• २०८१ बैशाख ८ शनिबार

मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने

kharibot

काठमाडौँ  /  काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने बताएका छन  । महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले आज यहाँ आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि छलफल’मा उनले काठमाडौँको ट्राफिक सुधारका लागि सडक वरपर मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाउन लागेको बताएका हुन्  ।

“यातायात क्षेत्रको सुधारका लागि अस्तव्यस्त ढङ्गले सञ्चालन गर्न लागेको बस काउन्टर हटाउन लागेका छौँ”, उनले भने । प्रमुख जिल्ला अधिकारी आचार्यले उपत्यकाको शान्ति सुरक्षालाई मजबुद बनाउनका लागि रु पाँच करोडको लगानीमा सिसी क्यामरा जडान गर्न लागेको जानकारी दिए  ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन महाशाखाले तीन महीने कार्ययोजना बनाएर अगाडि बढेको बताए  । उनले काठमाडौँमा बढ्दै गएको ट्राफिक जामलाई न्यूनीकरण गर्न टुँडिखेल वरपरका क्षेत्र र कोटेश्वरमा ‘पिक एण्ड ड्रप’को व्यवस्था गरिएको बताउँदै आइतबारदेखि उक्त व्यवस्था कलङ्की क्षेत्रमा पनि लागू गरिने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले मुलुकको समग्र यातायात क्षेत्रको सुधारका लागि बस काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनुपर्ने बताए । “यात्रुले अनिवार्यरुपमा टिकट काटेर यात्रा गर्नुपर्छ”, उनले भने ।

यातायात क्षेत्रको सुधारका लागि सरकारले चालेको कदमलाई महासङ्घले स्वागत गरेको उनको भनाइ छ । महाशाखाले कलङ्की क्षेत्रलाई व्यवस्थित गर्नका लागि उपत्यकाभित्र चल्ने सवारी साधनलाई एक ठाउँ उपत्यका बाहिर चल्ने सवारी साधनलाई अर्को ठाउँ र मोटरसाइकललाई अर्को ठाउँमा ‘पिक एण्ड ड्रप’को व्यवस्था मिलाइएको प्रभागका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै