• २०८१ बैशाख १२ बुधबार

पुनःनिर्माणका लागि एक लाख घनफिट काठ आपूर्ति

kharibot

काठमाडौँ । ‘दि टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड’ले भूकम्पबाट क्षति भएका निजी घर र सम्पदाको पुनःनिर्माणका लागि हालसम्म एक लाख चार हजार ११२ घनफिट परिमाणको चिरान काठ आपूर्ति गरिसकेको जनाएको छ ।

अझै निजी घर निर्माणका लागि एक लाख ६८ हजार घनफिटभन्दा बढी र सम्पदा पुनःनिर्माणका लागि ५० हजार घनफिट चिरान काठ माग आएपनि टिम्बरले काठको सीमितताका कारण समयमै आपूर्ति गर्न सकेको छैन । सम्पदा पुनःनिर्माणका लागि माग भएको परिमाणमध्ये काठमाडौँका काष्ठमण्डप र त्रिपेश्वर महादेवको मन्दिरको मात्रै आधा हिस्सा छ । आलोपालो काठ आपूर्ति गर्दा पुनःनिर्माणमा अवरोध नआएको र समस्या नदेखिएको टिम्बरले जनाएको छ । 

भूकम्पपीडितका घर निर्माणका लागि हालसम्म ८८ हजार ५३४ घनफिट र सम्पदा पुनःनिर्माणमा १५ हजार ५७८ घनफिट चिरान काठ आपूर्ति गरिएको टिम्बरका महाप्रबन्धक राजु लौडारीले जानकारी दिए । टिम्बरले भूकम्पपीडितका निजी घर निर्माणका लागि आर्थिक वर्ष २०७३÷७४ मा चार हजार चार घनफिट, आव २०७४÷७५ मा ५८ हजार ३९१ घनफिट र आव २०७५÷७६ मा २६ हजार १३९ घनफिट चिरान काठ उपलब्ध गराएको छ ।

पन्ध्र हजार घनफिट काठ आपूर्ति

सम्पदा पुनःनिर्माणमा टिम्बरले काठमाडौँको श्री शक्ति उपासना पिठ भुवनेश्वरी मन्दिरलाई ३००, काठमाडौंको पाटी निर्माण यालग टोल विकास संस्थालाई ८१, पोखराको आत्मज्ञान प्रचार सङ्घलाई ४००, काठमाडौँको बटु भद्रकाली मन्दिरलाई ४१७, काठमाडौँको श्री आर्याबलोकितेश्वरी सुधार समिति सेतो मच्छिन्द्रनाथ मन्दिरलाई १४४२ र नेपाल सेना घोडा तबेलालाई ५१०९ घनफिट चिरान काठ आपूर्ति गरिसकेको छ ।

त्यस्तै काठमाडौँको पशुपति क्षेत्र विकास कोष नरसिंह मन्दिर पुनःनिर्माणमा २१३, ललितपुरको हरिसिद्धी सत्फल्चा जीर्णोद्वारमा १२५, नुवाकोटको  भैरवी मन्दिरमा १३७९, काडमाडौँको काष्ठमाण्डप पुनःनिमार्णमा २२२०, काठमाडौँ त्रिपुरेश्वर महादेव मन्दिरलाई ६१५, भक्तपुरको तलेजु भवानी मन्दिरलाई ५९१ र ललितपुरको रातो मच्छिन्द्रनाथ पुनःनिर्माणमा ५९९ घनफिट चिरान काठ उपलब्ध गराइसकेको महाप्रबन्धक लौडारीले जानकारी दिए ।  

काठमाडौँको सनी सङ्कटा मन्दिरले ५०, भक्तपुरको कालडोल भासिमा मन्दिरले ७४, रामेछापको पाँच पोखरी बिटिजेभिले २०३, भिमसेन मन्दिरले २५, उत्तरगया क्षेत्रविकास (राम मन्दिर) ले १४, काठमाडौँको खगेन्द्र नवजीवन विषेश शिक्षा माविले ९६, पञ्चेश्वरी मन्दिरले ८, करुणमय  पिठ मन्दिरले २९७, गोरखाको मनकामना मन्दिरले ५०२, अशोक विनायक मरु गणेशले ५१६ र डोटीको केदारेश्वर मन्दिरले ३०४ घनफिट चिरान काठ पुनःनिर्माणका लागि लगेको तथ्याङ्कमा उल्लेख छ ।

समयमै माग नआउँदा समस्या

 सरकारले भूकम्पपीडितका लागि काठ उत्पादन तथा आपूर्ति र व्यवस्थापन निर्देशिका, २०७२ बमोजिम सहुलियत दरमा काठ उपलब्ध गराउँदै आएको छ । सो निर्देशिकाअनुसार टिम्बरले भूकम्पपीडितलाई प्रतिपरिवार ५० घनफिट परिमाणको चिरान काठ प्रति घनफिट रु २७६० का दरले बिक्रीवितरण गर्दै आएको छ । बजारमा चिरान काठ प्रति घनफिट रु पाँच हजार ५०० भन्दा बढीमा बिक्री भइरहेको छ ।

त्यस्तै सम्पदा पुनःनिर्माणका लागि औसतमा प्रति घनफिट चिरान काठ रु तीन हजार ४६५ का दरले बिक्रीवितरण गरेपनि साइजअनुसार फरक÷फरक मूल्य हुने गरेको टिम्बरले जनाएको छ । काठको सीमितताका कारण टिम्बरले मागअनुसारको काठ बिक्रीवितरण गर्न नसकेको जनाएको छ ।

महाप्रबन्धक लौडारीले सम्पदा पुनःनिर्माणका हकमा नियमित भन्दा ठूला र विशेष आकारका काठ चाहिने भएकाले कुन साइजको कति परिमाण चाहिने हो समयमै माग आउनुपर्ने बताए । समयमा काठको आकारका बारेमा माग नआउँदा त्यस्ता काठ आपूर्ति गर्न अफ्ठ्यारो हुने गरेको उनले बताए । काठ कटानको समय मङ्सिरदेखि जेठसम्म हुने भएकाले सो अवधिमा माग भएका साइजअनुसारको काठ कटान गर्न सहज हुने उहाँको भनाइ छ । मुलुकमा सङ्घीयता कार्यान्वयन भइसकेपछि सङ्घ र प्रदेशबीच अधिकार बाँडफाँडका बारेमा भएको अन्योलताका कारण काठ आपूर्तिमा पहिला जस्तो सहज अवस्था नभएको टिम्बरको गुनासो छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै