• २०८१ बैशाख ४ मंगलबार

मोटरेबल पुल अलपत्र, जोखिम मोलेर काठेपुल वारपार गर्दै डोल्पावासी

kharibot

डोल्पा । ठुलीभेरी नगरपालिका–९ मा पर्ने रुपगाडखोलामा पुल निर्माणकार्य अलपत्र परेको छ । जिल्ला प्राविधिक कार्यालयले रेखदेख गर्ने गरी तीन वर्षअघि शिलान्यास गरिएको पक्की पुल विषयगत कार्यालयको खारेजीसँगै निर्माणकार्य अलपत्र परेको हो ।

लामो समयदेखि निर्माणकार्य अलपत्र भएपछि सवारीसाधन तथा पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ । पुल नबन्दा सदरमुकाम दुनै तथा उपल्लो डोल्पामा विभिन्न पर्यटकीय सम्पदा अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जोखिम मोलेर जीर्ण काठेपुल तर्नुपर्ने बाध्यता छ ।

निर्माण शुरु गरिएको तीन वर्ष बितिसक्दा पनि राम्रोसँग पहिलो चरणको काम पनि सम्पन्न भएको छैन । कामको नाममा मोटरेबल पुलको दुवैतर्फ पिलर खडा गर्ने काममात्रै भएको छ । पुल निर्माणका लागि एक वर्षभित्रै निर्माणकार्य सम्पन्न गर्ने गरी बोलपत्रमार्फत विसं २०७३ मा सञ्जीवनी कन्स्ट्रक्सन प्रालिकी प्रोप्राइटर गौरी उप्रेतीले ठेक्का लिएकी थिइन् ।

उप्रेतीले डेढ वर्षभित्र पुल निर्माणकार्य पूरा गर्ने सम्झौतासहित कामको सम्पूर्ण जिम्मेवारी डोल्पाका ठेकेदार हिम बुढालाई दिएकी थिइन् । आफूले जिम्मा लिइसकेपछि पेश्कीस्वरुप करीब रु एक करोड हाराहारीमा रकम निकासा भएको र सो रकम स्थानीयस्तरमै ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन तथा पुलको दुवैतर्फको पिलर खडा गर्ने काममा ठिक्क भएको बुढाले बताए ।

जिल्ला प्राविधिक कार्यालय खारेजी भइसकेपछि दोस्रो चरणको कामका लागि रकम निकासा नभएपछि लामो समयदेखि पुल निर्माणको काम रोकिएको बुढाले बताए । तत्कालीन जिविसबाट पुल निर्माण शीर्षकमा रु दुई करोड ७० लाखभन्दा बढी रकम भुक्तानी लिइसकेको बताइन्छ । तर निर्माण पक्षले रु एक करोड हाराहारीमा मात्रै रकम निकासा भएको र बाँकी रकम फ्रिज भएको बताउँदै आएको छ । जिल्ला प्राविधिक कार्यालयको खारेजीसँगै जिम्मेवारी प्रष्ट हुन नसक्दा पुल निर्माणकार्य अलपत्र परेको स्थानीय निर्माण व्यवसायी बुढाको भनाइ छ ।

जनशक्ति अभाव

प्राविधिक कार्यालय खारेज भइसकेपछि कर्णाली प्रदेशअन्तर्गत पूर्वाधार निर्माण निर्देशनालय मातहतमा रहने गरी रुकुम (पश्चिम)को चौरजहारीमा प्राविधिक कार्यालय रहने निर्णय भएको छ । विषयगत खारेजीसँगै र प्रदेशमा जनशक्ति अभाव भएकाले रुपगाडलगायत कर्णाली प्रदेशका विभिन्न ठाउँमा पक्की पुल निर्माणकार्य अलपत्र परेको पूर्वाधार विकास कार्यालय रुकुम (पश्चिम)का निमित्त कार्यालय प्रमुख योगेन्द्र धरालाले बताए ।

“पहिला सर्भे गरेर निर्माण थालिएका कतिपय पुल पुनःसर्भे गर्नुपर्र्ने देखिन्छ, त्यसका लागि प्रदेशमा पर्याप्त जनशक्ति छैन, बजेट र कर्मचारीको व्यवस्थापन भएपछि मात्रै निर्माणकार्य अगाडि बढ्छ”, धरालाले भने । रुपगाड खोलाको पुल निर्माणका लागि सङ्घीय सरकारले रु ३० लाख रकम विनियोजन गरेको बताइएको छ ।

तत्कालीन जिविस हुँदा गरिएको पुलको नक्साङ्कन नमिल्दा पुल निर्माण अलपत्र परेको बुझिएको जिल्ला समन्वय समिति डोल्पाले जनाएको छ । पुल निर्माणका लागि प्रदेशको पूर्वाधार मन्त्रालयबाट आर्थिक सहयोगको अपेक्षा गरिएको समन्वय समितिले जनाएको छ ।

प्रदेश सरकारले नै विगतका सञ्चालित योजनाको रेखदेख तथा बजेटसमेतको व्यवस्थापन गर्ने भएकाले अबको केही महीनापछि कामले गति लिने प्रदेश पूर्वाधार विकास निर्देशनालयका इञ्जिनीयर वीरेन्द्र लामाले बताए । सदरमुकामको मुख्य प्रवेशद्वारको रुपमा रहको रुपगाडमा पुल निर्माण नहुँदा यात्रु तथा सवारीसाधनलाई आवतजावतमा समस्या भएको बताउँदै निर्माणकार्य अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोध गरिएको प्रजिअ मुकेशकुमार केशरीले बताए । पुलको नाममा भएको काठेपुल पनि जीर्ण भएकाले त्यसको मर्मतका लागि ठुलीभेरी नगरपालिकालाई अनुरोध गरेर काम अगाडि बढाइएको समेत उनले बताए ।

जोखिम मोलेर यात्रा

पुल निर्माणकार्य पूरा नहुँदा सदरमुकाम दुनै भित्रिने यातायातका साधन जोखिम मोलेर कच्ची काठेपुलमार्फत ओहोरदोहोर गरिरहेका छन् । काठको कच्ची पुलबाटै सवारीसाधन वारपार गराउँदा दुर्घटनाको जोखिम उत्तिकै हुने सवारी चालकको भनाइ छ ।

सयौँ केजी सामान लादिएका सवारीसाधन दैनिक आवतजावत गर्ने भएकाले कच्ची काठको पुलको भर नमानेर जोखिम मोलेर सिधै खोला वारपार गर्ने गरिएको जिप चालक सुशील कठायतले बताए । दिनप्रतिदिन खोलाको बहाव बढ्दै गइरहेकाले कहिलेकाहीँ नदीमै जिप, ट्र्याक्टरलगायताका सवारीसाधन फँस्ने गरेको उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै