काठमाडौं । विश्वभर चर्चित सामाजिक सञ्जाल फेसबुकले विभिन्न किसिमका अपडेट ल्याउने घोषणा गरेको छ । विशेषतः फेसबुकले वास्तविक कन्टेन्ट र लोयल भ्युअरसिपमा केन्द्रित भिडियो र्याङ्किङ सिस्टम ल्याउने भएको हो ।
फेसबुकका प्रोडक्ट म्यानेजमेन्ट निर्देशक डेभिड मिलरका अनुसार अब केही महिनाभित्र नै भिडियो र्याङ्किङ सिस्टिम अपडेट गरिनेछ । र्याङ्किङका लागि त्यस्ता भिडियोलाई प्रधानता दिइनेछ जसलाई मानिसहरु बढी खोज्नेछन् ।
फेसबुकले भिडियो र्याङ्किङका लागि इमानदारी र उद्देश्य, भिडियो र त्यसको समय तथा वास्तविकतामा बढी ध्यान दिइने बताएको छ ।
र्याङ्किङका लागि दर्शकले कम्तीमा ३ मिनेट भिडियो हेर्नुपर्नेछ । पहिला भिडियोमा दर्शकको ध्यान केवल १ मिनेट रहने गरेकोमा यस सिस्टिमका कारण दर्शकहरु भिडियोमा बढी संलग्न हुने बताइएको छ । यसबाट दर्शकको संलग्नता र उनीहरुले भिडियोलाई दिएको समयअनुसार भिडियोलाई प्रोत्साहित तथा पुरस्कृत गर्ने समेत फेसबुकको योजना रहेको उल्लेख गरिएको छ ।
फेसबुकको र्याङ्किङ सिस्टममा वरीयता पाउन भिडियो निर्माताले जस्तो भूमिका निर्वाह गर्छन्, त्यसलाई सहयोग गर्न नै यो अपडेट ल्याइएको फेसबुकको भनाइ छ ।