण गर्न लागिएको तीन देश नेपाल, भारत र चीनका तीन महिला आरोहीको संयोजनसमेत गर्दैछन् । त्यस्तै पेम्बाले यस पटक नेपाल पर्यटन बोर्डको लोगो अंकित झन्डा समेत सगरमाथामा फहराउदै छन् ।

नेपालकी कान्छिमाया तामाङ, भारतकी कल्पना दास र चीनका लियामु मालगायतको आरोही समूहले वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्न लागेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित भ्रमण वर्षको लोगोसहितको झण्डा सगरमाथामा फहराउने छन् । 

विश्व पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह गर्न तथा महिला सशक्तीकरण, विश्व शान्ति र सद्भाव अभिवृद्धि गर्न आरोहण इतिहासमै पर्यटकीय महत्वका छिमेकी मुलुक भारत र चीनसहितको महिला आरोहीको संयुक्त आरोहण हुन लागेको हो ।

आरोही तामाङ्ले सन् २०१७ र २०१८ मा सगरमाथाको सफल आरोहण गरेकी छन् । उनी प्रथम तामाङ महिला सगरमाथा आरोही पनि हुन् । विभिन्न सामाजिक गतिविधिमा संलग्न तामाङ सन् २०१७ देखि युएन वोमनको सद्भावना दूत रहेकी छन् ।

त्यस्तै, भारतीय र चिनीया आरोहीले पनि विश्वका विभिन्न अग्ला हिमाल आरोहण गरेको बताइन्छ । दासले नेपाल, भारत, युरोप, साउथ अमेरिका र अष्ट्रेलियाको हिमाल आरोहणको अनुभव छ । उनले सन् २००८ मा  सगरमाथा आरोहण गरेकी थिइन् । चिनियाँ आरोही माले सगरमाथा, मनास्लु, लुबुचेलगायत हिमाल आरोहण गरेकी थिइन् ।

यसैबीच वि विल राइज नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी ओझेलमा रहेका पर्यटकीय थलोहरुको खोजी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’  अंकित झन्डालाई १३औं पटक सफल आरोहण गरिसकेका पेम्बाका भाई फुर्वा तेन्जिङ शेर्पाले सगरमाथामा फहराउदै छन् ।

पेम्बाले १८ पटक सगरमाथाको सफल आरोहणका अलवा आमदब्लम हिमाल १६ पटक आरोहण गरिसकेका छन् भने ८ हजार फिटभन्दा अग्ला ८ वटा हिमालको सफल आरोहण गरेका छन् ।  

त्यस्तै पेम्बाले यस अघि सन् २००९ मा गौतम बुद्धको १३ इन्चको १५ किलोको सालिक सगरमाथा पुर्याएका थिए । २००९ मै नेपालको ५ फिटको राष्ट्रिय झन्डालाई समेत सगरमाथामा फहराएका थिए । 

त्यस्तै सन् २०१८ मा २५ किलोको पृथ्वीनारायण शाहको सालिक सगरमाथामा राखेका थिए । २०१८ मै उनले नेपाल आर्मीको झन्डा सगरमाथामा फहराएका थिए 

१३ बर्षको उमेर बाटै हिमाल आरोहणको अभ्यास शुरु गरेका पेम्बाको नाममा कैयौं किर्तिमान रहेका छन् । उनको पारिवारिक पृष्ठभूमि पनि हिमाल आरोहणसँग जोडिएको छ । उनको परिवारमा ७ जना दाजुभाईले सगरमाथाको आरोहरण गरेर किर्तिमान नै कायम गरेका छन् । गिनिज बुक अफ रेकर्डसमा पेम्बा र उनको परिवारको मात्र कुल ६ रेकर्ड कायम छन् ।

सन् २००३ को मे २३ मा १२ घण्टा ४५ मिनेटमा सगरमाथा चढेका पेम्बाले त्यति बेला छिटो सगरमाथा चढेको रेकर्ड बनाएका थिए । आफ्नै रेकर्डलाई उनले सन् २००४ मे २१ मा ८ घण्टा १० मिनेटमा सगरमाथा चढेर तोडेका थिए ।

उनको परिवारका ४ जना दाजुभाई एकै पटक गत बर्षको मे २३ मा सगरमाथा चढेर समेत गिनिज बुक अफ रेकर्डसमा नाम लेखाएका छन् । त्यो बाहेक पेम्बाका १० दिनमा ३ पटक बिना अक्सिजन सगरमाथा चढेको रेकर्ड समेत रहेको छ । त्यस्तै ४ दिनमा २ पटक सगरमाथाको सफल आरोहण गरेर नयाँ रेकर्ड समेत उनले बनाएका छन् ।

साथै पेम्बा आफ्नी पत्नी कान्छीमाया तामाङसँग तेस्रो पटक सगरमाथा आरोहन गर्दै छन् । यस अघि सन् २०१७ र २०१८ मा सगरमाथाको सफल आरोहण गरेको यो जोडीले पतिपत्नी सँगै सगरमाथा आरोहण गर्ने रेकर्ड समेत बनाएका छन् । तामाङ प्रथम तामाङ महिला सगरमाथा आरोही समेत हुन् ।

       

भिजिट नेपाल २०२० मा २० लाख पर्यटक ल्याउने उद्धेश्य मै शंका व्यक्त गर्दै पेम्बाले २० लाख पर्यटक आएमा राख्ने ठाउ नभएको बताए । पर्यटकहरु नेपाल आउदा विमानस्थल मै निराश बनाउने गरेको उनले बताए । विमानस्थलमा ट्याक्सीले आफूखुशी रकम असुली गर्दा निकै नराम्रो संदेश गरेको उनको भनाई छ । पर्यटकहरुको झोला, क्यामराजस्ता महत्वपूर्ण समान हराउने गरेको भन्दै यसलाई अहिले पनि समधान गर्न सरकारले ध्यान नदिएको उनको बुझाई छ । 

विमानस्थलबाट होटल पुग्ने बेलासम्म नै उनीहरुको नेपालप्रतिको धारणा नकारात्मक बनिसकेको हुने हुदा सबै भन्दा पहिला यसलाई समाधान गर्नुपर्ने बताउछन् ।

२०११ को पर्यटन बर्षको एम्बेसडर रहेका पेम्बाले भ्रमण बर्ष मनाउदैमा पर्यटन क्षेत्रको विकास नहुने भन्दा पूर्वाधार निर्माणमा सरकारले ध्यान नदिएको गुनासो गरे । अहिले काठमाडौँका स्टार होटेलमा कार्यक्रम गरेर भ्रमण बर्ष सफल नहुने उनको बुझाई छ ।

अहिले भ्रमण बर्षको तयारी तिब्र भैरहेको बेला पेम्बाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्न लागिरहेको बताउछन् । भ्रमण बर्षलाई सहयोग होस् भनेर नै आफुले भ्रमण बर्ष अंकित, नेपाल पर्यटन बोर्ड र पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले वि विल राइजले संचालन गरेको मेरो गाउँ मेरो ठाउ भिडियो च्यालेन्ज अंकित झन्डा सगरमाथामा फहराउने बताए । भ्रमण बर्षको देश बाहिर व्यापक प्रचार प्रसार गर्नुपर्ने बताउदै उनले यस अघि २०११ मा मनाए जस्तो नहोस् भन्ने उनको भनाई छ । पर्यटकहरुलाई राम्रो वातावारण नै बनाउन नसकेकोमा पेम्बाको गुनासो रहेको छ ।

आधा भन्दा बढी हिमाल चढ्न आउने पर्यटकहरु उनीहरुसँग भएको व्यबहारका कारण निराश हुने र नेपाल प्रति नै नकरात्मक हुने गरेकोले यो स्थितिको सुधार नभएसम्म पर्यटन क्षेत्रको विकास हुन नसक्ने उनको बुझाई रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै