• २०८१ बैशाख १३ बिहीबार

सिडियो कार्यालयको पत्रपछि रेडक्रस सोसाइटीको साधारण सभा स्थगित

kharibot

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले धरानमा हुन लागेको नेपाल रेडक्रस सोसाइटीको साधारण सभा रोकिदिएको छ ।

रेडक्रस सोसाइटीले साधारण सभा स्थगित गर्न अन्तिम समयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्देशनात्मक पत्र पठाएको जानकारी दिएको छ ।

पधाधिकारीहरुका विषयमा उजुरी परेको भन्दै प्रशासन कार्यलयले साधारण सभा रोक्न निर्देशन दिएको बताइएको छ ।

रेडक्रसले एक विज्ञप्ति जारी गर्दै वैशाख २३ देखि २५ गतेसम्म सुनसरीको धरानमा साधारण सभाको अन्तिम तयारी भैसकेको र देशभरबाट प्रतिनिधि पर्यक्षक धरान पुगिसकेको अवस्थामा साधारण सभा स्थगित गर्ने निर्देशन दिएकोमा रेडक्रसकर्मी मर्माहित भएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, 'नेपाल सरकारबाट प्रमाणिकरण भई प्रचलनमा आएको नेपाल रेडक्रस सोसाइटीको विधानअनुसार विधिसम्मत रूपले २०७६ वैशाख २३ देखि २५ गतेसम्म सुनसरीमा आव्हान गरिएको महाधिवेशनको लागि देशभरका रेडक्रसकर्मीहरू धरानमा आइसक्नुभएको, महाधिवेशनका प्रतिनिधिहरूको दर्ता लगायत महाधिवेशनको सम्पूर्ण तयारी भइसकेर निर्वाचनको समेत तयारी अन्तिम चरणमा पुगेको अवस्थामा त्यसबारे औपचारिक जानकारी गराउन पत्रकार सम्मेलनसमेत आयोजना भइसकेको अवस्थामा आकस्मिक रूपमा सोही दिनको मितिको पत्र आइपुगी र ती सबै प्रकृया स्थगित गर्नुपर्दा देशभरका रेडक्रसकर्मीहरू मर्माहित भएका छन् । 

संस्थालाई जीवन्त राख्न, नयाँ नेतृत्व चयन गर्न र विगत ५६ वर्षदेखि सञ्चालित रेडक्रसका मानवीय सेवालाई अझ उचाईमा लैजान बल पुर्याउने वैधानिक महाधिवेशन हठात रोकिनु आश्चर्यजनक छ । उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयबाट अध्ययन भइरहेको सन्दर्भले मात्र मानवीय क्षेत्रमा सरकारको सहयोगीको भूमिकामा रहेको, नेपाल सरकारको प्रतिवद्धताबमोजिम अन्तर्राष्ट्रिय रेडक्रस अभियानको अंगको रूपमा रहेको र सम्पूर्ण वैधानिक र कानुनी दायित्व पूरा गरेको संस्थाको महत्वपूर्ण महाधिवेशन र निर्वाचन स्थगित गर्नको लागि निर्देशन जारी भएकाले संस्थाले अन्याय भएको महसुस गरेको छ । 

यसपटक निर्वाचनलाई अझ विश्वसनीय बनाउन केन्द्रीय कार्यसमितिको एकमतले संस्थाका संस्थापकमध्येका एक तथा नेरेसोका पूर्व अध्यक्ष रमेशकुमार शर्मा निर्वाचन अधिकारीको रूपमा चयन भई निर्वाचनसँग सम्बन्धित कार्य पनि सुरू गरिसक्नु भएको अवस्था पनि हामी स्पष्ट पार्न चाहान्छौँ ।

महाधिवेशनको लागि पहिल्यै धरानमा जम्मा भइसक्नुभएका नेरेसो केन्द्रीय कार्यसमितिका ३१ मध्ये ३० जना पदाधिकारी र सदस्यहरूले केकासको बैठकमा गम्भीर छलफल गरी उक्त पत्र संस्थाको हित र प्रचलित कानुन अनुकूल समेत नभएकोले कानूनी उपचारको लागि सम्मानित अदालतमा जाने निर्णय गरिएको छ । वार्षिक २५ लाख मानिसलाई सेवा पुर्याइरहेको र समुदायमा भिजेर मानवीय सेवामा अहोरात्र सेवा दिइरहेको र विश्वमा एउटा सफल उदारणीय काम गरीआएको प्रतिवद्ध समाजसेवी संस्थाको रुपमा रहेको रेडक्रस उक्त पत्रले मर्माहत भई कार्यसमितिले यी निर्णयहरू एकमतले गर्न बाध्य भएको जानकारी गराउँदछौँ ।

यस परिस्थितिमा सम्पूर्ण रेडक्रसप्रेमी नेपाली दाजुभाई, दिदीबहिनीहरू तथा राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकारवाला सम्पूर्ण संघसंस्था र नागरिक समाजलाई यथार्थ अवस्थाको मनन गर्न र मानवीय सेवाको लागि बनेको यस संस्थाको सफल जीवनको लागि नेपाल रेडक्रसले अपनाउने समन्वय र पहलमा आवश्यक सहयोग र सदभावको अपेक्षा गर्दछौँ ।' 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै