• २०८१ बैशाख १४ शुक्रबार

सरिता दुलालको मृत्यु बारे सत्य–तथ्य छानबिन गर्न माग

kharibot

तस्बीर : रासस

काभ्रे । चार दिनअघि घरमा मृत अवस्थामा भेटिएकी मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको शङ्कास्पद मृत्यु भएको जनाउँदै स्थानीय महिलाले दबाबपूर्ण र्यालीको आयोजना गरी सत्य–तथ्य छानबिन गर्न माग गरेका छन् । 

सदरमुकाम धुलिखेलमा आयोजित महिलाको ¥यालीले नगर परिक्रमा गरी जिल्ला प्रहरी कार्यालय अगाडि सत्य–तथ्य छानबिन गर्नुपर्ने र दोषी उम्कन नपाओस् भन्दै नाराबाजीसमेत गरेका थिए ।

र्यालीमा मण्डन देउपुर नपा, पाँचखाल नपा, नमोबुद्ध नपा बनेपा नपा, धुलिखेल नपाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक तथा महिला मानवअधिकारकर्मी र स्थानीय महिलाको सहभागिता रहेको थियो । 
यही वैशाख १३ गते सरितालाई घाँटीमा नीलडाम भएको अवस्थामा प्रहरीले मृत फेला पारेको थियो ।

सरिताका श्रीमान् सुदीप फरार अवस्थामा रहनु, भुइँतलामा बस्दै आएकी सरिताको घाँटीमा नीलडामसहितको शव माथिल्लो तलामा भेटिनु, बिहान १० बजे मात्रै घरका अन्य व्यक्तिले सरिता मृत अवस्थामा भेटिएको भनी प्रहरीलाई खबर गर्नुले कर्तव्य गरी मारेको हुनसक्ने जनाउँदै सरिताका दाजु मण्डन देउपुर नपा–४ चैनपुरका कृष्णप्रसाद दुलालले यही वैशाख १३ गते नै जाहेरी दर्ता गरेका थिए । 

सोही जोहरीका आधारमा प्रहरीले सोही दिन उनका ससुरा पिताम्बर, सासु गङ्गा, जेठाजु केशव, जेठानी सङ्गीतालाई पक्राउ गरी हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले बताए । उनले घटनाको प्रकृति शङ्कास्पद देखिएकाले शिक्षण अस्पताल काठमाडौँमा मृतकको शवपरीक्षण गरिएको र रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

प्रहरीले उनका श्रीमान् सुदीपलाई यही वैशाख १४ गते दिउँसो घर नजीकैबाट गिरफ्तार गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

स्थानीयवासीका अनुसार चार वर्षअघि सरितासँग विवाह गरेका सुदीप दुई वर्षदेखि मानसिक रोगी थिए भने बाबुआमासँगै एउटै घरमा सुदीप र सरिता बसेको भए पनि खाना अलग्गै खाँदै आएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै