• २०८१ बैशाख ७ शुक्रबार

गूगल क्रोममा लुकेका केही अत्यन्त उपयोगी फिचर 

kharibot

काठमाडौँ । इन्टरनेटमा केही सर्च गर्न धेरै प्रकारका ब्राउजरहरु अहिले प्रयोगमा छन् । हाल विश्वभर धेरै प्रयोग हुने ब्राउजरहरुमध्ये गूगल क्रोम निकै अघि छ । यसमा टाइप गरेर केही सर्च गर्ने बाहेक धेरै प्रकारका उपयोगी फिचरहरु पनि छन् जुन कतिपयलाई थाहै नहुन सक्छ । यसमा भएका केही फिचरको प्रयोग गरी समय बचाउनुका साथै निकै सहज ढंगले आफ्नो कार्य सम्पादन गर्न पनि सकिन्छ । 

यदि कुनै ट्याब गल्तीले बन्द भएमा 

गूगल क्रोममा काम गर्ने समयमा हामी एकैपटक धेरैओटा ट्याब खोल्ने गर्दछौं । कहिलेकाहिँ खोलिएका उपयोगी ट्याब गल्तीले बन्द हुन पनि सक्छ । यस्तोमा चिन्तित हुनु कुनै जरुरी छैन । Ctrl+Shift+T क्लिक गरेमा बन्द भएको ट्याब पुनः सोही अवस्थामा खुल्छ । 

तत्काल ट्याब चेन्ज गर्न 

यदि एक ट्याबबाट अर्कोमा जानु छ भने Ctrl Key का साथै १ देखि ९ सम्मका कुनै पनि नम्बर क्लिक गरी क्रमानुसार उक्त ट्याबमा जान सकिन्छ । जस्तै, पहिलो ट्याबमा जान Ctrl+1 र दोस्रो ट्याबमा जान Ctrl+2 क्लिक गर्नुपर्छ । यसरी नवौं ट्याबसम्म जान सकिन्छ । 

शब्दबारे जानकारीका लागि  

कुनै पनि टेक्स्ट पढ्दा कुनै शब्दको अर्थ थाहा नहुन सक्छ अथवा त्यसको बारेमा जानकारी लिनुपर्ने हुन सक्छ । यसको लागि गूगल क्रोममा एक सजिलो उपाय छ । टेक्स्टमा भएको कुनै पनि शब्दबारे सर्च गर्नुपर्यो भने उक्त शब्दलाई सेलेक्ट गरेर राइट क्लिक गर्नुपर्छ, त्यसपछि त्यहाँ गूगल सर्चको अप्सन देखिनेछ । गूगल सर्चमा क्लिक गरेपछि गूगल क्रोमले आफै सेलेक्ट गरिएको शब्दबारे खोजी गर्नेछ । 

एन्ड्रोइड फोनमा सर्च गर्न अझै सहज

यदि एन्ड्रोइड फोनमा क्रोम चलाउँदै हुनुहुन्छ र कुनै शब्द सर्च गर्न चाहनुहुन्छ भने उक्त शब्दमा केही बेर प्रेस गरेपछि त्यो शब्दमा सेलेक्ट, कपीका साथै सर्च अप्सन पनि देखिन्छ । 

सिस्टम खोल्ने बित्तिकै चाहेअनुसार साइट खोल्न 

यदि आफ्नो सिस्टम अन गर्नेबित्तिकै केही खास साइट खुलोस् भन्ने चाहने हो भने त्यसको पनि सुविधा गूगल क्रोममा छ । क्रोमको सेटिङ्समा गएर on startup मा क्लिक गरेपछि त्यहाँ Open a specific page or set of pages अप्सन देखिनेछ । उक्त अप्सनमा क्लिक गरी आफूले सिस्टम खोल्ने बित्तिकै खुलोस् भनी चाहेको साइट एड गर्न सकिन्छ । क्रोम खोल्नासाथ यी साइट आफै खुल्छन् । 

ओम्निबक्सको प्रयोग 

क्रोमको ओम्निबक्स (नयाँ ट्याब खोलेपछि एड्रेस बारजस्तै देखिने सर्च बक्स) केवल सर्च गर्नमात्र नभएर गणितीय हिसाब गर्न पनि उपयोग गर्न सकिन्छ । नयाँ ट्याब खोलेर ओम्निबक्समा कुनै पनि गणितीय समस्या लेख्ने हो भने त्यसले स्वतः त्यसको उत्तर दिनेछ । जस्तै, ओम्निबक्समा 123*4 टाइप गर्ने हो भने उत्तरमा 492 देखा पर्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै