• २०८१ बैशाख ४ मंगलबार

विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस मनाइयो  

kharibot

काठमाडौं । आज विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस । रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको १९१ औं जन्म दिवस । यसै अवसरमा विश्व स्तरमा मनाइदै आएको विश्व रेडक्रस दिवस, मई ८ नेपालमा पनि मानविय सन्देश फैलाउन र प्रेममय भावना विकास गर्न “माया” भन्ने नाराका साथ देशभरि विविध गतिविधिको आयोजना गरी मनाईंदैछ । 

विश्वका जुनसुकै ठाउँमा रहेर रेडक्रसका १ करोड १७ लाख स्वयंसेवकहरुले पु¥याइ आएको विविध मानवीय सेवालाई स्मरण गर्ने र उनीहरुको साहस बढाउने अवसरको रूपमा लिइएको यस दिवसमा नेपाल रेडक्रस सोसाइटी पनि ऐक्यवद्धता जनाउँदछ ।

यस अवसरमा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरिएको छ । जिल्ला जिल्लामा कार्यक्रमहरु आयोजना भइरहेका छन् । नेपाल रेडक्रसका अध्यक्ष सञ्जीव थापा, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल अफिस प्रमुख जुजा किम र रेडक्रसको अन्तर्राष्ट्रिय समितिका समन्वय प्रमुख प्रमेश पौडेलले संयुक्त रुपमा रेडक्रस झण्डाको आज विहान झण्डोत्तोलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए । 

“नेपालका दुर दराजका दुर्गम गाउँदेखि आधुनिक समुदायसम्म नेपाल रेडक्रसका स्वयं सेवकहरुले सेवा दिँदै आएका छन्” नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले भने, “हामी स्थानीय आवश्यकताका आधारमा सेवा दिन्छौं र स्थानीय परिवेशका आधारमा दिइने सेवाका कारण पनि रेडक्रस विश्वमा परिचित छ । अहिले नेपाल रेडक्रसमाथि परेको समस्यामा नेपाल रेडक्रसका स्वयंसेवकहरु एक भई माया वाँडेर, सद्भाव बढाएर समाधान गर्नेछौँ र आजको दिनले हामीलाई यही सन्देश दिन्छ ।”

“आफ्नो समय र विशेषज्ञताका साथ देशभरि सेवा पु¥याउने हाम्रा स्वयंसेकहरुलाई एकै स्वरमा धन्यवाद दिन र माया वढाउन आज अन्तर्राष्ट्रिय रेडक्रस अभियानका निकायहरु एकै ठाउँमा छौं” नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भने । 

नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी विपद्का बेला तत्कालीन उद्धार र राहत, रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचारलगायत अत्यावश्यकीय सेवाका साथै जीवन रक्षा, स्वास्थ्य प्रवर्धन, संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरणजस्ता क्षेत्रमा सञ्चालित सेवा र विकासमूलक गतिविधिहरू मार्फत हरेक वर्ष करिव २५ लाख मानिस समक्ष पुगिरहेको जानकारी दिए । पौडेलले भने, विकास तथा सेवामूलक गतिविधिहरुले जनतालाई विपद् पूर्वतयारी, विपत्तिको सामना र पुनर्लाभ प्राप्त गर्न सहयोग पुगेको छ । 

कार्यक्रममा रेडक्रसका सात आधारभूत सिद्धान्तहरुको पाठ  आइसीआरसीका समन्वय प्रमुख प्रमेश पौडेलले गराएका थिए । साझेदार राष्ट्रिय सोसाइटीका तर्फबाट जापान रेडक्रस सोसाइटीका प्रतिनिधि काजियो इग्राशीले सुभेच्छा प्रकट गर्नुभयो । रेडक्रसका अन्तर्राष्ट्रिय महासंघ नेपाल प्रमुख जुजा किमले नेपालमा रेडक्रसको काम राम्रोसँग अघि वढाउन सधैँ सहयोग गर्ने बताउनुभयो । यस पटक रेडक्रसका अन्तर्राष्ट्रिय महासंघको स्थापनाको १०० वर्ष पनि मनाइरहेको उहाँले जानकारी गराउनुभयो । 

रेडक्रस अभियानले हरेक वर्ष विश्वभरि सशस्त्र संघर्ष, प्राकृतिक प्रकोप र अन्य आकस्मिक परिस्थितिमा दशौं लाख प्रभावित जनतालाई सेवा पुर्याइरहेको छ ।

१९० देशका राष्ट्रिय सोसाइटीमा आवद्ध विविध प्रकारका स्वयंसेवकहरु, रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले जीवन रक्षार्थ प्रदान गर्ने सेवा पनि विविध छन् । स्थानीय स्तरका गतिविधिहरु सञ्चालनका लागि आईसीआरसी र आईएफआरसीका साथै विश्वभरिरहेका साझेदार भगिनी राष्ट्रिय सोसाइटीहरु र स्थानीय साझेदारहरुको सहयोग रहन्छ । 

विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस– ८ मई को सन्देश दिने फोटो तथा प्रभावका कथाहरु देशभरका स्वयंसेवक तथा कर्मचारीहरुले सामाजिक सञ्जालमार्फत्  #Love राखी पोष्ट गर्ने अभियान पनि आजै सुरु गरिएको छ । फोटो र कथा मार्फत् पनि मानवीय सन्देश फैलाउन र प्रेममय भावना विकास गर्न सवै रेडक्रसकर्मी र रेडक्रसकर्मीहरुलाई आव्हान गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै