• २०८१ बैशाख ८ शनिबार

मैले प्रतिस्पर्धा वा व्यापारका लागि कथा लेख्ने होइन : एल. बी. क्षेत्री

kharibot

चितवनमा बसेर साहित्य लेखन तथा साहित्यिक गतिविधिमा सक्रिय रहेका लेखक एल.बी. क्षेत्रीको कथासंग्रह ‘व्रतभङ्ग’को विमोचन वैशाख २१ गते एक कार्यक्रमका बीच प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुँदैछ । पुस्तकलाई बीएन प्रकाशनले बजारमा ल्याउन लागेको हो । लामो समयसम्म प्राध्यापकका रुपमा त्रिविमा अंग्रेजी साहित्यको अध्यापनमा  आबद्ध रहेका क्षेत्री कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष हुन् भने चरैवेतीका सम्पादक पनि हुन् । जीवनका ६८ औं वसन्त पार गरिसकेका उनका यसअघि दुई कथासङ्ग्रहहरू ‘त्रिशङ्कुको देश’ र ‘इन्द्रमायाको देश’ तथा एउटा कवितासङ्ग्रह ‘भीडमा हराएको मान्छे’ प्रकाशित छन् । प्रस्तुत छ लेखक  एल. बी. क्षेत्रीसँग उनको प्रकाशोन्मुख कथासङ्ग्रहमा केन्द्रित  रहेर खरीबोटका लागि अनुप जोशीले गरेको कुराकानीको सम्पादित अंश:


तपाईंको चौथो कृतिका रुपमा आगामी शनिबार ‘व्रतभङ्ग’ कथासङ्ग्रह सार्वजनिक हुँदै छ । कस्ता विषयवस्तु र शैलीमा कथाहरू लेख्नुभएको छ ?
धेरैजसो मेरा कथाका पात्र र विषयहरू मैले नजिकबाट देखेको र भोगेको समाजबाट नै हुन्छन् । मेरा कथाहरूमा घरका कुरा, बगैंचाका कुरा, पतिपत्नीका कुरा, मेरै वरिपरिको समाजका कुरा हुन्छन् र 'व्रतभङ्ग' मा पनि त्यही नै छ । कतै यौनबारे कथाको माध्यमबाट बहस छ, कतै पतिपत्नी बीच असमझदारी छ, कतै सामाजिक विचलन र विशाक्ता छ । तर समग्रमा लामो होस् छोटो होस्, कथा छ सानो भन्दा सानो भए पनि पटकथा छ, सिद्धान्त छ र साथै छ दर्शनको सानो धागो ।   


व्रतभङ्गको प्रकाशन सन्दर्भ र यसबाट तपाईंको अपेक्षाबारे केही भन्दिनुस् न पाठकलाई । कसरी तयार भयो पुस्तक? लेखन प्रक्रिया कस्तो रह्यो ?
एकै महिनामा लेखिएका कथा होइनन् यी । मेरो यसअघिको कथासंग्रह २०७१ मा प्रकाशित भएको थियो । लगभग पांच वर्षमा ३५-४० वटा फेरी लेखिएछन् । तिनीहरूमध्ये छानेर २६-२७ वटाको एउटा संग्रह बनाएको हो । यस अघिका मेरा दुवै कथा-संग्रह मेरो आफ्नै प्रकाशन 'चरैवेती' बाट निस्केको हो भने यसपटक मैले काठमाडौंमा प्रकाशकको खोजी गरें । बीएन प्रकाशनलाई धन्यवाद दिन चाहन्छु उहाँले मेरो कथासंग्रह प्रकाशन गर्न मान्नु भयो । वितरक पनि उहाँ नै ।


दुई कथासङ्ग्रहहरू  र एउटा कवितासङ्ग्रह प्रकाशित गरेपछि तपाईं पुनः कथातिर फर्कनुभएको छ । यसरी हेर्दा तपाईं कवितामा कम र कथामा बढी अडिएको देखिन्छ । तपाईं मूलतः आफूलाई कवि मान्नुहुन्छ कि कथाकार ?
म हीपोक्रीट नभई भन्ने गर्छु – म कवि होइन म त कविता कोर्ने मान्छे । अनि साथसाथै भन्ने गर्छु – तर कथा त लेख्छु है । कवि बन्न निकै गाह्रो छ । जे पायो त्यो लेखेर कविता बन्दैन । जसले पायो तेस्ले आफूलाई कवि भन्ने पनि होइन । हो, तर कविता कोर्नबाट कसैले रोक्न सक्दैन । कविता कोर्दै जाँदा यी कोरिएकामध्ये एउटा दुईटा कविता बन्छन् पनि । यी एक दुई कविता आत्मसन्तुष्टिका लागि पर्याप्त हुन्छन् । म कथाकार नै हो र एउटा दुईटा मद्वारा लेखिएका वा कोरिएका कवितामा पनि कथ्य, कथानक र पात्रकै उपस्थिति र प्रभाव छ । यी विशेषताको अभावमा कविता लेख्न असमर्थ पनि छु ।   


पछिल्लो समय नेपाली साहित्यमा धमाधम कथासंग्रहहरू आइरहेका छन् । यस परिप्रेक्ष्यमा व्रतभङ्गमा नयाँ के छ ? किन पढ्ने पाठकले ?
अहिलेको नेपाली साहित्य बजार आख्यानले भरिभराउ छ । मैले प्रतिस्पर्धा वा व्यापारका लागि कथा लेख्ने होइन । मस्तिष्कमा एउटा विचार आउँछ र जब लाग्छ यसले कथाको रूप लिन सक्छ म कथा लेख्छु । वास्तवमा कथाको माध्यमबाट पात्र निर्माण र संवाद सहित मेरो दृष्टिकोण भन्न चाहन्छु । यसरी मेरो कथा बन्छ । 'व्रतभंग' मा तेस्तै तेस्तै मेरा विचारलाई बोल्ने केही कथा छन् । सबै आख्यानकारले लेख्ने परिवेश, विषय र थीम उस्तै उस्तै हुन्छन् । मान्छेकै कथा त हो । तर प्रस्तुती एल बी शैलीका छन् र हुन्छन् । अब मेरा कथा किन पढ्ने पाठक ले ? यस प्रश्नको उत्तरमा म पनि सोझै भन्छु – के रहेछ त एल बी शैली भनेको ? त्यो बुझ्न पढ्ने कथाका पाठकले ।

हाम्रो साहित्य पश्चिमा साहित्य भन्दा अझै 'इम्मेच्योर' छ । बजारमा आएका धेरै नेपाली कथा कथा जस्ता नभएर घटना विवरण जस्ता छन् । मेरा पनि होलान् म कुनै अपवाद होइन नै ।


तपाईं अङ्ग्रेजीको अवकाशप्राप्त प्राध्यापक । पश्चिमा साहित्यको जानकार । समकालीन पश्चिमा र नेपाली कथाको तुलना गर्दा केके समानता र केके भिन्नता पाउनुहुन्छ ?
कथा साहित्य हो र साहित्य समाजद्वारा उत्पादित सृजना । प्रत्येक देशको आफ्नै साहित्य हुन्छ अर्थात् आफ्नै समाज र सोंच हुन्छ र साहित्य त्यसै अनुरूपको लेखिन्छ । अमेरिकी साहित्य, अमेरिकाको समाज र साहित्य, अंग्रेजी साहित्य अंग्रेजी (बेलायत)को समाज र साहित्य, हिन्दी साहित्य, भारतीय समाज र साहित्य उस्तै गरी नेपाली साहित्यले पनि नेपाली समाज र साहित्य बोली रहेको हुन्छ । फेरि पनि प्रत्येक देश र समाजमा बस्ने मानिसमा केही मौलिक समानाता हुन्छन् नै । जहाँका भएपनि मान्छेका भावना अर्थात् प्रेम, क्रोध, रुची, डर, आकांक्षा, प्रसन्नता आदि आदि समान हुन्छन् । प्रत्येक देशमा मान्छेले खाना खानु पर्छ, दिसा जानु पर्छ, राति सुत्नु पर्छ, काम गर्नु पर्छ आदि आदि । दुवैतिरका साहित्यमा यो समानता पाइन्छ । अनि फरक कहाँनेर छ त ? तरिका र सोंचमा, शैली र प्रस्तुतिमा । पश्चिमेली र पूर्वेली सोंच प्रष्ट देखिने भिन्न सिद्धान्तमा आधारित भिन्न विचारधाराहरू हुन् । देश अनुसारको साहित्यमा त्यो भिन्नता प्रष्टिन्छ नै । समकालीन पश्चिमा र नेपाली साहित्यमा त्यो फरक आज पनि छ र रही रहने छ ।  समकालीन पश्चिमा र नेपाली कथाको तुलना गर्दा देखिने समानता ठ्याक्क यिनै यिनै हुन् भन्नु भन्दा आजको दिनमा ठूलो संख्यामा हाम्रा मान्छे पनि पश्चिम घुमेका छन् र उतै बसेका पनि छन् साथै पश्चिमा साहित्य पढेका छन् जसले गर्दा पश्चिमा अवधारणा नेपाली समाजमा पनि प्रवेश गरेको पाइन्छ र यसको प्रभाव हाम्रो साहित्यमा नपरेको होइन । फेरि पनि भिन्नता छ जस्तै मेरो मनमा उठेको प्रश्न – हाम्रो साहित्य पश्चिमा साहित्य भन्दा अझै 'इम्मेच्योर' छ । बजारमा आएका धेरै नेपाली कथा कथा जस्ता नभएर घटना विवरण जस्ता छन् । मेरा पनि होलान् म कुनै अपवाद होइन नै । बजारमा उपन्यास पनि आईरहेका छन् तर औपन्यासिक धर्मबाट विचलित । लाग्छ, साहित्यिक न भएर कमर्सियल बनेका छन् ।


तपाई यौन र मनोविज्ञानको सूक्ष्म विषयमा पनि बढो निर्भीक भएर एलबी स्टाइलमा कथा लेख्नुहुन्छ भन्ने समालोचकहरूको भनाइ छ । के यो पश्चिमा साहित्यको अध्ययनको प्रभाव हो? अथवा, तपाईंले यो निर्भीकता कहाँबाट टिप्नुभयो ?
हाम्रो ‘कवर्ड अप’ अर्थात् छोपिएको समाज हो । पश्चिमा खुला समाज हो । छोपिएको समाजको सौन्दर्य र विशेषता आफ्नै हुन्छ तर जब हाम्रो समाजमा हिपोक्रिसी प्रवेश गर्छ साहित्य खल्लो बन्न जान्छ । म मेरा कथाहरूको माध्यमबाट चरित्र निर्माण गर्छु र मेरा पात्र निर्भीक रुपमा आफ्ना कुरा राख्छन् । एउटा उदाहरण – मेरो 'इन्द्रमायाको देशमा' मैले हेनरी इब्सेन र जी बी शका पात्रहरूलाई नेपालमा ल्याएको छु । यी दुवै नारि स्वतन्त्रता र लैङ्गिक समानताकै प्रश्नमा अल्झिएका पात्र हुन् । यी दुवै पात्र बिपी कोइरालाकी पात्र इन्द्रमायालाई भेट्न आएका छन् र सायद ऊबाट केही सिक्न पनि । यसरी हेर्दा यो पश्चिमा साहित्यको प्रभाव त हो नै तर मेरो आफ्नो विचार पनि यहाँ मिश्रित छ । ‘बी अनेस्ट, बी बोल्ड एण्ड ह्याब प्यासेन्स’ आजको हाम्रो समाज १९ सौं सताब्दीमा छैन । हामी पनि अघि बढी रहेका छौं तर अलिक कुण्ठित विचारसँगै हो कि ? हामीलाई चाहिएको छ कुण्ठाको परित्याग, इमान्दारिता, साहस र धैर्य ।


लैङ्गिक सम्बन्ध तपाईंका असअघि आएका धेरै कथा वा कविताको विषय हो । यो विषय निकै संवेदनशील पनि छ । लैङ्गिक दृष्टिकोणमाथि तपाईंको लेखकीय विचार के हो ?

पुरुष कम्जोर प्राणी हो । महिलाले उसको संरक्षण गर्नु पर्छ ।

म हेनरी इब्सेन र जीबी शद्वारा प्रभावित छु । यी दुईमा एउटा विशेष फरक छ । इब्सेन घर बाहिर गएर पनि स्वतन्त्रको खोजी गर्छन् भने श घरिभित्र शान्ति र स्वतन्त्रता खोज्छन् । म महिलालाई एउटा शक्ति मान्छु । लैङ्गिक समानाता हुँदा हुँदै पनि मेरा कविता र कथाहरूमा महिलाको पक्ष बलियो हुनु पर्छ । पुरुष कम्जोर प्राणी हो । महिलाले उसको संरक्षण गर्नु पर्छ । मैले यस अन्तर्वार्तामा सिद्धान्तका कुरा भन्नु भन्दा मेरा कथाहरू नै यस विषयमा बोलिरहेका छन् । मेरो एउटा कथामा पूर्व पत्नीले आफ्नो पूर्व पतिलाई झापड हिर्काएकी छन्, अर्को कथामा पत्नीले सोझै आफ्नो पतिलाई 'तैंले मेरो बलात्कार गरिस्' भनेकी छन् । यो नै हो लैङ्गिक दृष्टिकोणमाथिको मेरो विचार । 


तपाईं लेखक त हो नै, त्यसमाथि तपार्ईं एउटा कुशल आयोजक र संगठक पनि हो । तपाईंको घर र गाउँमा धेरै लेखक आउँछन्, बास बस्छन् अनि जान्छन् । लेखकहरूको यस संसर्गबाट तपाईंले देशको साहित्यक माहोल तथा अपेक्षाको बारेमा केके कुरा थाहा पाउनुभएको छ ? यस्ता गतिविधिले तपाईंलाई लेखनमा कस्तो प्रभाव पार्छन् ?

कार्यक्रम आयोजाना गर्नुको मजा नै छुट्टै हुन्छ । यो साहित्यकार, बुद्धिजीवी, समाज प्रेमीहरूलाई भेला गराउने एउटा माध्यम पनि हो । यसरी भेला भएर अनुहारको नविकरण, विचारको आदानप्रदान हुन्छ, तीतामीठा कुरा सुन्नु र सुनाउनु खानु पिउनु, आफ्नो घर छोडेर बाहिर एकै ठाउँमा बस्नु आदि आदिको मज्जा नै भिन्दै हुन्छ । यसले लेख्नका लागि सामाग्री पनि दिन्छ खास गरेर संस्मरणका लागि ।  


तपाई सत्तरी वर्षको हाराहारीको मान्छे । तर, तपाईंलाई सधैँ युवा र तरुण पुस्तकका साहित्यकारहरूसँग संगत गरेको देखिन्छ । यो संयोगमात्रै हो कि नियोजित नै हो ?

उमेर त मात्र एउटा नम्बर मात्र हो । मेरो अहिलेको नम्बर ६८ भनौ । ३० वर्ष सम्म विश्वविद्यालयमा साहित्य पढाएँ पनि र मैले जीवनको राम्रो अनुभव पनि बटुलेको छु । म चाहन्छु युवाहरूको सम्पर्कमा रहन र रमाउन र आफुसँग रहेको अनुभव शेयर गर्न जसले गर्दा म उनीहरूबाट वर्तमान सिकी रहेको हुन्छु र मबाट उनीहरू विगत लिई रहेका हुन्छन् । आजको समयमा यो आदान प्रदानको खाँचो पनि छ । युवाहरूसँग रहँदै गर्दा म आफ्नुमा युवा उत्साह पाउँछु र उमेर ढल्कदै गरेको आभाष नै हुँदैन । कुनै कुनै युवाहरू मैले भन्दा पनि बढी जानेको, अनुभव बटुलेको अनुभव गर्छन् म उहाँहरूको पनि सम्मान गर्छु साथै महेश पौड्याल, महेश क्षितिज, उदय अधिकारी जस्ता युवाहरू मबाट केही लिन सकिने मान्छन्, म त्यो पनि स्वागत गर्छु । जे होस्, जसरी होस् हामी हामी भएर र हामी साहित्य पुस्तकको एउटा सुन्दर अद्ध्याय भएर बाँच्न सिकौं भन्ने मेरो धारणा हो ।  

उमेर त मात्र एउटा नम्बर मात्र हो । मेरो अहिलेको नम्बर ६८ भनौ । ३० वर्ष सम्म विश्वविद्यालयमा साहित्य पढाएँ पनि र मैले जीवनको राम्रो अनुभव पनि बटुलेको छु ।


तपाईंले लेखन यात्रा र साहित्यमोह कहाँबाट सुरु भयो ? यहाँसम्म आइपुग्दा आफ्नो विगतलाई फर्केर हेर्दा कस्तो पाउनुहुन्छ?

म सानैदेखि साहित्यमा रुचि राख्थें । रामायण महाभारत र स्वस्थानीका पुस्तक घरमा वाचन हुने गर्थे । मेरा माता पिता सुर मिलाएर दोहोरी गाउँथे । मैले भारतमा पढेको हो र सोहनलाल द्वेदी, गोपालसिंह नेपाली, निराला, पन्तका कविता, जयशंकर प्रसाद, प्रेम चन्द, गुरुदत्त, कुश्वाहाकांत, आचार्य चतुरसेनका आख्यानहरू पढ्दै गर्दा साहित्य प्रति रुझान हुँदै गहिरो आस्था बन्यो । बाल्यकालदेखि नै मैले पनि हिन्दीमा कविता र कथाहरू लेख्न थालें । पछि अंग्रेजी साहित्यमा अध्यन गर्दा शेक्सपियरदेखि २०औं शताब्दीका साहित्यकारहरूका केही रचना पढ्ने अवसर पाईयो । धेरै पछि गएर नेपाली साहित्यमा आफूलाई समर्पित गरेको छु । 


तपाईंलाई सबैभन्दा धेरै सन्तुष्टी के-मा मिल्छ ? आगामी दिनलाई लिएर के-कस्ता योजनाहरू छन् तपाईंका ? अर्को पुस्तकको पनि तयारी छ कि ?
सिर्जना प्रकाशनमा मलाई धेरै सन्तुष्टि मिल्छ । यो मेरो चौथो कृति हो । मेरो एउटा उपन्यास अधुरो छ । त्यसलाई पूर्ण गर्ने प्रयासमा छु । हाल मेरो जीवनीलाई लिएर आत्मकथानक संस्मरण लेखिरहेको छु । कथाको कुनै प्लटले मस्तिष्कमा ठाउँ बनायो भने लेख्दै गर्ने छु र एक दुई वर्षमा अर्को संग्रह पनि निकाल्ने छु । मौका बेमौका केही कोरिएका कविताहरू पनि एउटा संग्रहमा विलीन हुन आतुर छन् । हेरौं, कविताको नया संग्रह कहिले निस्कला ! तर निकाल्छु । मेरा संस्मरणहरू, मेरा नियात्रा, निबन्ध पनि निकै संख्यामा तैयार छन् । नम्बर ६८ बाट कति नम्बरमा पुग्दा यी प्रकाशित होलान् भन्ने मैले पनि हेर्नु छ । एउटा विश्वास पनि छ – नम्बर ७४ नपुग्दै यी पाठकहरूमाँझ आउने छन् ।


अन्त्यमा, कथासङ्ग्रह प्रकाशनको पूर्वसन्ध्यामामा आफ्ना पाठकहरूलाई के भन्न चाहनुहुन्छ ?

अन्त्यमा मैले नव पाठक वा युवा पाठकलाई भन्नु पर्दा जीवनमा सबै कुरा गर्नू अहम बाहेक भन्न चाहन्छु । पढ तर हच्चुवामा होइन, खेतालाले झैँ मेलो भ्याउने गरेर होइन, हातमा एउटा कलम लिएर मनन गर्दै अध्ययनको शैलीमा पढ । तर पढ, जसरी पनि पढ । धेरै पढ । राम्रा राम्रा पढ । तीस, चालिस, पचास पाना पढ्दा पनि समातेन भने दराजमा थन्काई देऊ । समय खेर नफाल । सम्पूर्णमा गएर अर्को पुस्तक किन र पढ्न थाल । बुझ्नु के पर्छ भने ‘हन्ड्रेड इयर्स अब सलिचूड’ बुझिनँ भनेर हतास खानु हुँदैन । बुझिन्छ । धैर्य राख्न जान्नु पर्छु । यो राख्न जानेदेखि पुस्तक पढ्न र बुझ्नमा मात्र होइन यसले जीवनका आरोह अवरोह धेरै कुरामा सहयोग गर्छ । मेरो कथा पढ्दा – कथा सलल पढिएला तर गुदी फेला पार्नु पनि जरुरी छ ।


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै