• २०८१ बैशाख ८ शनिबार

सचिव न्यौपानेद्वारा काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पद बहाली

kharibot

काठमाडौं । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरकार सचिव केदार न्यौपानेले सोमबार पदबहाली गरेका छन् ।

यस अघि उनी प्रदेश १ को प्रमुख सचिवका रुपमा कार्यरत थिए । मन्त्रीपरिषद्को बैशाख २ गतेको निर्णयले उनी महानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका हुन् ।

पदवहाली गर्नुअघि महानगरको सभा कक्षमा प्रशासन बिभागले आयोजना गरेको स्वागत कार्यक्रममा उनले  संघीय नेपालको केन्द्रीय राजधानी सहरको छवि बढाउन सरोकारवाला सबै एकै ठाउँमा हुनुपर्ने बताए । 

एकीकृत र समन्वयात्मक रुपमा वितरण गर्नुपर्ने सहरी सेवा छरिएकाले गुनासा बढेका हुन् । उनले थप्दै भने केन्द्रीय राजधानीको गौरव बढाउन सार्वजनिक सेवा प्रदायकलाई समन्वय गरेर एकीकृत बिकास पद्धतिको स्थापना गर्नमा मेरो जोड रहनेछ । उपयुक्त व्यक्तिलाई क्षेत्रगत जिम्मेवारी दिने, असल अभ्यासको प्रवर्धन गर्ने, संस्थागत सिकाइलाई व्यवस्थित गर्ने काम मेरा प्राथमिकता हुन् । प्रशासकीय अधिकृत न्यौपानेले भने, 'काममा तपाईहरु पनि खुशी हुनुपर्छ । जनता र जनप्रतिनिधि पनि खुशी हुनुपर्छ । यसले मात्र सार्वजनिक संस्थाको गरिमा बढ्छ ।'

उनले भने, 'गएको बर्ष यसै समयमा म गृह मन्त्रालयमा थिएँ । त्यसपछि प्रदेश सरकार हुँदै अहिले स्थानीय सरकारमा आएको छु । तीन वटै तहका सरकार सञ्चालनको अनुभव प्रयोग गरेर, महानगरलाई व्यवस्थित बनाउने प्रयास गर्नेछु ।' 

सोही अवसरमा बोल्दै महानगरको प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले महानगरको बिद्यमान अवस्थाका बिषयमा जानकारी गराउँदै छरिएका कार्यालय र साबिक व्यवस्थामा महानगरमा सेवा शुरु गरेका कर्मचारीको समायोजन अहिलेका प्रमुख समस्या भएको उल्लेख गरे ।

यस अघि महानगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरेका सरकारका सचिव यादवप्रसाद कोइराला, संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रुपमा सरुवा भएर गएका छन् । कोइराला अघि महानगरमा धनीराज शर्मा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै